चीनको नयाँ नक्साबारे प्रधानमन्त्रीले बेइजिङमा बोल्ने

चीनको नयाँ नक्साबारे प्रधानमन्त्रीले बेइजिङमा बोल्ने
सुन्नुहोस्

नेपालको भू–भागसमेत समेटेर चीनले नयाँ राजनीतिक नक्सा प्रकाशन गरेकोप्रति प्रधानमन्त्रीले चिनियाँ नेताहरुलाई भेटेरै नेपालको धारणा राख्ने माओवादी केन्द्रका एक नेताले बताएका छन् । 

नेपालको सार्वभौमिकता ख्याल नगरी नयाँ नक्सा जारी गरेको भन्दै यसमा सरकारको धारणा स्पष्ट हुनुपर्ने आवाज उठिरहेका बेला पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी गराएका हुन् । 

‘चीनले जारी गरेको नयाँ नक्सामा जसरी नेपालको चुच्चे नक्साको कुरा उठेको छ, त्यसमा कूटनीतिक माध्यामबाट समाधान गर्नुपर्छ’, पार्टी मुख्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यस विषयमा पहिलाको सरकारलाई जानकारी दिएको छ भन्ने पनि छ । सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा त्यसको समाधान गर्नुहुन्छ होला ।’

त्यस्तै, प्रवक्ता सापकोटाले नेपालको संसदले अनुमोदन गरेको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको पनि बताए । आफैँ सभामुख भएका बेला अनुमोदन भएको एमसीसी सम्झौता सोहीअनुसार अघि बढ्ने विश्वास गरेका उनले सोही कारण विप्लप नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट बाहिरिने सम्भावना नरहेको पनि बताए । 

‘विप्लवजीहरुले जसरी एमसिसीको विरोध गरिरहनुभएको छ । यस विषयमा उहाँहरुसँग प्रधानमन्त्रीको निरन्तर कुराकानी भइरहेको छ’, सापकोटाले भने ।

टिप्पणीहरू