अन्त कब्जापछि एअरपोर्टतिर अग्रसर

अन्त कब्जापछि एअरपोर्टतिर अग्रसर

अर्थतन्त्र धरापमा पर्दै गएको भनी खुइखुइ गर्ने केही व्यापारी तथा व्यवसायी आफैँँ अर्काको व्यापार खोस्दै रातारात धनी बनेको पाइएको छ । स्वदेशी र विदेशी रक्सी व्यापारको बादशाह भनिएका रवि केसी र अशोक अग्रवालले सबैतिर हात हालेपछि अरू व्यापारी तथा व्यवसायीको निंदहराम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्री लिकर पसल फुत्काउने केसीको पछिल्लो व्यावसायिक रणनीतिमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एवं नेत्री डा. आरजुपुत्र जयवीर सिंह देउवासमेत सामेल भएको स्रोतको दाबी छ । 

रवि केसी उनै हुन् जसले नेपालको आन्तरिक मदिरा बजारमा वल्ड दरबार ह्विस्की, ८८४८ भोड्का, बाह्रसिंगे बियरमार्फत रजगज गरेका छन् । यसैगरी सिमरा र तनहुँस्थित सूर्य टोबाको, चिनी व्यापारलगायत सबैतिर हात हालेको धेरै भइसकेको छ । ‘धेरै बाठो र सबैलाई हातमा लिएर हिँड्ने खुबी भएपछि हामीजस्ता सोझाको केही काम लाग्दैन,’ केसीबारे बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका एक जना पदाधिकारीले भने, ‘अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीसँग सम्बन्ध जोडिएपछि दिन दुर्ई गुणा, रात चौगुणाको दरले आर्थिक छलाङ मारेका हुन् । लोकमान र उनीबीच मामाससुरा र भाञ्जी ज्वाइँको नाता सम्बन्ध छ ।’ 

त्यसैगरी पूर्वराजाको लगानी रहेको सूर्य टोबाको कम्पनीमा पनि उनी अहिले सेयर होल्डर भएका छन् । सूूर्यमा आइटिसी अर्थात् बेलायतको इन्टरनेशनल टोबाको कम्पनीको ठूलै हिस्सा छ । पहिले सूर्य टोबाकोको कर्मचारी रहेका केसी एकाएक यतिखेर मालिक बन्न पुग्नु आफैँमा अचम्मको उन्नति हो । स्टाफको रूपमा छिरेका उनी आइटिसी इण्डियाको भित्री काम गरेपछि रातारात मालामाल भएको बताइन्छ । कम्पनीको नाममा जग्गा किन्ने काममा प्रत्यक्ष संलग्न भएसँगै उनको समृद्धिमा ‘चमत्कार’ भएको निकटस्थहरूको बुझाइ छ । बियर, रक्सी, भोड्काको व्यापार गर्दै आएका केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ड्युटी फ्रिको इजाजतसमेत भर्खरै हात पारेका छन् । बण्डेड वेयर हाउसको लाइसेन्स फुत्काएसँगै उनले विमानस्थलमा बन्द रहेको ड्युटी फ्रि खोल्न लागेका हुन् । 

प्रमोद राणाको नाममा पुरानो लाइसेन्सको म्याद सकिए पनि पैसाको खोलो बगाएपछि हालै नवीकरण गराइएको स्रोतको दाबी छ । यसमा उनले अंशियारको रूपमा देउवापुत्रलाई सामेल गराएको र झापाको दमकस्थित पूर्वराजाका नामको हिमालयन टि इस्टेटको पनि केही हिस्सा लिएको पाइएको छ । ‘व्युरोक्रेसी र दलका नेतासँग सुमधुर सम्बन्ध राख्न खप्पिस केसीले सबैलाई रक्सी, चुरोट र चियाको स्वादमा भुलाउने गरेका छन्,’ बन्दीपुरे पार्टनर अभिषेक श्रेष्ठनिकट एक जना व्यवसायीले भने । 

यता, युुवराज खतिवडा अर्थमन्त्री हुँदा चकलेटको कर घटाएर करोडौं कुम्ल्याएको आरोप खेपेका अशोक अग्रवालको विगत र वर्तमान पनि केसीको भन्दा कुनै फरक देखिँदैन । मारवाडीमध्ये अशोक अरूको व्यवसाय खोस्नमा माहिर छन् । अरू मारवाडीले गर्दै आएको टाङ जुस, प्रोक्टर एण्ड ग्याम्बल ब्राण्डका सामानको लहरो सबै उनैले खोसेका हुन् । सोही क्रममा हर्लिक्सको एजेन्ट पनि धेरैअघि अशोकले आफ्नो पोल्टामा पारेका थिए । हर्लिक्सको आयात र व्यापार सामान्य नेवार समुदायका एक जना व्यापारीले दशकौंदेखि गर्दै आएका थिए । यता, लोकमान सिंह कार्कीका सम्धी रोहिणी थपलियाको गाडीको बिजनेस झ्याप पार्ने पनि उनै हुन् ।

