बालेनको कामप्रति प्रधानमन्त्री सन्तुष्ट, अविचलित रुपमा अघि बढ्न आग्रह

बालेनको कामप्रति प्रधानमन्त्री सन्तुष्ट, अविचलित रुपमा अघि बढ्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाले गरेका सकारात्मक कामले संघीय सरकार उत्प्रेरित भएको बताउनुभएको छ । 

२९ औं काठमाडौं महानगर दिवसको अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । महानगरले थुप्रै प्रगतिशील काम गरेको भन्दै प्रधानमन्त्रीले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको उल्लेख गर्नुभयो ।

‘पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

महानगरका प्रमुख बालेन्द्र (बालेन) शाह, उपप्रमुख सुनिता डंगोललगायत सिङ्गो महानगर परिवारलाई प्रधानमन्त्रीले बधाई दिँदै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपिल गर्नुभयो । 

‘राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न तपाईहरूको प्रयास प्रशंसनीय छ’, प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नुभयो, ’मेरो विश्वास छ– काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ ।’

त्यसका निम्ति संघीय सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका लागि आफू सदैव तत्पर रहेको पनि उहाँले सो अवसरमा प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं मुलुकको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर समेत रहेको उल्लेख गर्नुभयो । काठमाडौँको विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाझ चिनाएको प्रधानमन्त्रीको भनाई छ  ।

‘हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवद्र्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्वपूर्ण योगदान पुर्याउँछ’, उहाँले भन्नुभयो, ‘तसर्थ, काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवद्र्धन एवम् यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।’
 

टिप्पणीहरू