भारतविरुद्धको खेल हेर्न जनकपुरमा आधा दिनको छुट्टी

भारतविरुद्धको खेल हेर्न जनकपुरमा आधा दिनको छुट्टी

नेपाल र भारतबीच हुन लागेको क्रिकेट प्रतियोगिताको अवसरमा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा आधा दिनको छुट्टी दिएको छ । 

श्रीलंकाको क्याण्डीमा आज दिँउसो सवा ३ बजेदेखि हुन लागेको खेल हेर्नका लागि दिँउसो २ बजेदेखि विद्यालय बन्द गर्न लागिएको हो । सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै उपमहानगरपालिकाले २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । 

‘जनकपुर उपमहानगरपालिकाअन्तर्गत रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरुमा खेल भावना र एसिया कपमा नेपाल र भारतसंग हुने खेलमा नेपाल गौरवान्वित महसुश गरेकोले टीमको हौसला बढाउन मिति २०८०–५–१८ गतेका दिन २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन’, पत्रमा उल्लेख छ । 

पहिलो पटक एसिया कप खेलिरहेको नेपालले गत साता पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।

टिप्पणीहरू