तलब नपाएपछि प्राध्यापकहरुको ‘पेन डाउन’, मर्कामा विद्यार्थी
हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरुले ‘पेन डाउन’ गरेका छन् । लामो समयदेखि तलबभत्ता र सेवासुविधा नपाएको जनाउँदै प्राध्यापकहरुले पठनपाठन ठप्प पारेका हुन् ।
उनीहरुले पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । बागमती प्रदेश सरकारले छात्रवृत्ति अनुदानको रकम नपठाएपछि तलबभत्ता खुवाउन समस्या परेको प्रतिष्ठानका सूचना अधिकारी अमरसिंह अधिकारीले बताए । उनका अनुसार प्रदेश सरकारले गत वर्षदेखि छात्रवृत्तिबापतको १० करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
‘यहाँको सबै खर्च बागमती प्रदेश सरकारले हेर्छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिको रकम छुट्याएको रहेनछ । त्यसैले, अर्थ मन्त्रालयले रकम नै निकासा गरेको छैन । गत वर्षदेखिको छात्रवृत्ति अनुदान बाँकी छ । प्रतिष्ठानको आन्तरिक स्रोतले न्यूनतम तलब दिन मात्र सक्छ’, उनले भने ।
प्राध्यापकहरुको भदौदेखिको तलब बाँकी रहेको उनले जानकारी दिए । सम्पूर्ण तलबभत्ता र सेवासुविधा नपाएसम्म पठनपाठन सुचारु नगर्ने अडान प्राध्यापकहरुले लिएकाले प्रतिष्ठानले केही गर्न नसक्ने उनको भनाई छ ।
बी फर्मा, बीपीएच, नर्सिङ र बीएससी एमएल्टीका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको प्रतिष्ठानमा २४ जना प्राध्यापक छन् । तिहारअघि नै ठप्प भएको पठनपाठन हालसम्म सुचारु हुन नसकेपछि विद्यार्थीहरु चिन्तित देखिन्छन् ।
टिप्पणीहरू