अश्लिल भिडियोमा प्रविधिको प्रयोग, बलिउड महिला कलाकार एकपछि अर्को शिकार

अश्लिल भिडियोमा प्रविधिको प्रयोग, बलिउड महिला कलाकार एकपछि अर्को शिकार
सुन्नुहोस्

पछिल्लो समय ‘डिपफेक भिडियो’ ले धेरैलाई हैरानीमा पारेको सुनिन्छ । खासगरी ओपन एआई र च्याट जीपिटी प्रविधिको विकाससँगै संसारभर डीपफेक भिडियोको शिकार हुनेहरुको संख्या बढिरहेको छ ।

बलिउडका चर्चित अभिनेत्रीहरु कट्रिना कैफ, काजोल र आलिया भट्टसमेत यसको शिकार भइसकेका छन् । यसैबीच अर्की बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीलाई पनि डीपफेक भिडियोले तनाव दिएको छ । उनले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् । 

इन्स्टाग्राममा भिडियो शेयर गर्दे नोराले लेखेकी छन्, ‘म अचम्भित भएको छु । यो भिडियोमा प्रस्तुत भएको म होइन । मेरो अनुहार मात्र प्रयोग गरिएको हो, कृपया सबै सजग रहनुहोला ।’ 

शेयर गरिएको भिडियोमा एउटा ब्राण्डको प्रमोट गराउन नोराको अनुहार प्रयोग गरिएको छ । यहाँसम्म कि भिडियोमा उनकै आवाजलाई कृत्रिम तरिकाले प्रस्तुत गरिएको छ । नोराले यसबारे प्रहरीलाई जानकारी गराइसकेकी छन् । 

रश्मिकाको डिपफेक बनाउने पक्राउ 

अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो बनाउने एक व्यक्ति पक्राउ परेका छन् । दिल्ली पुलिसको क्राइम युटिनले २४ वर्षीय इमान नवीनलाई समातेको जनाएको छ । 

इञ्जिनियरसमेत रहेका उनले गत अक्टोबर ९ मा पहिलोपटक इन्स्टाग्राममा फेक अकाउन्ट बनाएर डिपफेक भिडियो अपलोड गरेका थिए । भिडियोमा एक भारतीय मूलकी ब्रिटिश महिलालाई देखाइएको थियो । तर, दुई दिनपछि अर्थात् अक्टोबर ११ मा उनले भिडियो इडिट गरेर पुनः सेयर गरे । 

ती व्यक्तिले यति सुक्ष्म तरिकाले सम्पादन गरेका थिए कि, विश्वभर रश्मिकाको उक्त दुरुपयोग भिडियो एकै छिनमा भाइरल हुन पुग्यो । भिडियोमा लिफ्टबाट बाहिरिँदै गरेकी एक महिलाको शरीरमा रश्मिकाको अनुहार राखिएको थियो, जुन भाइरल बनेपछि उनी नै तनावमा परेकी थिइन् । 

यहाँसम्म कि भिडियोकै कारण डिप्रेसनमा गएकी उनले प्रहरीसमेत गुहार्नुपर्यो । नोभेम्बर १० मा रश्मिकाको जाहेरी दर्तापछि अनुसन्धान थालेको प्रहरी अन्ततः डिपफेक भिडियो बनाउने नवीनलाई पक्राउ गर्न सफल भयो । त्यसको खुशीमा रश्मिकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ’दिल्ली पुलिसलाई धेरै धन्यवाद । र, धन्यवाद उहाँहरुलाई पनि, जसले मलाई डिप्रेसनबाट मुक्त हुन सहयोग गर्नुभयो । अन्त्यमा यो भन्न चाहन्छु कि, कसैको जीवननै बर्बाद हुनेगरी प्रविधिको दुरुपयोग नगरौँ र नगराऔँ ।’ 

अभिनेत्री काजोल र आलिया भट्टले पनि प्रहरीलाई खबर गरिसकेका छन् । प्रहरीले फेकबुक सञ्चालक कम्पनी मेटासँग समन्वय गरेर अनुसन्धान गरिरहेको छ । 

के हो डीपफेक भिडियो ? 

पछिल्लो समय संसारभर गलत प्रवृत्तिको रुपमा फैलिरहेको डिपफेक भिडियो वास्तवमा नक्कली भिडियो हो । जुन अधिकांश अश्लिल फोटो वा भिडियोमा प्रयोग हुन्छ । यसमा मानिसको अनुहार, आवाज र हाउभाउ पूर्णरुपले परिवर्तन गरिन्छ । एआईको प्रयोग गरेर यतिसम्म सम्पादन गरिन्छ कि सामान्य मानिसले सक्कली र नक्कली छुट्याउनै सक्दैन । 

खासगरी विकसित मुलुकहरुमा उत्पादन हुने एडल्ट फिल्महरुमा यो प्रविधिको प्रयोग गरिन्छ । तर, पछिल्लो समय ओपन एआईको तीव्र विकाससँगै अहिले यो प्रविधिको जो–कोहीले पनि प्रयोग गर्दै आएका छन् । यसले हाम्रो जस्तो समाजमा साइबर अपराधलाई ह्वात्तै बढाइदिएको छ ।

टिप्पणीहरू