बलिउड कलाकारहरुको लगानी होडबाजी रियल स्टेटमा

बलिउड कलाकारहरुको लगानी होडबाजी रियल स्टेटमा

बलिउड कलाकार जस्तो ‘ल्याविश लाइफ’ बाँचिरहेका हुन्छन्, उत्तिकै मेहनत पनि गर्छन् । चलचित्रमा अभिनय गरेर आम्दानी गरेको रकम उनीहरु साइड–बिजनेसमा लगानी गर्छन् ।

पछिल्लो समय बलिउड कलाकारहरुमा विभिन्न व्यवसायमा लगानी गर्ने होडबाजी नै चलिरहेको छ । कतिपयले मिडिया कम्पनी र उत्पादन कम्पनीमा लगानी गरेका छन् भने केहीले क्रिकेट टिममा । यसबीच कलाकारहरु लगानी गर्न हौसिएको क्षेत्रमध्ये अर्को एक हो, रियल स्टेट । 

बलिउड हंगामाले तयार पारेको तथ्याङ् अनुसार यस क्षेत्रमा कसले कति लगानी गरेका छन्, त्यसबारे चर्चा गरौँ ।  

जोन अब्राहम

सन् २००३ मा इरोटिक थ्रिलर फिल्म ’जिस्म’ बाट डेब्यु गरेका अब्राहमले रियल स्टेटमा ७० करोड भारतीय रुपैयाँ लगानी गरेका छन् । ५१ वर्ष पुगेका उनी अझै पनि बलिउडमा सक्रिय छन् । 

सन् २००४ मा रिलिज भएको एक्सन ड्रामा फिल्म ‘धुम’ ले उनलाई स्थापित हुन ठूलो सहयोग गरेको थियो । उनले रियल स्टेटबाहेक अटो मोबाइल्स कम्पनीमा पनि लगानी गरेका छन् ।

अजय देवगन

सन् १९९१ मा रोमान्टिक ड्रामा फिल्म ‘फूल और काँटे’ बाट बलिउडमा डेब्यु गरेका देवगनले करिब १५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । राम्रो कमाउने कलाकारका रुपमा चिनिएका उनको रियल स्टेटमा ४५ करोड रुपैयाँ लगानी छ । 

पद्मश्री सम्मानबाट सम्मानित भइसकेका देवगनले सन् १९९९ फेब्रुुअरी अभिनेत्री काजोलसँग बिहे गरेका थिए । उनको पछिल्लो चलचित्र ’भोला’ सन् २०२३ मा रिलिज भएको थियो ।

काजोल

बलिउड अभिनेत्री काजोललाई नचिन्ने सायदै होलान् । ४९ वर्षीया काजोलले सन् १९९२ मा ‘बेखुदी’ बाट डेब्यु गरेकी थिइन् । त्यसयता अहिलेसम्म उनले दर्जनौँ सुपरहिट फिल्म दिइसकेकी छन् । 
काजोलको पछिल्लो फिल्म ’लस्ट स्टोरीज २’ अघिल्लो वर्ष रिलिज भएको थियो । उनले पनि रियल स्टेटमा २४.१४ करोड लगानी गरेकी छन् । 

आलिया भट्ट

‘क्युट’ अभिनेत्रीको परिचय बनाएकी आलियाले सन् २०१२ मा ’स्टुडेन्ट अफ दी इयर’बाट डेब्यु गरेकी हुन् । उनी पुराना निर्माता तथा वरिष्ठ कलाकार महेश भट्टकी छोरी हुन् । तर, उनले आफ्नै बलबुतामा नयाँ उचाइ चुमेकी छन् । 

आलियाको पछिल्लो फिल्म ’ब्रह्मास्त्र’ ले चार सय करोड कमाइ गरेको थियो । त्यस्तै, बायोपिक फिल्म ’गंगुवाई कथियावाडी’मा उनले निभाएको भूमिकालाई दर्शकले निकै रुचाएका थिए । उनै आलियाले रियल स्टेटमा ३७.८० करोड लगानी गरेकी छन् ।

