ऋण नतिर्न विषको खोल, दशैंको मुखमा रन्थमोल

ऋण नतिर्न विषको खोल, दशैंको मुखमा रन्थमोल
सुन्नुहोस्

दशैं, तिहारजस्ता महत्वपूर्ण चाड नजिकिएका छन् । सुकासुका गाँस काटेर जम्मा गरेको रकम सहकारीले फिर्ता नगर्दा बचतकर्ता भने मर्नु र बाँच्नु पर्ने अवस्थामा छन् । केही वर्षदेखि भाग्न शुरु गरेका सहकारीहरू यो वर्ष पनि दशैंकै मुखमा भागेका छन् ।

ऋण तिर्नुपर्र्नेहरूले पनि खल्तीमा विषको खोल लिएर तर्साउन थालेका छन् । बचतकर्ताहरू सहकारीकै ढोकामा पसारो परेका छन् । बनेपाको पुण्यश्वर सहकारी ७ करोड रकम लिएर फरार भएको छ । बाबु छोरालाई मुद्दा राखेर अर्काे नाटक गरिँदै छ । अर्काे सहकारी गरुडमा श्रीमान्ले १८ करोड हिनामिना गरेका छन् ।

श्रीमतीलाई अंशसहित ८ करोड बराबरको सम्पत्ति दिएका छन् । बनेपा नगरपालिका वडा नम्बर १० गरुड सहकारीबाट १८ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष वासुदेव खड्कालाई प्रहरीले ठगी अभियोगमा समाती अनुसन्धान शुरु गरेको छ । बचतकर्ताहरूले रकम फिर्ता मागेपछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतिसँग सम्बन्धविच्छेद गरेर ५ करोड रकम दिएको खुलासा भएको छ ।

सम्बन्धबिच्छेद गरेकी श्रीमती अहिले प्रहरी हिरासतमा श्रीमान खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी छन् । ५२ जना बचतकर्ताले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । गरुड बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्बरमा दर्ता छ । उक्त सहकारीमा राखेको रकम समयमा फिर्ता नभएको भन्दै केही महिनादेखि बचतकर्ताहरू आन्दोलित थिए । नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनीहरूले उजुरी गरेका थिए । 

उजुरीका आधारमा अध्यक्ष वासुदेव खड्कालाई प्रहरीले असोज १ गते पक्राउ गरेको हो । भक्तपुर जिल्ला दधिकोट गाविस ४ घर भई हाल सूर्यविनायक नगरपालिका–४ घर भएका खड्का ४० वर्षका छन् । उनले खोलेको सहकारीमा विभिन्न क्षेत्रका व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गरेका थिए । त्यही क्रममा नियुक्त गरिएका बनेपा १३ भैंसेपाटीका राजीव विष्टलाई केही समयपछि वासुदेवको श्रीमती पवित्रा आचार्यलाई अध्यक्ष राखेर खोलिएको छायाँश्वेरी सहकारीको व्यवस्थापक बनाए । केही समयसञ्चालन गरे । छायाँश्वरी सहकारीको दर्ता नम्बर २३९४ थियो । बनेपा १० मा रहेको गरुड र सोही ठेगानामा रहेको छायाँश्वरी सहकारीबीच २०७७ माघ ८ गते एकीकरण घोषणा गरिएको हो । कार्यरत राजीवलाई त्यही समयदेखि वासुदेव खड्काले हटाएका थिए । यता व्यवस्थापकका रूपमा भक्तपुर सूर्यविनायक १० घर भएका रामगोपाल थापालाई नियुक्त गरे । गरुडको कार्यकारी अधिकृतमा वासुदेव खड्काकै श्रीमती प्रतिमा आचार्यलाई नियुक्त गरिएको थियो । कार्यालयमा नआए पनि उनका नाममा हरेक महिना पारिश्रमिक उपलब्ध गराउने गरिएको थियो । 

एकीकरणका क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले संस्था एकीकरणका २१ बुँदे शर्त राखेर गरुड बचतका नाममा पत्र काटेको थियो । २०७७ माघ ८ गते जारी भएको उक्त पत्रमा उल्लेख भएको बुँदा नम्बर ७ मा गरुड र छायाँश्वरीको चुक्ता गर्नु पर्ने दायित्व एकीकरणपश्चात् एकीकृत संस्था गरुडले दायित्व बहनको जिम्मेवारी रहने उल्लेख छ । त्यो बुँदा नहुँदा पनि व्यवस्थापक भनिएका राजीव कुनै कारोवारमा संलग्न थिएनन् र छैनन् । विक्रमप्रसाद पाण्डेय रजिष्ट्रारद्वारा जारी गरिएको पत्रमा दुबै संस्थाका नाममा भएका कारोवारलाई गरुडका नाममा एकीकृत गर्ने उल्लेख छ ।

सहकारीमा बचतकर्ताहरूले रकम फिर्ता माग्न थालेपछि वासुदेव खड्का शुरुमा फरार भए । फरारकै बीचमा श्रीमती प्रतिमा आचार्यसँग सम्बन्धविच्छेद गरे । त्यसअघि उनीहरूको अंश विवादको मुद्दा अदालतमा विचाराधिन थियो । सबै सम्पत्ति रोक्का हुँदा हुँदै फेरि मुद्दा फिर्ता लिएर रोक्का सम्पत्ति फुकवा गरी वासुदेवले श्रीमती आचार्यलाई सम्पत्ति दिएको कागज तयार गरिएको छ ।

वासुदेवका दाजुको दुई परिवार भएकाले एक परिवारले अंश मुद्दा दर्ता गरेको थियो । परिवारका सदस्यको सम्पत्तिसमेत सरकारले बिक्री गरेर बचत कर्ताहरूको रकम फर्काउने गर्ने घोषणा गरेपछि वासुदेवले एउटै ओछ्यानमा सुत्ने श्रीमतीसँग पनि सम्बन्धविच्छेदको कागजात तयार गराए । परिवारमा पनि अलग्गै भएको कागजात बनाए । २०७९ फागुन ३० गते जिल्ला अदालत भक्तपुरमा वासुदेव खड्का र श्रीमती प्रतिमा आचार्यको ५ करोडको सम्पत्ति लिएर अलग भएको उल्लेख छ । वासुदेव खड्काले बचतकर्तालाई २५ करोडभन्दा धेरै फिर्ता दिन बाँकी छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू