कोशीमा उद्धवलाई नै अघि सार्ने कांग्रेसको निर्णय

कोशीमा उद्धवलाई नै अघि सार्ने कांग्रेसको निर्णय
सुन्नुहोस्

नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमै सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा आज बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले थापाको नेतृत्वमै सरकार बनाउने र यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो । 

राप्रपाको सहयोग लिएर थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार थापाको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीभित्र मतभेद छैन । 

काँग्रेससहित माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाको समर्थनमा दुईपटक मुख्यमन्त्री बनेका थापा सर्वोच्च अदालतको आदेशले दुबैचोटी पदमुक्त भएका थिए । थापाको बहिर्गमनसँगै सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा संविधानको धारा १६८ को उपधारा ५ को सरकार गठनको तयारी चलिरहेको छ । 

प्रदेश प्रमुखले असोज २६ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न सांसदहरुलाई आह्वान गरेका छन् । यस उपधारामा कुनै पनि सांसदले आफूसंग बहुमत देखाएर मुख्यमन्त्रीमा दावी पेश गर्न पाउने व्यवस्था छ । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतसिद्ध गर्न ४७ सदस्य चाहिन्छ । यहाँ कुनै पनि दलको एकल बहुमत छैन । सबैभन्दा ठूलो दल एमालेको उपसभामुखसहित ४० सिट छ । हाल यौटै गठबन्धनमा रहेका काँग्रेस, २९, माओवादी केन्द्र, १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् । दुवै 
गठबन्धनमा नरहेको राप्रपासँग ६ जना सांसद छन् ।

कांग्रेस-माओवादी गठबन्धनसँग बहुमतका लागि चाहिने ठिक्क ४७ सांसद भएपनि सभामुख नभएको अवस्थामा उपसभामुखको भूमिका निर्णायक हुन्छ । यसअघि एमालेले थापालाई बहुमत पुग्न नदिन उपसभामुख सृजना दनुवारसहित अध्यक्ष मण्डलमा छानिएका जेष्ठ सदस्यहरुलाई प्रदेशसभा बैठकमा अनुपस्थित गराएको थियो । 

यस्तो स्थितिमा गठबन्धनले राप्रपाको समर्थन खोजेको छ । तर, राप्रपाको प्रदेश नेतृत्व उद्धव थापाप्रति सकारात्मक छैन । यसका बाबजुत काँग्रेसले उनैलाई अघि सार्ने निर्णय गरेपछि कोशीमा सरकार बनाउन दलहरुलाई थप सकस पर्ने  देखिन्छ ।

टिप्पणीहरू