रितिक रोशन

५० वर्षीय रितिकलाई अधिकांश दर्शकहरु ’क्रिश म्यान’ नामले चिन्छन् । सन् २००६ मा रिलिज भएको सुपरहिरो फिल्म ’क्रिस’ यति हिट भयो कि उनको निकनेम नै ’क्रिश म्यान’ बन्न पुग्यो ।

उक्त चलचित्रबाट रितिकको करिअरले त फड्को मार्यो नै, स्क्रीन सेयर गरेकी अभिनेत्री प्रियंका चोपडाले समेत पछाडि फर्केर हेर्नुपरेन । रितिकको नयाँ चलचित्र ‘फाइटर’ रिलिजको तयारीमा छ । उनको पनि रियल स्टेटमा ३३ करोड लगानी छ ।

कार्तिक आर्यान

चक्लेटी ब्वायको छबि बनाएका अभिनेता कार्तिक पनि युवापुस्ता माझ लोकप्रिय मानिन्छन् । ३३ वर्षीय उनलाई लभ एण्ड रोमान्स जनरामा बनेका ‘लुकाछिप्पी’, ‘पति पत्नी और वो’, ‘लभ आजकल’ लगायतका फिल्मले राम्रै चर्चा दिलायो । बलिउडका उदाउँदो अभिनेता कार्तिकको पनि रियल स्टेटमा २७ करोड लगानी रहेको बताइएको छ ।

प्रीती जिन्टा

सन् २००१ मा ’चोरी चोरी चुप्के चुप्के’ बाट बलिउडमा डेब्यु गरेकी प्रीती अहिले ४८ वर्ष पुगिन् । हिमाञ्चलको सिम्लामा जन्मिएकी उनलाई ’कल हो ना हो’, ’कोइ मिल् गया’, ’कवि अल्भिदा ना केहेना’ फिल्मले यति हिट बनायो कि उनलाई राष्ट्रिय क्रस नै भन्न थालिएको थियो । 

अहिले फिल्मबाट टाढा रहेर विभिन्न व्यवसायमा व्यस्त रहेकी उनले रियल स्टेटमा १८ करोड लगानी गरेकी छन् ।

समान्था रुथ प्रभु

समान्थाले सन् २०१० मा एक तेलुगू फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले हिन्दी र तामिलसहित पाँच दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । 

३६ वर्षीया समान्थाको पछिल्लो फिल्म ’खुशी’ गत वर्ष रिलिज भएको थियो । उनको पनि रियल स्टेटमा १५ करोड बढी लगानी रहेको बताइन्छ ।

सोनाक्षी सिन्हा

सोनाक्षीले सन् २०१० मा रिलिज भएको फिल्म ’दबंग’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यो फिल्म यति हिट भयो कि उनले त्यस वर्षको ’फिल्मफेयर अर्वाड’ समेत हात पारिन् । ३६ वर्षीया सोनाक्षीलाई कतिपय दर्शकले यो यो हनिसिंहको ’देशी कलाकार’बाट पनि चिन्दै आएका छन् । 

पछिल्लो समय उनी थ्रिलर फिल्म ’दहाड’मा काम गरिरहेकी छन् । उनै सोनाक्षीले रियल स्टेटमा १३ करोड लगानी गरेकी छन् ।

सारा अलि खान

२८ वर्षीया सारा युवा पुस्ता माझ निकै चर्चित कलाकार हुन् । उनी चर्चित अभिनेता सैफ अलि खानकी छोरी हुन् । सन् २०१८ मा रिलिज भएको फिल्म ’केदारनाथ’ले उनको क्रेज ह्वात्तै बढाएको थियो । 

सारालाई धेरै सम्भावना बोककी अभिनेत्रीको रुपमा हेरिन्छ । उनले पनि रियल स्टेटमा नौ करोड लगानी गरेकी छन् ।

टिप्पणीहरू