वर्षौंदेखि जीर्ण पशुपतिको यज्ञशाला सशस्त्रद्वारा मर्मत
सशस्त्र प्रहरी बल नेपालको नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयले पशुपतिनाथ मन्दिरको सरसफाई र मर्मतसम्भार गरेको छ । मुख्यालय र मातहतका इकाईहरुले ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत पशुपतिनाथ मन्दिर सुधारका कार्यहरु गरेको जनाइएको छ ।
‘सशस्त्र प्रहरी बल, नेपालको २३ औं वार्षिकोत्सव’ को पूर्वसन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिएको मुख्यालयले जनाएको छ । जनसम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीतिअनुरुप आज पशुपतिनाथ मन्दिर परिसरको अवलोकनसँगै ह्विलचियर हस्तान्तरण गरिएको छ ।
मन्दिरमा दर्शनका लागि आउने अपाङ्गता भएका भक्तजनहरुलाई लक्षित गरी बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले चार वटा ह्विलचियर पशुपति क्षेत्र विकास कोषका सदस्य राजुकुमार क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिरभित्रको यज्ञशालामा टुटफुट भएका मार्बलहरुको पुनःनिर्माण, मर्मतसम्भार तथा मन्दिर परिसर र बाहिर रहेका जीर्ण भागहरुमा ढुङ्गा बिच्छाइएको छ । उक्त कार्यले मन्दिरमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनहरुलाई सहज हुने बताइएको छ । उक्त यज्ञशाला विगत छ वर्षदेखि मर्मतको अभावमा थप जीर्ण हुँदै गएको थियो ।

आजको कार्यक्रममा मुख्यालय मातहतका इकाई गणपति तथा गुल्मपति, प्रहरी वृत्त गौशालाका प्रहरी अधिकृतलगायतको उपस्थित थियो । सशस्त्र प्रहरीले आगामी ९ गते २३ औं वार्षिकोत्सव मनाउँदै छ । सोही अवसरमा विभिन्न सामाजिक कार्य गरिएको हो ।
टिप्पणीहरू