त्यस्तो हेलिकोप्टर खसे के हुन्छ ?

त्यस्तो हेलिकोप्टर खसे के हुन्छ ? फाइल फाेटाे
सुन्नुहोस्

जसले बनायो उसैले खबरदार ! कच्चा वैद्यको हातमा सुम्पेर मेरो उत्पादनमाथि छेडखानी नगर भन्दाभन्दै बाङबुङ भत्काएर विदेश लगिन्छ र भोलि टालटुल पारिएको सोही सामान तलमाथि हुँदा त्यसमा सवार चालकदल र यात्रुको जीवन बीमा लिनै मिल्दैन भने त्यो जत्तिको लाजमर्दो कुरा अरु के होला ! एउटा भाउमा बाचा कबोल गरेर मालताल ओसार्ने अनि लौ पैसा थप नत्र यो बन्दैन भनी टक्टकिने स्थितिले विश्वसनीयताको कति बदनामी होला ! अहिले यस्तो स्थितिबाट गुज्रिँदैछ नेपाली सेनाको एउटा हेलिकोप्टर भारतीय बन्दरगाहमा । 

आकाशमै रमाएको सुहाउने नेपाली सेनाको हरियो हेलिकोप्टरलाई ट्रकमा राखी दुई महिनाअघि दूतावाससँग कुरा मिलाएर भारतको मुम्बई बन्दरगाहमा पु¥याइएको थियो । अहिले १० करोड थप, अनि मात्र बन्न सक्छ भनेर ताकेता लगाउन थालिएको छ ।

किन्दाकै बखत भारी रकम तिरिएको उल्लेख गर्दै सैनिक स्रोत भन्छ– ‘त्यतिबेला नै चुस्नुसम्म चुसिएको थियो । त्यसबाट ठेकेदार, बिचौलिया र केही हाकिम आर्थिक रूपमा लाभान्वित भई राज्यकोषमा निकै घाटा पुग्यो ।’ त्यसरी खरिद गरिएका दुईमध्ये एउटा हेलिकोप्टरलाई नेपाली आकाशमा उड्नसक्ने बनाउन भन्दै मुम्बई लगिएको बताइएको छ । यताबाट लैजाँदा सम्पूर्ण पार्टपुर्जा खोली ४० फिट लम्बाई भएको कन्टेनरमा पोको पारिएको थियो । रसियाबाट ल्याइएको हेलिकोप्टर भारतीय रक्षा मन्त्रालयअन्तर्गत मुम्बईस्थित जुहु बन्दरगाहमा बनाउने भनिएको छ । बडी भारतमा बनाए पनि इञ्जिन मर्मतका लागि भने रसिया नै पु¥याउने कुरा छ । ५२ करोड खर्च स्वीकृत गराइवरी लगिएकोमा अहिले आएर थप १० करोड मागिएपछि जंगी अड्डा इन्तु न चिन्तु भएको बताइन्छ ।

 

गौरवसमशेर राणा प्रधानसेनापति हुँदा सन् २०१५ मा दीपक भट्टसहितका बिचौलियाले दोब्बर मूल्यमा किनाएका हेलिकोप्टर अहिले ओभरहल गर्नुपर्ने अवस्थामा पुगेको हो । यसको बिमा रकमबारे सम्बन्धित पक्षले केही बताएको छैन । 

त्यतिबेला किन्दा नै एमआई १७ (भि फाइभ) को मिलिट्री भर्सन उल्लेख गरिएका ती हेलिकोप्टरको आन्द्राभुँडी एकथरी र बोक्रा अर्काथरी थियो । ०७२ सालको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको मौका छोपेर किनिएका दुई वटा हेलिकोप्टरबाट बिचौलियाले १२ अर्ब भागशान्ति गरेका थिए । अहिले हेलिकोप्टरको इञ्जिन र एयरफ्रेम पुनर्निर्माण (ओभरहल) का लागि त्यता लगिएको हो । यसबीच रुसी कम्पनीका कार्यवाहक डेपुटी जनरल डाइरेक्टर ओभी सालापोभले लेखेको पत्रचाहिँ जनआस्थाले फेला पारेको छ । गत फेब्रुअरी २१ का दिन रुसी कम्पनी एनएएससीका डेपुटी डाइरेक्टर जनरल इभान सेरोभले मस्कोबाट नेपाली सेनाका संभाररथि मेजर जनरल प्रदीपजंग केसीलाई अर्को पत्र पनि लेखेका थिए । 

पत्रमा भारतमा बनाइने ती हेलिकोप्टरको जिम्मेवारी रुसले नलिने स्पष्ट पारिएको छ । नेशनल हेलिकोप्टर सेन्टर एमआई एण्ड कामोभलाई उद्धृत गर्दै रुसी अधिकारीहरूले भनेकै छन्– ‘नन अफ द एअरक्राफ्ट रिपेयर प्लान्ट्स इन साउथ एसिया आर अथोराइज्ड टु पर्फर्म ओभरअल अफ एमआई सिरिज हेलिकोप्टर्स । रसियन साइड क्यान नट ज्ञारेन्टी इट्स सेफ्टी फर्दर अपरेसन’ । यसको अर्थ रुसले भारतमा हेलिकोप्टर मर्मतका लागि कुनै पनि कम्पनी वा कारखानालाई आधिकारिकता दिएको छैन र त्यसबाट उत्पन्न हुने जोखिमको निम्ति आफू जिम्मेवार नभएको भनेर टक्टकिएको अवस्था छ । भूकम्पताका लटरपटर गरेर किनिएको हेलिकोप्टर मर्मतको क्रम हात लामो गर्न खोजिएको प्रष्ट छ । 

यसअघि नरेन्द्र रावल प्रबन्ध रथी र दीपक बाँस्तोला इञ्जिनियर हुँदा पुमा हेलिकोप्टरलाई यसैगरी सस्तोमा बन्छ भन्दै पाकिस्तान लगिएको थियो । त्यसपछि पनि प्रयोगमा नआएकाले कौडीको भाउमा बिक्री गर्नुप¥योे । अहिले एउटा मर्मतमा भारत लगिएको छ भने तीनवटा पनि त्यतै लैजाने भन्दै पाइपलाइनमा राखिएको छ । 

 

टिप्पणीहरू