भारतसँग भिड्न साउथ अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा

भारतसँग भिड्न साउथ अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा

एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल भइरहेको छ । विश्वकप उपाधि रक्षाका लागि फाइनलमा स्थान बनाउन दुवै टोली मैदानमा उत्रिएका हुन् ।  

भारतको कोलकातास्थित इडन गार्डेनमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले खराब सुरुआत गरेको छ । पहिलो ओभरमै कप्तान तेम्बा बाभुमा गोल्डेन डक आउट भएपछि लगातार विकेट गुमाएको दक्षिण अफ्रिकाले १४ ओभरको खेल सकिँदा ४४ रनको स्कोरमा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ ।

यस प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्दै आएका ओपनर क्विन्टन डि कक पनि आज ३ रनमै आउट भए । त्यस्तै, रेसिस भान देर ६ रन बनाएर पेभेलियन फर्किए भने लगत्तै आइडेन मक्र्म पनि आउट हुँदा साउथ अफ्रिका खराब स्थितिमा पुगेको हो । 

अहिले हेनरिक क्लासें र डेभिड मिलर क्रिजमा छन् । अष्ट्रेलियाका लागि दुई फास्ट बलर मिचेल स्टार्क र जोस हाजलेवुडले समान २–२ विकेट लिए ।  

पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाले शुरुका दुई खेलमा हारपछि उत्कृष्ट कम्ब्याक गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल हुँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

आजको खेलको विजेता टोलीले हिजो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको आयोजक भारतसँग फाइनल खेल्नेछ ।

टिप्पणीहरू