प्रधानमन्त्रीद्वारा क्याविनेटको आकस्मिक बैठक आह्वान

प्रधानमन्त्रीद्वारा क्याविनेटको आकस्मिक बैठक आह्वान
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक क्याविनेटको बैठक बोलाउनुभएको छ । अहिले साढे १२ बजे बस्नेगरी बैठक बोलाइएको हो । 

प्रधानमन्त्रीको सचिवालयले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा छलफल गर्न क्याविनेट बैठक बस्न लागेको जानकारी दिएको छ । 

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

चाडपर्वको मुखैमा नेपाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सरकारको चौतर्फी बिरोध भैरहेको छ । त्यस विषयमा सरोकारवालाहरुसँग छलफल गरी प्रधानमन्त्री प्रचण्डले क्याविनेट बैठक बोलाएको उहाँको सचिवालयले जानेको छ । 

'सरोकारवाला निकायहरूको समेत सुझावका आधारमा आयल निगमले केहि महिना अघिदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको र सोहीअनुसार निगमले भाउ बढाएको भएता पनि नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ', प्रधानमन्त्रीको सचिवालयले भनेको छ  ।

टिप्पणीहरू