कार्यकर्तालाई ओलीको सुझाव : ‘हारेपछि मन दुख्छ, चुनाव नगर्नुस्’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष प्रदेश कमिटीलाई सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ ।
आज दिउँसो काठमाडौँमा अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सर्वसम्मत गर्न भन्नुभएको हो । त्यसक्रममा ओलीले अन्य प्रदेशका सन्दर्भमा विपक्षी र केही सञ्चार माध्यमहरुले नकारात्मक टिप्पणी गर्ने मौका पाएको जनाउँदै उपत्यका विशेष प्रदेशले त्यो अवस्था आउन नदिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘हाम्रा विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन् । उपत्यका विशेषले एकोहोरो खालको अर्को खालको टिकाटिप्पणी गर्ने मौका नदेओस् । अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्वसहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔं ।’
आफूले सर्वसम्मत नेतृत्व छान्न दिएको सुझावलाई विपक्षीहरुले एकतर्फी प्रचार गरेको आरोप लगाउनुभएका उहाँले पार्टीमा लोकतान्त्रिक अभ्यासलाई बर्जित नगरिएको दाबी पनि गर्नुभयो ।
चुनाव गर्दा हार्नेले मन दुखाउने भएकाले सर्वसम्मत गर्नु उपयुक्त हुने ओलीको तर्क छ । ’जितेर पनि केके न ठूलो कुरा पाइने होइन । सबैले जित्ने पनि होइन । हारेपछि मन दुख्छ । सहमति गर्यो भने कसैको मन पनि दुख्दैन’, उहाँको भनाइ छ ।
टिप्पणीहरू