सेन्जेन राष्ट्रमा नेपाली मानव तस्करको व्यापक सक्रियता

सेन्जेन राष्ट्रमा नेपाली मानव तस्करको व्यापक सक्रियता
सुन्नुहोस्

वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी बढ्दै गएको छ । मानव तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपाल बद्नाम बनिरहँदा विभिन्न मुलुक पुगिसकेका नेपालीसमेत यस्ता अवैध कार्यमा संलग्न रहेको पाइएको छ । 

अमेरिका,क्यानाडा, अष्ट्रेलियासहित युरोपेली मुलुक अहिले नेपालीका निम्ति आकर्षणको केन्द्र बनेको छ । मानव तस्करहरुले मोटो रकम लिएर गैरकानुनी माध्यमबाट नेपालीलाई अमेरिका पठाइरहेका छन् । त्यहाँ रहेका नेपालीहरुले समेत मानव तस्करीमा सहयोग पुर्याइरहेको स्पेनको यौटा घटनाबाट पुष्टि भएको छ । 

गैरकानुनी बाटोबाट नेपालीलाई स्पेनमा तस्करी गरेको विषयले अहिले युरोपेली मुलुकहरुमा निकै चर्चा पाएको छ । स्पेनिस प्रहरीले केही मानव तस्करलाई पक्राउ गरेपछि विदेशमा रहेका नेपाली समुदाय तरंगित भएका छन् । 

अवैध रुपमा नेपालीलाई स्पेन छिराउने ९ जनालाई प्रहरी र युरोपोलको संयुक्त टोलीले डिसेम्बर २७ मा नियन्त्रणमा लिएको छ । उनीहरुले ८३ जनाको तस्करी गरेको पुष्टि भइसकेको छ ।

"शर्मिला तिनै हुन्,जसले पति विमलको रोजाइको कदर गर्दै नयाँ घरभाडाबापत डेढ करोड अग्रिम पेश्की दिएकी थिइन् ।" 

पक्राउ परेका केही नेपाली र नेपाली मूलका स्पेनिस नागरिकको राहदानी  र कागजपत्र प्रहरीले जफत गरेको छ । त्यस्तै, त्यहाँको अदालतले उनीहरुलाई देश छोड्न रोक लगाएको छ । उनीहरुले अन्तर्राष्ट्रिय अपराध गरेको स्पेनका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

भारतबाट सेन्जेन राष्ट्र (युरोपमा रहेका २६ वटा मुलुक) आउन आवश्यक पर्ने सेन्जेन भिसा दिलाउन पैसा लिएर नक्कली कागजात तयार पारेको आरोप उनीहरुमाथि छ । प्रहरीले मानव तस्करलाई पक्राउ गर्न स्पेनको राजधानी म्याड्रिड र लस पाल्मासमा ‘एभरेष्ट अपरेशन’ चलाएको थियो ।

प्रहरीलाई उधृत गरी लेखिएको समाचारमा भनिएको छ,‘मानव तस्करहरुले नेपालीहरुलाई भारतबाट सेन्जेन देशमा यात्रा गर्न मद्दत गरेबापत १५ हजार युरोको पूर्व भुक्तानी गर्न लगाएर जालसाजी माध्यमबाट भीसा उपलब्ध गराएको थियो, जसमा धेरैको अन्तिम गन्तव्य स्पेन थियो ।’

मानव तस्करी भएकामध्ये अधिकांशको अन्तिम गन्तव्य स्पेन रहेको र उक्त सञ्जालले तीन सय बढीको तस्करी गरिसकेको जनाइएको छ । एउटा संस्थाले स्पेनमा आउने आप्रवासीहरुलाई स्पेनी नागरिकता दिलाउनका लागि पाँच हजार युरो लिएको अनुसन्धानको क्रममा खुलेको छ । 

उक्त अपराधिक संगठन म्याड्रिडमा रहेको र तिनका भारत,नेपाल, लिथुआनिया र पोल्याण्डमा रहेका सहयोगीहरुले तस्करी गर्न मद्दत गरिरहेको प्रहरीको निष्कर्ष छ । भारतबाट पोल्याण्ड, माल्टा हुँदै सेन्जेन राष्ट्रमा प्रवेश गरेको र तिनले अवैध रुपमा भारतीय रेष्टुरेण्टहरुमा काम गरिरहेको बताइएको छ । 

सो घटनामा प्रहरीले पक्राउ गरेकामध्ये एक हुन्,रोशन पाठक । म्याड्रिडमा बस्दै आएका उनी घरबाटै समातिएका हुन् । काठमाडौंमा सेभेला एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर बसेका उनी एभरेष्ट ट्राभल टुरका सञ्चालक पनि हुन् । 

यता,एनआरएनए स्पेनका वरिष्ठ उपाध्यक्ष, क्षेत्रीय समिति, म्याड्रिडका उपाध्यक्ष र सदस्य, ग्रानक्यानरियाका अध्यक्ष र सचिवलगायतका पदाधिकारीमाथि पनि अनुसन्धान भइरहेको स्रोतले बताएको छ । एनआरएनएका अध्यक्ष पेशलकुमार कोइरालाले समाचारको माध्यमबाट नेपाली पनि उक्त घटनामा संलग्न भएको जानकारी पाएको बताए । 

उनले भने,‘एनआरएनए स्पेन त्यस्ता गलत कार्यको निन्दा गर्दछ । हाम्रो संगठनभित्र यस्तो कार्य भएको रहेछ भने कारबाही हुन्छ । समाचारमा आएकोबाहेक अन्य केही पनि जानकारी छैन ।’ ओमनका लागि राजदूत भएर हाल स्पेनको कार्यभार सम्हालिरहेकी म्यानपावरवाली राजदूत डा. शर्मिला पराजुली ढकालको मानव तस्करसँग संलग्नता भएको भन्दै प्रश्न उठाइएको छ । 

मानव तस्करीमा पक्राउ परेका नेपालीसँग उनको बाक्लो उठबस भएकाले पनि पराजुलीको नाम जोड्न थालिएको छ । उनी र मानव तस्करहरुबीच भेटघाट भएको विषय स्पेनमा रहेका नेपालीहरुमा आगोझैं फैलिएको छ । यद्यपि, उनले नेपाली समुदायका अगुवासँगको भेटघाट तथा छलफललाई आशंका गर्नु गलत भएको बताइन् । 

उनले भनिन्,‘मानव तस्करीजस्तो गम्भीर विषयलाई कसैले प्रोत्साहन गर्नुहुँदैन । एक महिनाअघि भएको घटनाबारे मैले पनि सुनेको छु तर दूतावासलाई औपचारिक जानकारी आएको छैन ।’ शर्मिला तिनै हुन्,जसले पति विमलको रोजाइको कदर गर्दै नयाँ घरभाडाबापत डेढ करोड अग्रिम पेश्की दिएकी थिइन् । 

उनको घरभाडाको कारणले अर्थ मन्त्रालयको बजेट महाशाखामा तहल्का नै मच्चाएको थियो । बजेट निकासा नगरिदिए ‘तिमीहरुलाई देखाइदिन्छु’ भनेर कर्मचारीहरुलाई धम्काएको विषयले एक समय निकै नै चर्चा पाएको थियो ।

टिप्पणीहरू