बिदामा श्रीमान्, एकपछि अर्काे भुक्तमान

बिदामा श्रीमान्, एकपछि अर्काे भुक्तमान

न्यायाधीश अनिलकुमार सिन्हा बिदामा बसेसँगै सर्वाेच्च अदालतमा सात पद खाली हुन पुगेका छन् भने मुद्दाले ६ महिना लामो तारिखको फड्को मार्न थालेको छ । 

अवकाशको ३० दिन पहिल्यैदेखि बिदामा बस्ने प्रचलनका कारण सिन्हाले मुद्दा सुनुवाइ रोकेका छन् । उनी ६५ वर्ष पूरा भई कात्तिक २० मा अनिवार्य अवकाशमा जाने भएकाले प्रचलनबमोजिम एक महिनाअघि नै बिदा बस्न थालेका हुन् । अमेरिकास्थित छोराहरूसँग दसैँ मनाउन उतै जाने र फर्केलगत्तै अवकाश लिने तयारी रहेको सर्वाेच्च अदालत प्रशासनबाट थाहा भएको छ । घटस्थापनाको दिन असोज २८ देखि बन्द हुने अदालत कात्तिक १२ गते पूर्णिमाको भोलिपल्ट मात्रै खुल्नेछ । 

सर्वाेच्च अदालतमा यस वर्ष मात्रै १२ जना न्यायाधीशले अवकाश पाउने र नयाँ न्यायाधीशको समेत तत्काल नियुक्ति हुन नसकेका कारण मुद्दामा गम्भीर असर परिरहेको छ । प्रधानन्यायाधीशबाट हरिकृष्ण कार्की र न्यायाधीशकाट टंक मोक्तानले अवकाश लिइसकेका छन् भने ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमासमेत अवकाशको मुखमा छन् । अन्तरिम आदेश लिनुपर्ने, तल्ला निकायको आदेश बदर गराउनुपर्ने वा कुनै विशेष महत्वका मुद्दामा समेत समयमा पालो नआउने रोग सामान्यझैँ भइरहेका छन् । 

पुनरावेदन, दोहोर्‍याइपाऊँका निवेदन वा साधकजस्ता तलबाट आउने मुद्दाको सुनुवाइको बेहाल त छँदै छ, दैनिक २०–२५ वटा रिट र तल्ला अदालतका काम कारबाहीमा हुने निवेदनहरूको समेत समयमा सुनुवाइ हुन नसक्दा सर्वाेच्च अदालत हुनु र नहुनुको औचित्यमाथि प्रश्न उठिरहेको छ । 

एकल इजलासमा बस्नुपर्ने न्यायाधीशलाई समेत संयुक्त इजलास तोकिने गर्दा सुनुवाइमा गम्भीर प्रभाव पर्ने गरेको छ । संयुक्त, पूर्ण, विशेष वा संवैधानिक इजलासमा पर्ने न्यायाधीशलाई एकल पनि तोकिँदा गम्भीर असर परेको छ । उता, अन्तरिम आदेश लिएर बसेको पक्षको मुद्दा समेत वर्षाैं पालो नआउने रोगको चर्चा गरिसाध्य छैन । सुर्खेतमा हालै सम्पन्न बार एशोसिएशनको राष्ट्रिय सम्मेलनले त संवैधानिक इजलास नियमित सञ्चालन गर्न माग नै गरेको छ । 
 

टिप्पणीहरू