पत्रकार नेता पक्राउ

पत्रकार नेता पक्राउ
सुन्नुहोस्

नेकपा एमाले निकट प्रेस चौतारी नेपाल कन्चनपुरका अध्यक्ष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतेतीले अध्यक्ष लक्ष्मण पन्तलाई पक्राउ गरेको हो ।

पन्तले मदिरा सेवन गरेर राष्ट्र सेवक कर्मचारीसँग लफडा गरेको हुँदा समातिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए। उनका अनुसार अहिले सो विषयमा प्रहरी कार्यालयमा छलफल चलिरहेको छ ।

मदिरा सेवनपछि सडकमा गुडेका सवारी साधनलाई अवरुद्ध गरेको अभियोग पनि उनीमाथि लागेको छ । दिउँसो २ बजे स्थानीय पूर्व पश्चिम राजमार्गमा गुडिरहेको सुदूर पश्चिम प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको गाडी रोकेर साँचो थुतेपछि उनलाई पक्राउ गरिएको मालाखेती इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ ।

‘रक्सीले मातेर उनले ताण्डव नाच मच्चाएको सूचना पाएपछि पक्रेका हौं । आफूले गल्ती गरेको र एक पटकलाई माफी दिन आग्रह गरेपछि सवारी साधनका चालकसहित पन्तसँग प्रहरीले छलफल गरिरहेको छ,’ प्रहरी स्रोतले बतायो । सोही आरोपमा अखिल क्रान्तिकारीका एक जना सदस्य पनि प्रहरी हिरासतमा छन् ।

मदिरा सेवन गरेर सडक अवरुद्ध गरेको र सरकारी गाडी रोकेर चालकलाई अभद्र व्यवहार गरेकोमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाई छ । पन्तले एक पटकलाई माफ गर्न चालक र प्रहरीसँग आग्रह गरेको बताइन्छ ।

टिप्पणीहरू