सेवाग्राहीको संख्या घटेपछि नगरपालिका चिन्तित, राष्ट्रिय परिचयपत्र लिन पुन: आग्रह

सेवाग्राहीको संख्या घटेपछि नगरपालिका चिन्तित, राष्ट्रिय परिचयपत्र लिन पुन: आग्रह

सिरहाको लहान नगरपालिकाले राष्ट्रिय परिचयपत्र बनाइहाल्न नगरवासीलाई आग्रह गरेको छ ।

परिचयपत्र बनाउने सेवाग्राहीको संख्या न्यून भएपछि सार्वजनिक सूचना निकालेर नगरपालिकाले यस्तो अनुरोध गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट कर्मचारी खटिई अहिले लहानमा परिचयपत्र बनाउने कार्य भइरहेको छ । 

तर, सेवाग्राहीले परिचय पत्र बनाउन चासो नदिँदा विभागबाट खटिएका कर्मचारीलाई त्यसै फिर्ता पठाउनुपर्ने अवस्था बनेको भन्दै नगरपालिकाले चिन्तासमेत जनाएको छ । 

‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट कर्मचारी खटिई राष्ट्रिय परिचयपत्र बनाउने कार्य अनलाइन प्रणालीमार्फत प्रविष्ट भइरहेको कुरा सबैलाई विदितै छ । तथापी केही दिनदेखि सेवाग्राहीको उपस्थिति न्यून भएकोले सो कर्मचारी फिर्ता गर्नुपर्ने बाध्यता आउन सक्ने भएकोले राष्ट्रिय परिचयपत्र समयमै बनाउन अनुरोध गरिन्छ’, जारी सूचनामा उल्लेख छ । 

आगामी दिनमा बैंकमा खाता खोल्न, ई–पासपोर्ट बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, जग्गाजमिन किनबेच गर्न, सिम कार्ड लिन र अन्य सरकारी तथा गैरसरकारी संस्थाबाट सेवासुविधा लिन राष्ट्रिय परिचयपत्रको आवश्यकता पर्ने नगरपालिकाले सुसूचित गराएको छ ।

टिप्पणीहरू