तिहारमा घर गएका सैनिक अझै फर्केनन्

तिहारमा घर गएका सैनिक अझै फर्केनन्
सुन्नुहोस्

तिहार मनाउन छोडिएकासहित झण्डै दर्जन सैनिक फरार भएपछि प्रहरीले खोजतलास थालेको छ । गत कात्तिक २४ गतेबाट मंसिर ३ गतेसम्म तिहार बिदामा छोडिएका सैन्य मानबहादुर पञ्जियार बेपत्ता छन् । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १७ का टंकराम पञ्जियारका नाति एवं नेजलाल पञ्जियारका छोरा उनी भगौडामा परेका छन् । अस्थायी ब्याच नम्बर ४६७५९ भएका उनलाई कहीँ–कतै भेटेमा समातेर उपस्थित गराउन भनिएको छ । 

त्यसैगरी,उनीसँगै तालिमरत सैन्य रजनिश यादव पनि सम्पर्कविहिन छन् । उनी रौतहटको सुमुनामाई गाउँपालिका वडा नम्बर २ का जगन्नाथ राय यादवका नाति एवं रामसेवकका छोरा हुन् । उनी पनि सि.सं.२६ सैन्य आधार तालिममा तालिमरत थिए । 

सिन्धुलीको दुधौरा नगरपालिका वडा नम्बर ४ बस्ने अगमा यादवका नाति एवं श्याम यादवका छोरा उनलाई पटकपटक सम्पर्कको कोसिश गरिएको बुझिएको छ । अर्का हराउने सैनिक हुन्, कमलबहादुर खत्री । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का बमबहादुरका नाति एवं श्रीमान खत्रीका छोरा उनी पनि बिदापछि नफर्किएका हुन् । 

सैन्य अशोककुमार यादव मेडिकल फलोअपको मौका छोपेर भागेका छन् । सि.सं. १२ सैन्य आधार तालिममा छनौट भएका उनलाई स्वास्थ्य समस्या भएपछि छाउनीस्थित वीरेन्द्र अस्पताल पठाइएको थियो । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ५ बस्ने भुजुङ्गी यादवका नाति एवं रामसुन्दरको छोरा उनी सट्याकसुटुक भागेका हुन् । उपचारपश्चात् मंसिर ४ गते कार्यालयमा हाजिर हुनुपर्ने उनलाई कैयौंपटक सम्पर्क गर्न खोजिएको थियो । अस्थायी ब्याच नम्बर ४३५१९ भएका उनलाई भेटेमा पक्राउ गरेर उपस्थित गराउन पूर्वी पृतना तालिम शिक्षालयका शिक्षाधिकृत प्रल्हाद थापाले निर्देशन दिएका छन् । 

सिपाही सुशान्त चौधरी पनि सम्पर्कविहिन छन् । घर बिदामा निस्किएका चौधरी बिदा सकिए पनि कार्यालयमा हाजिर भएका छैनन् । उनी बाराको गढीमाई नगरपालिका वडा नम्बर ९ बस्ने चन्द्रिका चौधरीका नाति एवं महेश्वरका छोरा हुन् । १७ दिन बिदामा बसेका उनी मंसिर २ गते हाजिर हुनुपर्ने थियो । 

घर बिदाको बहाना बनाएर कार्यालय नै नआउने अर्का सिपाही हुन्,सन्तोष राई । १९ दिन घर बिदामा रहेका उनी मोबाइल बन्द गरेर बसेका छन् । उनी मंसिर १४ गतेदेखि मंसिर २ गतेसम्म बिदामा थिए । ताप्लेजुङ्ग साविकको मैवाखोला गाविस वडा नम्बर ५ बस्ने मान धोजका नाति एवं मनबहादुर राईका छोरा उनले फोन गरेर मंसिर ३ गते हेडक्वार्टरमा हाजिर हुने बताएका थिए । फोन नै स्वीचअफ गरेको बुझिएको छ । 

गनर अनिष सापकोटा पनि गायव भएका छन् । पर्वत साविकको रैनादेवी छहरा गाविस वडा नम्बर ५ का डण्डापानी सापकोटाका नाति एवं कृष्णप्रसादका छोरा उनी ११ दिन घर बिदामा थिए ।  

गनर निशान्त बोगटी श्री कुमारी दल गुल्ममा सञ्चालित तेक्वान्दो तालिममा सहभागी थिए । वैशाख १ गतेबाट तालिमरत उनलाई कात्तिक २४ गतेबाट मंसिर ३ गतेसम्म बिदामा छोडिएको थियो । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का हस्तबहादुर बोगटीका नाति एवं डोलप्रसाद बोगटीका छोरा उनी हाजिर नै नभएका हुन् । 

ब.क.सि साजनदास तत्मा हराएका छन् । घर बिदामा गएका उनी नफर्किएपछि सेनाले धुइँधुइँती खोज्न थालेको छ । उनी कात्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म छुट्टीमा थिए । बाराको फेटा गाउँपालिका वडा नम्बर १ का अकलुदास तत्माका नाति एवं मनोजदास तत्माका छोरा उनी तोकिएको मितिमा हाजिर नभएका हुन् । 
केही फर्किए

सिपाही चुडामणि सुनार भने फर्किएका छन् । सुर्खेतको गर्भाकोट नगरपालिका वडा नम्बर ७ का रतिमान सुनारका नाति एवं जिते सुनारका छोरा उनी पाँच दिन गयलमा परी फर्किएका हुन् । ब्याच नम्बर २९५२३४ भएका उनी घर बिदामा बसेका थिए । मंसिर २ गते हाजिर हुनुपर्ने उनी नआएपछि सेनाले खोजी शुरु गरेको थियो । मंसिर ७ गते उनी कार्यालय आएको सेनाले जनाएको छ । 

त्यस्तै,सिपाही मोहनबहादुर कार्की बेपत्ता भएको तीन दिनपछि फर्किएका छन् । बैंकसम्बन्धी कार्यका लागि एक दिन बिदामा निस्किएका ब्याच नम्बर ३०५३०२ भएका उनी मंसिर ५ गते हाजिर भएको सेनाले जानकारी दिएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका कर्णबहादुर कार्कीका नाति एवं खिकाबहादुर कार्कीका छोरा पनि आफैं हाजिर भएका छन् ।  

बढुवाका लागि सिफारिस

नयाँ भैरवीदल गुल्मले रिक्त रहेको हुद्दा पदमा तीन जना अमल्दारको पदोन्नति गर्ने भएको छ । गुल्मका जेष्ठ अधिकृत सहसेनानी किशोरकुमार खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जना अमल्दारलाई बढुवा गर्ने निर्णय गरेको हो । 

टिप्पणीहरू