प्रधानमन्त्रीको प्रश्न - जो सबैभन्दा बढी तानाशाह छन् उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ?

प्रधानमन्त्रीको प्रश्न -  जो सबैभन्दा बढी तानाशाह छन् उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउन अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने दावी गर्नुभएको छ ।

आज दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले सो भनाई राख्नुभएको हो । त्यसक्रममा उहाँले देशमा अराजकता निम्त्याएर राजनीतिक प्रणाली असफल पार्ने षड्यन्त्र भैरहेकाले सबै लोकतान्त्रिक शक्तिहरु मिलेर त्यसलाई निस्तेज पार्नुपर्नेमा जोड दिनुभयो ।  

'सामन्ती तथा निरंकुश शक्तिहरू पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेका छन् । उनीहरू सङ्घीयताका विरूद्ध, गणतन्त्रका विरूद्ध, समावेशी–समानुपातिक प्रणालीका विरूद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन् । त्यो कुनै पनि हालतमा सफल हुँदैन', प्रधानमन्त्रीले भन्नुभयो ।

पछिल्लो समय समाजिक सञ्जालको दुरुपयोग गरेर अराजकता फ़ैल्याइएकोतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको अर्थ स्वतन्त्रता, सुव्यवस्था र जिम्मेवारीबोध हो भन्नुभयो । सर्वत्र अराजकता फैलाएर गणतन्त्र असफल भयो भन्ने पारेर राजतन्त्र फर्काउन खोज्नेहरुलाई उहाँले राजाहरुले शासन गर्दा भएका  विभिन्न घटना स्मरण गर्न सुझाव पनि दिनुभयो । 

'गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? जुन शक्तिहरूले अहिले संस्कारको कुरा गरिरहेका छन्, तिनीहरूको संस्कार के हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन्', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौं नेपालीमाथि दमन कसले गर्‍यो ? जो सबैभन्दा बढी तानाशाह छन्, फासिष्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने ?'

संघीयताको पूर्ण कार्यान्वयन अझै हुन नसकेको स्वीकार गर्दै प्रधानमन्त्रीले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको सबै अधिकार तल्लोतहसम्म पुर्‍याउँछौँ, अधिकार नपुग्दै सङ्घीयता असफल भयो भन्न हुन्न ।”

संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने दावी पनि गर्नुभयो । भन्नुभयो, 'सङ्घीयताको बारेमा अरुले भन्दा मैले बढी बुझेको छु भन्ने मेरो दावी छ । सङ्घीयतालाई बलियो बनाउनेतर्फ म क्रियाशील छु ।'

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले, २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीलगायतले सो कार्यक्रममा बोलेका थिए ।

टिप्पणीहरू