विपिनको अवस्थाबारे दुई सरकारी निकायको सूचना बाझियो

विपिनको अवस्थाबारे दुई सरकारी निकायको सूचना बाझियो

प्यालेस्टाइनी अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको अवस्थाबारे सरकारका दुई निकायले सार्वजनिक गरेको सूचना परस्पर बझिएका छन् ।

परराष्ट्र मन्त्रालयले गाजाको एक अस्पतालमा विपिन सकुशल फेला परेको सूचना प्राप्त भएको जनाएको केही घण्टामै इजरायलस्थित नेपाली दूतावासले अवस्था अझै अज्ञात रहेको जानकारी गराएको हो । जसका कारण लामो समयदेखि बेपत्ता उनको अवस्थाबारे झन अन्यौल थपिएको छ । 

दूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि अवस्था अझै अज्ञात रहेको जनाएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ताको हवाल दिँदै दूतावासले निकालेको सूचनामा हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा विपिन जोशी पनि रहेको तर उनको अवस्थाबारे भने अहिलेसम्म यकिन गर्न नसकिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’ तर, परराष्ट्रले भने उनी सकुशल रहेको र नेपाल फर्काउन कूटनीतिक पहल भइरहेको जानकारी गराएको छ ।   

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिनसहितका चार दर्जन विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । उनीहरुले काम गर्ने कृषि फार्ममा हमासले आक्रमण गर्दा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन बेपत्ता छन् ।

टिप्पणीहरू