एन आर एनमा युवा उम्मेदवारका कुरा
गैर आवासीय नेपालीहरुको संगठन एनआरएनको महाधिवेशन नजिकिएसंगै उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएको छ। यसै मेसोमा उनीहरु हालै बनेको गैरआवासीय नेपालीहरुको नागरिकता ऐन स्वागतयोग्य भए पनि अझै धेरै कुराहरुको सुधार आवश्यक रहेको दावी गर्न थालेका छन् ।
अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिएका रोबोट लिम्बुले नेपाललाई विकासको मूल प्रवाहमा जोड्न सरकारले रेमिट्यान्सको अपेक्षा मात्रै नगरी विदेशमा रहेका नेपालीहरूले सिकेका सीप,अध्ययन र अनुभवलाई समेत प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने र यसका लागि पहल गर्ने कुरालाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन् ।
पोर्चुगलको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका रोबट लिम्बू पोर्चुगलका युवा व्यवसायी पनि हुन् । एक दशकदेखि पोर्चुगलमा नेपाली आप्रवासीको दु:ख सुखमा सहभागी लिम्बुले एनआरएनका बिभिन्न तहमा रही सेवा गरिसकेका छन् । हाल एनआरएनए पोर्चुगलको सदस्य तथा सल्लाहकार संरक्षकसमेत रहेका लिम्बू सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एन्ड प्रोसिड्युअर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उप-संयोजकको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
“म आफैं पनि अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेको छु, यसकारण विश्वभरि छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्न चाहन्छु,” लिम्बू भन्छन्, “अब नेतृत्वमा योग्यता,विज्ञतासहितको क्षमता भएको मान्छेहरूको आवश्यक छ।"
टिप्पणीहरू