पत्रकार महासंघको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

पत्रकार महासंघको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी
सुन्नुहोस्

प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला समितिले नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरण सन्तोषजनक नभएको जनाउँदै समितिले आज महासंघको कार्यालयमा ताल्चा लगाएको हो । आफ्नो संस्थासँग आवद्ध पत्रकारहरुलाई छानेर विभिन्न बहानामा निकालिएको चौतारीको आरोप छ । 

‘प्रेस चौतारी नेपालमा आबद्ध सञ्चारमाध्यमका नयाँ सदस्य छानिछानी विभिन्न बहाना बनाएर दशकौंदेखि पत्रकारिता गरिरहेका र विभिन्न सञ्चारमाध्यममा क्रियाशील रहेका पत्रकारहरुलाई अपमानजनक ढङ्गले सदस्यताबाट वञ्चित गर्ने नेपाल पत्रकार महासंघ, काठमाडौंको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण व्यवहार भएको हाम्रो ठहर छ’, समितिले जनाएको छ । 

त्यस्तै, भदौ १२ गते सार्वजनिक नामावलीप्रति पनि आपत्ति जनाइएको छ । महासंघको काठमाडौं शाखाले नयाँ सदस्यता विवरण कार्यलाई गत जेठ १० गतेदेखि विचाराधीन अवस्थामा राखेको उल्लेख गर्दै समितिले एकाएक प्रदेशमा पठाउनुले शंका उब्जाएको भनिएको छ । चौतारीले गैर पत्रकारलाई सदस्यता वितरण गरेको र क्रियाशील पत्रकारलाई वञ्चित गरेकोप्रति खेद प्रकट गर्दै प्रक्रिया पुगेका पत्रकारलाई सदस्यता नदिँदासम्म ताल्चा नखोल्ने अडान लिएको छ ।
 

टिप्पणीहरू