व्यवहारिक शिक्षाको अनुपम नमूना : चीनको साँग्रिला किन्डरगार्टेन

व्यवहारिक शिक्षाको अनुपम नमूना : चीनको साँग्रिला किन्डरगार्टेन
सुन्नुहोस्

-उत्तर बिष्ट

विद्यालय भन्ने बितिक्कै शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने स्थलको रुपमा बुझिन्छ । तर चीनका केही विद्यालयमा विद्यार्थीहरु आफैँ सिकाई र बुझाई प्रक्रियामा स्वतस्फूर्त तवरले सहभागी हुन थालेका छन् । 

चीनको सिचुआन् प्रान्तको डोच्याङ काउन्टीमा रहेको साङ्ग्रीला द्विभाषीय कन्डरगार्टेन (शिशु विद्यालय) का विद्यार्थीहरु व्यवहारिक अध्यनमा रमाइरहेको दृश्य देख्न सकिन्छ ।

 

बालिबालिकालाई माटोका भाँडा बनाउनेदेखि रङ्गाउने सीप, विभिन्न परिकार बनाउने, आर्ट, खेलकुदका गतिविधिसँगै जोडेर दिइएको व्यवहारिक शिक्षाले उनीहरुको सिकाई र बुझाईको स्तर समग्रभन्दा उच्च पाइएको छ ।

औपचारिक शिक्षाअन्तर्गत विभिन्न किसिमका प्रयोगात्मक कक्षामार्फत् सिकाउँदै शिशु कक्षादेखि नै बालबालिकालाई उत्पादनसँग जोड्ने गरिएको विद्यालयले जनाएको छ । पाठ्यपुस्तकका कोरा ज्ञान र सिद्धान्त बाहेक यहाँका विद्यालयको पाठ्यक्रममा नै स्थानीय आवश्यकता उल्लेख गरिएको छ । सोही आधारमा विद्यार्थीहरुलाई पठनपाठन गराइएको विद्यालयकी प्रशिक्षक जेरिनले जानकारी दिइन् ।

विद्यालय उमेरका बालबालिकालाई स्थानीय वातावरणसँग घुलमिल गराउन विद्यालयमा विद्यार्थीका लागि उपयुक्त वातावरण निर्माण गरिएको छ । शिशु कक्षाका विद्यार्थीलाईसमेत प्रयोगात्मक, खेलकुद, मनोरञ्जनदेखि स्मार्टबोर्ड मार्फत् अध्यापन गराइएको छ । कक्षा कोठामा सबै विद्यार्थीलाई समान अवसर र अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै जीवनउपयोगी कक्षाहरुमा संलग्न गराएको सहजै देखिन्छ ।

 

उनीहरुलाई वाह्य वातावरणसँंग घुलमिलका लागि विद्यालयमा खुला चौर तथा विभिन्न परिवेश झल्काइएका छुट्टै खेल मैदान निर्माण गरिएको छ । पर्याप्त मात्रामा राखिएका विभिन्न किसिमका खेल सामाग्रीले खेल मैदानको उपादेयता र औचित्य स्वतः पुष्टि भएको छ ।

विद्यालयमा माटोका भाँडाहरु बनाउन सिकाइन्छ । बालबालिकाहरु पनि माटो मुछ्नेदेखि विभिन्न आकारका भाँडा बनाउने सीप निकै खुशीका साथ सिक्न निकै आतुर देखिन्छन् । त्यसपछि ती भाँडालाई सुकाउने र विभिन्न रङ्गले रङ्ग्याउने काम पनि उनीहरुले नै गर्छन् । विद्यार्थीले बनाएका त्यस्ता भाँडा र उपयोगी सामाग्री विद्यालय, विद्यालयहाता तथा अन्य क्षेत्रमा प्रयोग गरेकाले उनीहरु आफ्नो सिर्जना देखेर आफैँ दंग हुन्छन् ।

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिक्ने क्रममा आरामको निम्ति नजिकै बेडसहितका कोठाको व्यवस्था गरिएको छ । थकित भएपछि साना विद्यार्थी ती कोठाका खाटमा गएर आराम गरेको समेत देखियो । 

विद्यालयका अधिकांश विद्यार्थी आवासीय हुन् । उनीहरुको खाना, आवास, स्टेशनरी, औषधोपचारको व्यवस्था र खर्च विद्यालयले व्यहोर्छ । आफ्नै खेल मैदान र डिजिटल बोर्डसहित स्टेडियम समेत विद्यालय हातामा छ । यसैले उक्त विद्यालय सो क्षेत्रको नमूना विद्यालय भएको अधिकारीहरु बताउँछन् ।

 

चार कक्षासम्म अध्यापन हुने विद्यालयमा ३० जना प्रशिक्षक र कर्मचारी छन् । दैनिक छ पिरियड सञ्चालन हुने विद्यालयमा १४६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको निम्ति आवश्यक खर्च चीनका विभिन्न प्रान्तीय सरकारबाट प्राप्त हुने सहयोगबाट जुट्ने गरेको छ ।

टिप्पणीहरू