दयाहाङलाई फेरि तनाब

दयाहाङलाई फेरि तनाब

अभिनेता दयाहाङ राईले आगामी माघ २६ गते आफैसँग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्थात्, उनका दुई चलचित्र 'दयारानी' र 'हात्तीछाप' सँगै प्रदर्शनमा आउदैछन् । अपेक्षा गरिएका यी दुवै चलचित्रमा उनी मुख्य भूमिकामा छन् । अवस्था यस्तो आएको छ कि 'दयारानी' चले 'हात्तीछाप' डुब्ने । 'हात्तीछाप' चले दयारानी डुब्ने । 

त्यसो त दयाहाङलाई आफैसँगै प्रतिस्पर्धा गर्नुपर्ने एउटा तनाब त छ नै, त्यहीमाथि अर्को तनाब पनि थपिएको छ । चलचित्रको प्रदर्शन मिति जुँध्दा दयालाई कुन चलचित्रको प्रचारमा हिँड्ने भन्नेबारे पनि सकस परिरहेको छ । 

माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको 'दयारानी'मा श्रीमान् र श्रीमती बीचको पारिवारिक समस्याको कथा प्रस्तुत गरिएको छ । दयारानीमा दयाहाङसँगै दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घलेको मुख्य भूमिका छ । चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् ।  चलचित्रलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । जसले यसअघि 'कबड्डी' शृङ्खला र 'जारी' जस्ता सफल चलचित्र निर्माण गरिसकेको छ । 

त्यस्तै प्रदीप भारद्वाजको लेखन तथा सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र 'हात्तीछाप'लाई लिएर पनि दर्शकहरु निकै उत्साहित छन् । यस चलचित्रमा दयाँसँगै भेट्रान अभिनेता सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका छ । 

दुवै चलचित्रमा अब्बल कलाकारहरु छन् । दुवै निर्माण टिम पनि पाका समूह हुन् । अब यस्तो अवस्थामा कुन चलचित्रको कथाले दर्शकलाई हलसम्म तान्छ ? त्यो भने अब माघ २६ गते नै थाहा हुनेछ । 

वास्तवमा राम्रा चलचित्रलाई जुधाएर प्रदर्शन गर्दा कलाकारलाई नै घाटा हुने गरेको पाइन्छ । जसका उदाहरण हुन्, दयाहाङ कै 'बिहेपास' र 'जारी' । अघिल्लो नयाँ वर्षको अवसरमा पारेर सँगै रिलिज भएका यी दुई चलचित्रमा पनि दयाहाङ मुख्य भूमिका नै थिए । त्यतिबेला 'जारी'ले राम्रै कलेक्शन गरेको थियो । यहाँसम्म कि चलचित्रले ५१औँ दिन मनाउदै करिब १८ करोडको कलेक्शन गरेको थियो । तर बिहेपासले भने लगानीसमेत उठाउन सकेको थिएन । चलचित्रको कथा राम्रै थियो । चलचित्रमा दयाहाङसँगै मुख्य भूमिकामा देखिएकी प्रकृति श्रेष्ठले पनि राम्रो अभिनय गरेकी थिइन् । तर पनि चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेको थिएन । 

यसर्थ, एकपटक आफैसँग प्रतिस्पर्धा गरिसकेका दयाहाङलाई फेरि दोस्रो पटक सामना गर्नुपर्ने अवस्था आएको छ ।

टिप्पणीहरू