करोडौंको सामान पक्रेका एसपीमाथि उल्टै आरोप
सशस्त्र प्रहरी बल नेपालका एक जना एसपी भारतीय सिमाना नजिकै रहेको मौकामा दाइको गार्मेन्ट व्यवसाय फस्टाएको आरोप लागेको छ । डिएसपी पनि त्यसमा संलग्न भएको तथ्य खुलेको बताइन्छ ।
सिरहाको माडर बोर्डर नजिकै पोष्टिङ भएका डिएसपी रामहरि खड्कासहितलाई यस प्रकरणमा बर्दिबासस्थित बाहिनीतिर तानिएको छ । सशस्त्र प्रहरी बलको टोलीले तस्करीको कपडा छाडेपछि राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । उक्त कार्यमा यसअघिका डिएसपी पवन खड्काको मुख्य भूमिका रहेतापनि ५–६ दिनअगाडि मात्र जिम्मेवारी सम्हाल्न पुगेका अर्का डिएसपी रामहरि र एसपी प्रमोद भारतीलाई सोधपुछको निम्ति डिआइजी दिपेन्द्र शाहले बाहिनीमा झिकाएको बुझिएको छ ।
रामहरि तत्कालीन एआइजी नारायणबाबु थापाका पीए थिए । उनी त्यहाँ गएको चार पाँच दिन मात्रै भएको छ । त्यसअघिका डिएसपी पवन खड्का थिए । यसअघिका अधिकांश तस्करीको सेटिङ उनकै पालामा भएको बताइन्छ ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार माडरबाट करोडौंको कपडा तस्करी हुँदै आएको थियो । तस्करीका सामान गोदाममा राखेर त्यसबीच कागजपत्र मिलाउने गरिएको आरोप लागेको छ ।
त्यसरी ल्याइएका सामान गोदाममा राखेपछि बल्ल बिल बिजक मिलाउने गरिएको राजश्वको पनि ठहर छ । सोही सूचना प्राप्त भएपछि उसले गत साता पटक पटक छापा हानेको थियो । उक्त गोदाम गार्मेन्ट व्यवसायी मनोज भारतीको हो ।
जोसँग पनि सम्पर्क बनाउन सिपालु मनोजको गार्मेन्ट काठमाडौंमा छ । फिटवेल गार्मेन्टले निर्वाचनमा म्यादी प्रहरीको लुगा सिलाउने कामसमेत गरेको थियो ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग अति घनिष्ठ र अहिले गृह मन्त्रालयको टिमसँग पनि नजिक रहेका भारतीले धेरै काम पट्याउने गरेको बताइन्छ । गार्मेन्टको काम उनले सशस्त्रमा कोटेसनमा गर्दै आएको देखिन्छ । पारिबाट लत्ता कपडा तस्करी गरेर ल्याउने, बिलबिजक मिलाएर काठमाडौंको गार्मेन्टसम्म पुर्याउने गरेको प्रारम्भिक छानबिनबाट खुलेको स्रोतको दाबी छ ।
उनै भारतीले सशस्त्र प्रहरी बल हेडक्वार्टर, हलचोकको सामुन्ने कपडा पसलसमेत खोलेका छन् । पसलमा फिटवेलको ट्याकसुट बेचिन्छ । नयाँ भर्नाका सिपाहीलाई चाहिने लुगा र गेम ड्रेसको जोहो त्यहीँबाट गरिँदै आएको छ । पहिलेका आइजी शैलेन्द्र खनाल र उनका दाहिने हात शंकर खनालको पालादेखि सम्बन्ध र सम्पर्क बनाएकाले पनि खुलमखुल्ला उक्त कार्य गर्न धक नमान्ने गरेको रहस्य अहिले बल्ल खुलेको हो ।
नाताले मनोज र सिरहाका एसपी प्रमोद भारती दाजुभाइ हुन् । एसपी भारतीका समकालीनहरु दाइको व्यवसायसँग जोडेर उनलाई मुछ्नु न्यायोचित नहुने धारणा राख्छन् । ‘दाजुभाइको सम्बन्ध एक ठाउँमा होला, तर व्यवसायसँग जोड्नुको कुनै अर्थ छैन,’ सशस्त्रका एक जना एसपीले बताए ।
स्वयम् एसपी भारतीले पनि उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । जनआस्थासँगको कुराकानीमा भने, ‘यसमा कुनै सत्यता छैन । तस्करी रोक्न लागिपरेको एसपीलाई नानाथरी विषयसँग जोड्नु आत्मरतिमा रमाउनु मात्रै हो ।’ हिजो मात्रै सशस्त्र प्रहरी बलले सो क्षेत्रबाट झण्डै एक करोड मूल्य बराबरको सामान पक्रेको उनले जानकारी दिए ।
टिप्पणीहरू