चाडपर्वसँगै चिनी अभाव तर गोदाममा पर्याप्त

चाडपर्वसँगै चिनी अभाव तर गोदाममा पर्याप्त
सुन्नुहोस्

केही दिनअघि कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम शिल गरियो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागले कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको चिनी गोदाम असोज ८ गते शिल गरेको हो । 

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार करिब ७० हजार किलो चिनी गोदाममा थन्काएर राखिएको अवस्थामा भेटिएको थियो । लेबल नबुझिने हिसाबले राखिएका कारण चिनीको गुणस्तर परीक्षण गर्दा कुनै समस्या नदेखिएको उनले बताउ । 

यता चाडपर्व नजिकिएसँगै बजारमा चिनीको मूल्य हवात्तै बढाइको छ । व्यापारीहरुले चिनीमा कालोबजारी गर्न थालेको आशंका छ । एक महिना अघिसम्म ११० रुपैयाँ प्रतिकिलो चिनीको मूल्य अहिले एकाएक बढेर १५० रुपैयाँसम्म पुगेको छ । 

एक महिनाको अवधिमा ४० रुपैयाँसम्म चिनी महँगिएको छ । लगातारको दशैं, तिहार र छठ पर्वको पूर्वाद्र्धमा उपभोक्ताहरु भने महँगीको चपेटामा परेका छन् । बढेको मूल्यमा सामान किन्न उनीहरु बाध्य देखिन्छन् । हुन त विगतमा पनि चाडपर्व नजिकिएसँगै कालोबजारी हुने गरेको थियो । 

यता, बजार अनुगमनको जिम्मा पाएको सम्बन्धित निकाय पनि निरीह बन्दा व्यापारीहरुले सर्वसाधारणलाई ठग्न कुनै समस्या हुँदैन । अहिले बजारमा लुकाएर अभाव देखाएपछि चिनीको मूल्य बढाइएको हो । त्यस्तै, अन्य खाद्यान्नको भाउ पनि छोइनसक्नु छ । 

उपभोक्ता उर्मिला घिमिरे चिनीको मूल्य एक्कासी बढाएपछि उपभोक्ता मारमा परेको बताउँछिन् । उनले भनिन्, ‘एक महिना अघिसम्म ११० रुपैयाँ प्रतिकेजी पाइने चिनी अहिले १५० रुपैयाँ पुगेको छ । त्यो पनि भनेजति पाईंदैन । डेढ÷दुई किलोभन्दा बढी चिनी पाईंदैन ।’

अर्की उपभोक्ता सुष्मा श्रेष्ठले पनि चिनीमा कालोबजारी बढेको बताइन् । व्यापारीहरुले अभाव देखाउँदै अस्वाभाविक रुपमा मूल्यवृद्धि गर्दा समेत सरकार मौन बसेको उनको आरोप छ । 

‘चाडपर्व नजिकिएको छ । यस्तो बेलामा कालोबजारी बढ्नु स्वाभाविक पनि हो । तर, सम्बन्धित निकाय चनाखो हुनुपर्यो । बजार अनुगमनमा तीव्रता दिनुपर्यो । कालोबजारी गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्यो,’ उनले भनिन्, ‘अनि मात्र उपभोक्ताले राहत पाउँछन् ।’

सम्बन्धित निकायले बजार अनुगमनमा चासो नदेखाउँदा जहिल्यै चाडपर्वको बेलामा व्यापारीहरु सर्वसाधारण ठग्न सफल हुने उनको ठम्याई छ । 

नेपालमा वार्षिक एक लाख ४० हजारदेखि एक लाख ८० हजार टन चिनी उत्पादन हुन्छ । तर, माग भने दुई लाख ८० हजार टनभन्दा बढी छ । अपुग एक लाख टनभन्दा धेरै चिनी भारतलगायत अन्य मुलुकबाट आयात हुने गरेको छ ।

मुलुकका अधिकांश उद्योग बन्द हुँदै गएपछि चिनीमा समेत भारतमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । चाडपर्वको बेलामा बजार हस्तक्षेप गर्न भन्दै सरकारले ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०÷१० हजार टन चिनी आयातको अनुमति दिएको छ । 

तर, ढिलो दिइएको यो अनुमतिअनुसार दशैं अगावै चिनी ल्याउन मुश्किल छ । यी निकायले चिनी आयातको ठेक्का आह्वान गर्दा कम्तीमा १५ दिन लाग्छ । 

तत्काल प्रक्रिया अघि बढाउँदा पनि दशैंसम्म चिनी आयात हुने सम्भावना देखिँदैन । बजारमा चिनीको मूल्य अत्यधिक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समिति गठन गरेर यस विषयमा अध्ययन समेत गरेको थियो । 

अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर मूल्य बढाएको पाइएको छ । विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार विभिन्न ठाउँका गोदाममा एक लाख ८८ हजार टन चिनी मौज्दात रहेको पाइएको छ । 

हाल बजारमा देखिएको चिनी मौज्दातका कारण तत्काल अभाव नहुने उनको भनाई छ । तर, चिनीमा कालोबजारी बढेको उनी पनि स्वीकार्छन् । 

‘अनुगमनको क्रममा बजारमा चिनी पर्याप्त पाइएको छ । तत्कालै अभाव हुने अवस्था छैन । तर, कालोबजारी बढेकोले समस्या परेको हो,’ उनले भने, ‘कालोबजारी नियन्त्रणका लागि विभिन्न चिनी उद्योगहरुसँग समन्वय गरिरहेका छौं । योसँगै बजार अनुगमनलाई तीव्रता दिँदै आइरहेका छौं । कालोबजारी गर्नेमाथि कारबाहीसँगै जरिवाना समेत तिराएका छौं ।’

टिप्पणीहरू