पद्मश्री फर्निचरका मालिक रोहिणीको माज्दा गाडीको डिलरसिप एकाएक अशोकको विशाल ग्रुपले खोसेको थियो । विदेशी सामानको एजेन्ट खोस्ने क्रममा अशोकले शुरुमा दश गुणा बढीको प्रलोभन देखाउने र लाइसेन्स हात पारेपछि शिताङ्ग पारिदिने गरेको कतिपयको दुखेसो छ । विश्वप्रसिद्ध विदेशी रक्सी जोनी वाकर ब्राण्डको व्यापार प्रमोद र प्रदीप राणाबाट यिनैले खोसेका हुन् । उक्त रक्सीको कारोबार नेपालभित्र राणा र काजुबाबुको ग्रुपले गर्दै आएको थियो । अहिले ब्ल्याक लेबल, रेड लेबल, गोल्ड लेबल, ब्लु लेबलजस्ता महँगा रक्सीमा उनैको रजगज देखिन्छ । एशियन र युनाइटेड डिष्ट्रिव्युटर्स पनि अशोककै हो । 

पूजा इन्टरकन्टिनेन्टलको नाममा भक्स वागन गाडीको व्यापार अग्रवालले गर्दै आएका छन् । अहिले विद्युतीय एमजी गाडीको व्यापारमा पशुपति मुरारकाहरूसँगै सामेल छन् । चिनियाँ विद्युतीय गाडीको व्यापारमा एकाधिकार कायम गर्न थालेको बिवाईडीको व्यापार खोस्न अशोक निकै अघि बढिसकेको चिनियाँ व्यापारीहरू बताउँछन् । ‘यिनीहरूको असाध्यै खराब बानी छ । अर्काको बिजनेस लुट्नमा च्याम्पियन अग्रवालहरूले गणेश इन्टरनेशनल भन्ने सुजुकी मोटरसाइकलको व्यवसाय धेरै अगाडि कब्जामा लिएका थिए । त्यसअघि उक्त मोटरसाइकलको व्यापार अमरराज राजकर्णिकारले गर्थे,’ उल्लेख गर्दै उद्योग परिसंघका एक जना पदाधिकारीले भने, ‘अर्काको बिजनेस राम्रो भयो भने झ्याप्पझुप्प पार्नेमा केसी र अशोक समान छन् । अहिले बिवाइडी गाडीको व्यापार हत्याउने दाउमा लागेको अवस्था छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत महिनाको चीन भ्रमणमा विनोद चौधरीका जेठा छोरा निर्वाणले बिजुली गाडी ल्याउने सम्झौता गरेका थिए । हालै अशोकले भारतीय मोटर कम्पनी महिन्द्राको एउटा सेगमेन्टको इजाजत लिएको बताइन्छ । अशोकलाई अर्काको बिजनेस थुत्नमा सहयोग गर्ने व्यापारीहरूमा पार्टनर पशुपति मुरारका र संघाई ग्रुप छन् । ट्रेडिङ अर्थात् सामानको व्यापार धेरै गर्दै आएका अग्रवाल पछिल्लो दिन एनआइसी एसिया बैंकका सेयरहोल्डर पनि हुन् । केही समयअघि मर्ज भएको प्रुडेन्सियल इन्स्योरेन्समा उनको र एनएलआईसीमा संघाई ग्रुपको लगानी छ । संघाई ग्रुपका मारवाडीहरू अशोकको सम्धी खलक हुन् । 

ठूलै रकम कर छलीको आरोपमा परेको विशाल ग्रुपलाई तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले जोगाइदिएका थिए । विराटनगरकै भएकाले भरतमोहनले जोगाउँदै च्यापेपछि युवराज खतिवडाहरू अशोकको दाहिने बनेका हुन् । नेपालभित्र सेटिङमा सबै काम मिलाएपछि अशोक अहिले दुबई बेस्ड व्यापारमा संलग्न हुन थालेका छन् । दुबईको कारोबार गर्ने मारवाडीहरूमा अशोक टप फाइभभित्र पर्दछन् ।
 

टिप्पणीहरू