उपचाररत बिरामीको मृत्यु : न्यायमा ढिलासुस्ती, मेलमिलापमा जोड

उपचाररत बिरामीको मृत्यु : न्यायमा ढिलासुस्ती, मेलमिलापमा जोड
सुन्नुहोस्

बालबालिकाको उपचारको निम्ति सर्वोत्कृष्ट मानिने महाराजगञ्जस्थित  कान्ति बाल अस्पतालको लापरबाहीका कारण सोमबार एउटी अबोध बालिकाले ज्यान गुमाइन् । निरन्तरको बान्ता र ज्वरोले थलिएकी ५ वर्षीया रेजिशा गोपालीले समयमै उपचार पाउन नसक्दा हजुरबुबाकै काखमा प्राण त्यागिन् । गम्भीर अवस्थामा रहेकी बालिकालाई उपचारका लागि इर्मेजेन्सी वार्डमा पुर्याइएको थियो । 

तर, अस्पतालका कर्मचारीले टिकट लिएर लाइनमा बस्न लगाएका कारण छट्पटाउँदा छट्पटाउँदै उनको ज्यान गएको बताइन्छ । अस्पतालले उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । 

उता गुल्मी अस्पतालमा पनि भदौ १२ गते उपचाररत बालिकाको मृत्यु भयो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ की ६ वर्षीया बालिका प्रशंसा मरासिनीलाई पेट दुख्ने र बान्ता हुन थालेपछि परिवारले भदौ ११ गते अस्पताल पुर्याएका थिए ।
 
चिकित्सकहरुको सल्लाहअनुसार बालिका अस्पताल भर्ना भइन् । भदौ १२ गते बिहान एन्टिबायोटिक दिएको केहीबेरमै बालिकाको ज्यान गयो । चिकित्सकको लापरबाहीले ज्यान गएपछि बालिकाको परिवार र आफन्तले दिनभर आन्दोलन गरे । डाक्टरमाथि हातपातसमेत भयो । अस्पतालका चिकित्सक र कर्मचारीहरुले आक्रमणको विरोधमा अनिश्चितकालीन ओपिडी बन्द गरे । पीडित पक्ष थप आक्रोशित भएपछि चिकित्सकहरु आन्दोलनबाट पछि हटे । त्यहाँपनि छानबिनका लागि समिति गठन गरियो । 

कैलालीको धनगढीस्थित सहिदगेट नजिकैको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियाको निम्ति भर्ना भएका एक जना बिरामीको पनि हालै मृत्यु भयो । दुवै मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रियाको निम्ति अस्पताल पुगेका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १०, शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको भदौ दोस्रो साता ज्यान गएको हो ।  

चिकित्सकले दुवै मिर्गौलामा पत्थरी रहेको र शल्यक्रियाको सल्लाह दिएपछि भर्ना भएका चौधरीलाई शल्यक्रिया गरिएको एक घण्टापछि पेट दुख्न थाल्यो । मिर्गौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नशा काट्दा रक्तस्राव भएपछि ज्यान गएको परिवारको आरोप छ । उनीहरुले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गरे । 

यता, धनुषाको जनकपुरधामस्थित नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले शरीरभित्रै कपडाको टुक्रा छोडेपछि बिरामीले दुःख पाए । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मन्दीप यादव गत साउन ४ गते मोटरसाइकल दुर्घटनामा परेर घाइते भएपछि नारायण इएनटी एण्ड प्लास्टिक सर्जन सेन्टर पुगेका थिए । त्यहाँबाट नवजीवन अस्पताल रिफर गरिएका उनलाई शल्यक्रियाको एक सातापछि डिस्चार्ज गरियो ।

घरमा ड्रेसिङ्ग गर्दा घाउबाट पिप आउने, निकै दुख्ने भएपछि उनी जनकपुरस्थित मन्दीप प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको बताइन्छ । यी हामी वरपरका केही पछिल्ला उदाहरण मात्रै हुन् । डाक्टरको लापरबाहीका कारण बिरामीले ज्यान गुमाएका घटना निरन्तर बाहिर आइरहेका छन् । अस्पताल तोडफोड, आन्दोलन र चिकित्सकमाथि हातपात गर्ने क्रम पनि जारी छ । यद्यपि, बिरामीका आफन्तले गरेको संघर्ष निश्कर्षमा नपुगी तुहिने गरेको छ । 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद– १९ मा इलाजसम्बन्धी कसूरबारे उल्लेख छ । इजाजतपत्र प्राप्त नगरेको व्यक्तिले चिकित्सा सेवा दिन, मानव शरीरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा सिफारिस गर्न पाउँदैनन् । त्यसो गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।  

दफा २३२ मा लापरबाही वा हेलचेक्रयाईं गरी इलाज गर्न नहुने उल्लेख छ । भनिएको छ, ‘कानुनबमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा गम्भीर लापरबाही वा हेलचेक्रयाईं गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन ।’

चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै, अंगभंग भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ । तर, अधिकांश घटना अस्पतालमै सामसुम पार्ने गरिएको छ । प्रमाणको अभावका कारणले पीडितले न्याय पाउँदैनन् । पीडित पक्षलाई कानुनी प्रक्रियाबारे जानकारी नहुने नागरिक अगुवाहरुको भनाइ छ । पहिले आन्दोलन गर्ने पछि लेनदेनमा मिलाउने गरिएको छ । 

न्यायमा ढिलासुस्ती 

कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा वर्षौंपछि फैसला भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि ८ महिने बालक आलोक बराललाई २०७३ असार २२ गते कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । 

चिकित्सकले झुक्किएर अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’ को सुई लगाइदिएपछि बच्चामा श्वास फेर्न गाह्रो हुने, दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखियो । बालकको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि स्वास्थ्यकर्मीले राति २ बजे अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल रिफर गरेका थिए । बालकलाई २८ दिन भेन्टिलेटरमा राखेर उपचार गरियो । 

त्यसको १८ महिनापछि बच्चाको खुट्टा नचल्ने, कान नसुन्ने, आँखाको नसा सुकेर आँखा नदेखिने समस्या देखियो । बालकका बुबा ध्रुवकुमार विश्वकर्माले उक्त सुईले आफ्नो छोराको स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै मुद्दा दायर गरे । 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले २०७९ माघ २५ गते बालकलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो । फैसलाको पूर्णपाठ भने गत साउनमा मात्रै प्रकाशित भएको छ । पीडितले सम्बन्धित निकायमा उजुरी गरेपनि न्याय पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ । यसकारण पीडित उजुरी नै गर्न चाहँदैनन् । नेपाल मेडिकल काउन्सिलले समिति गठन गरेर झुल्याउने गरेको पीडितहरु बताउँछन् । 

मेलमिलापमै टुंगाइन्छ : अधिवक्ता तिमिल्सना 

उपभोक्ता हित संरक्षण मञ्च, नेपालका महासचिव एवम् अधिवक्ता विष्णु तिमिल्सना मानव स्वास्थ्यमाथि खेलबाड भइरहेको बताउँछन् । चिकित्सकहरु आफ्नो पेशाप्रति जिम्मेवार नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने उनको भनाई छ । 

‘चिकित्सा क्षेत्रमा धेरै बेथिति छ । सरकार देखेर पनि नदेखेझँै गरिरहेको छ । चिकित्साजस्तो संवेदनशील क्षेत्रमा समेत बन्द हड्ताल गरिन्छ । त्यही भएर सरकार हात बाँधेर बसेको हो । लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने हो । बिडम्बना, मेलमिलापमै टुंगाइन्छ’, उनले भने । 

मञ्चमा परेका उजुरीमध्ये ८० प्रतिशतमा मिलापत्र गर्ने गरिएको महासचिव तिमिल्सनाको जिकिर छ । पीडितहरुले कानुनी प्रक्रियामा जानुभन्दा मेलमिलाप गर्नु नै सहज ठान्ने गरेको उल्लेख गर्दै उनले भने, ‘अदालतमा गएर झण्झट खेप्नु र पैसा खर्च गर्नुभन्दा बरु मिलापत्र गरौं भन्छन् पीडितहरु । त्यसैले पहिले उजुरी हाल्छन् त्यसपछि सम्पर्कमा नै आउँदैनन् । कानुनी प्रक्रियामा जान चाहनेहरुको मुद्दा हामी आफैंले लडिदिएका छौं । अधिकांंश अघि बढ्न मान्दैनन् ।’

जनमानसमा बुझाइ गलत भयो : मेडिकल काउन्सिल 

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारी जनमानसमा गलत बुझाइ भएको बताउँछन् । चिकित्सकीय क्षेत्रमा लापरबाही र त्रुटि छुट्टाछुट्टै भएको उल्लेख गर्दै उनले सबैले लापरबाही भन्ने गरेकाले समस्या परेको बताए । 

‘एकथरी औषधि दिने ठाउँमा अर्को दिएमा त्यो लापरवाही हुन्छ । उपचारपछि स्वास्थ्यमा कुनै जटिलता देखियो भने त्यो त्रुटि हुन्छ । सबैलाई लापरबाही भन्न मिल्दैन । चिकित्सकले प्रयास गर्दागर्दै पनि कहिलेकाँही त्रुटि हुन जान्छ । तर, लापरबाही भनेर हुलदंगा मच्चाइन्छ’, उनले भने । 

उनका अनुसार चिकित्सक संलग्न भएको घटना मात्रै काउन्सिलले हेर्ने गरेको छ । क्षतिपूर्ति र फौजदारी काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने उनले जानकारी दिए । उजुरी परेपछि तीन जना विशेषज्ञको टोली राखेर छानबिन गर्ने डा.अधिकारीको भनाइ छ । हालसम्म चिकित्सकको लाइसेन्स खारेज भने नगरिएको उनले बताए ।

टिप्पणीहरू