टीआरसी विधेयक अघि बढाउन प्रमुख तीन दलबीच बालुवाटारमा सहमति

टीआरसी विधेयक अघि बढाउन प्रमुख तीन दलबीच बालुवाटारमा सहमति

प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंगोमा पुर्याउने सहमति जुटेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुले संसदमा विचाराधीन संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक पारित गरेर शान्ति प्रक्रियालाई टुंग्याउने समझदारी गरेका हुन् । 

माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साँझ बालुवाटार छलफल भएको थियो । सो छलफलले विधेयकलाई अगाडि बढाउन सहयोग गर्ने र संसदको आगामी हिउँदे अधिवेशनमा प्राथमिकतामा राखेर पारीत गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

एमालेका सचेतक महेश बर्तौलाले टीआरसीलाई पीडित केन्द्रित कानुन बनाउनुपर्ने अडान आफूहरुले राखेको र प्रधानमन्त्रीले त्यसमा प्रतिवद्धता जनाएको जानकारी दिए । 'पीडितकेन्द्रित कानुन बनाउने हो भने एमाले सहमतिसाथ जान तयार छ । त्यसलाई हिउँदे अधिवेशनमा मिलाएर लैजान सकिन्छ । प्रधानमन्त्रीले पीडित केन्द्रित कानुन ल्याउने कुरामा प्रतिबद्धता जनाउनुभयो', बैठकपछि सञ्चारकर्मीलाई उनले भने । 

संसद्मा विचाराधीन उक्त विधेयकका कतिपय प्रावधानलाई लिएर दलहरुबीच असहमति रहँदै आएको छ । आगामी हिउँदे अधिवेशनबाट विधेयक पारित गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलका प्रमुख नेताहरुसँग लगातार छलफल गरिरहनुभएको छ ।

टिप्पणीहरू