ब्यारेकबाट निस्केर जनतामाथि बक्सिङ

ब्यारेकबाट निस्केर जनतामाथि बक्सिङ
सुन्नुहोस्

कुटपिटमा संलग्न एक जना मेजर कारबाहीमा परेका छन् । यसैकारण कालीध्वज गणमा कार्यरत रोशन लामिछानेको पद घटुवा गरी क्याप्टेन कायम गरिएको छ ।

ब्याच नम्बर ४७१४ भएका उनले बिना अनुमति ब्यारेकबाहिर निस्किएर गैरसैनिक व्यक्तिहरूलाई हात हालेका थिए । श्री आपूर्ति तथा परिवहन निर्देशनालयका निर्देशक, सहायक रथी प्रेमबहादुर पुनको अध्यक्षतामा छानबिन गर्न गठित समरी जनरल सैनिक अदालतको सिफारिशअनुसार उक्त कारबाही भएको हो । 

आफ्नो काम इमान्दारिताका साथ नगर्ने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल पनि दण्डित भएका छन् । फिल्ड निरीक्षण नगरिकन प्राप्त सुझावको आधारमा रिटेनिङ वाल थप गरी पठाउने प्राविधिक प्रमुख सेनानी लक्ष्मणप्रसाद शाहलाई सैनिक अदालतले नसिहत दिएको छ । 

पूर्वी पृतना स्थपति सेवामा कार्यरत उनले ड्रइङ्ग तथा नक्साको अध्ययन गर्दा एउटै प्रकृतिको सामानको दररेट फरक परेको थियो । आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न मातहतलाई दोषी देखाएका उनलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित अदालतले नसिहत दिने फैसला गरेको हो । 

उता अधुरो काम गर्ने सैनिक इञ्जिनियरिङ विभागका प्राविधिक सेनानी नितेश अमात्यको बढुवा रोक्का भएको छ । ब्याच नम्बर ४५८६ भएका उनले नयाँ निर्माण हुने भवनहरूको लागत अनुमान र (बिओक्यु) अपुरो तयार गरी पृतना स्थपति सेवामा पठाएका थिए । उक्त हर्कतका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन । 

यसबीच तीन वर्षका लागि उनको बढुवा रोक्का गर्ने फैसला भएको छ । प्राविधिक सेनानी कृष्णदेव यादवको पनि दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ । कामभन्दा बढी रकम भुक्तानी गर्ने उनलाई बढुवा रोकेर सजायँ दिइएको हो । 

उता डिजाइन र (बिओक्यु)मा फरक भएको थाहा हुँदाहुँदै निर्माण कार्य अघि बढाउने प्राविधिक सेनानी लीलाराम सापकोटासमेत दण्डित भएका छन् । निर्माण सम्पन्न गर्नमा चासो नदेखाउने अर्का प्राविधिक सेनानीलाई पनि कारबाही गरिएको छ । शाखापतिको हैसियतले आवश्यक व्यवस्था मिलाउन पहल गर्नुपर्नेमा गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोज्ने प्रा.सेनानी राजीवमोहन झाले नसिहत पाएका छन् । ब्याच नम्बर ६७४४ भएका उनको दुई वर्षका लागि बढुवा रोकिएको छ । 

समरी अदालतको फैसला उल्टियो

सहसेनानीद्वय कुमार गुरुङ र राजेन्द्र सिम्खडालाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैसला उल्टी भएको छ । ‘अनुशासन तथा आचरणसम्बन्धी कसुर’ मा दण्डित भएका उनीहरूलाई सेवाबाट हटाउने फैसला सैनिक विशेष अदालतले उल्टाएको हो । श्री भवानी दल (तत्कालीन श्री ज्वालादल गण (शा.से.) २६ औं डफ्फामा कार्यरत) ब्याच नम्बर ५२७१ भएका गुरुङ र ब्याच नम्बर ५३०० का सिम्खडालाई सैनिक समरी जनरल अदालतले २०७७ पुस २९ गते सेवाबाट हटाउने फैसला गरेको थियो । 

धमाधम राजीनामा 

नेपाली सेनाको विभिन्न गणमा कार्यरत दर्जन बढी हाकिमले घरायसी समस्या देखाउँदै राजीनामा दिएका छन् । उत्तर पश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईं, श्री वीरेन्द्र अस्पतालका सेनानी अमित पाल, श्री भगवतीदल गणका सेनानी ज्ञानबहादुर बस्नेत, श्री नम्बर २ विकास निर्माण गणका सेनानी नरबहादुर क्षेत्री, श्री रुद्रध्वज गणका सेनानी झंकरप्रसाद सुवेदीको निवृत्तिभरणमा राजीनामा स्वीकृत भएको बुझिएको छ । 

त्यस्तै, कालीदल गणका सेनानी आश्विनकुमार पाण्डेको उपदानमा राजीनामा स्वीकृत भएको छ । चण्डीदल गणका सेनानी सुरेन्द्रबहादुर चन्द, महावीर सौर्य गण (रेञ्जर) का सेनानी दिनेश अधिकारी, श्री फष्र्ट रैफल गणका सहसेनानी शम्भु कार्की क्षेत्री र राजदल गणका सहसेनानी आशिष जोशीको पनि राजीनामा स्वीकृत भएको छ । श्री वीरेन्द्र अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुजाता पन्त, प्राविधिक सहसेनानी शशी केसी, चक्रेश्वर गणका सेनानी सनिलजङ्ग पाँडे, समरसुर गुल्मका सहसेनानी अशोक पन्तले पनि राजीनामा दिएका छन् । 

यसैबीच, उमेर हदले गर्दा दुई जना सैनिक अधिकृत अवकाशमा गएका छन् । वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक प्रमुख सेनानी विमलाकुमारी मोक्तान र विकास निर्माण निर्देशनालयमा कार्यरत प्राविधिक महासेनानी कामेश्वर यादवको अवकाश भएको हो ।
 

टिप्पणीहरू