भाग्यो कि भगाइयो यो मान्छे

भाग्यो कि भगाइयो यो मान्छे
सुन्नुहोस्

‘ठूला–ठूला’ मुद्दामा कतिपय ‘ठूलै’ मान्छे पनि परेका छन् । तर, पर्नुपर्ने भनिएका ‘ठालु’ हरू जोगाउने काम पनि भइरहेको बुझिन्छ ।

जस्तो– नक्कली भुटानी प्रकरणका प्रतिवादी बेचन झा अहिलेसम्म समातिएका छैनन् । उनी समातिए भने कांग्रेस नेता कृष्ण सिटौलादेखि आरजु राणासम्म तानिने सम्भावना प्रवल छ । बेचनको ठेगाना दाङ हो, उमेर ५१ वर्ष । पक्राउ परेका रामशरण केसीबाट २०७८ मंसिर ८ गते नयाँबानेश्वरस्थित हिमालयन ह्वाइट हाउस कलेज अगाडि बेचनले दुई करोडको चेक लिएका थिए । त्यसबापत भुटानी प्रकरणको निर्णय मन्त्रिपरिषद्बाट गराउनुपर्ने वचन थियो ।

काठमाडौं धापासीका बासिन्दा रामशरणको बयानबाट बेचनको संलग्नता पुष्टि पनि भयो । तर, जति खोज्दा पनि उनी भेटिएनन् । आफैंले आफ्नो घर दाङ भनेका थिए । तर, दाङभरि खोज्दा पनि घर–ठेगाना फेला परेन । अझैसम्म बेपत्ता छन् । प्रहरीले चाहँदा वा अनुसन्धानका विधिहरूमा प्रवेश गर्दा बेचन समातिन नसक्ने थिएनन् । तर, उनी समातिँदा ठालुहरूको कनेक्सन भेटिने भयका कारण भगाइएका छन् । भनिन्छ, उनले देश छाडिसके । प्रहरीहरूको दावी छ, उनी आरजुभन्दा बढी सिटौलासँग सम्पर्कमा रहेका व्यक्ति हुन् ।  

भागेका प्रतिवादीमध्ये एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) का छोरा प्रतीक थापा हङकङमा रहेको सूचना प्रहरीसँग छ । बादलकै पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई पुर्पक्षका लागि जेल चलान भएका छन् । सोही मुद्दाका प्रतिवादी उनका छोरा निरज भने अमेरिकामा लुकेका छन् । बालकृष्ण खाँणका पिएसओ असई तेजबहादुर सिल्वाल पनि उक्त मुद्दामा मुछिएलगत्तै भागेर लण्डन पुगेका छन् । उनी समातिँदा बालकृष्ण पत्नी मञ्जु खाँणका पोल खुल्ने प्रहरीको अनुमान छ । यो काण्डमा प्रहरीलाई चक्मा दिएर टोपबहादुर भाग्न खोजेका थिए, तर सकेनन् । प्रतिवादीमध्ये दुईजना मानिस कुनै पनि बेला समातिन सक्छन् । ती हुन् थापा थरका दम्पति । भनिन्छ, उनीहरू काठमाडौंमै छन् । तर, संलग्नताको स्तर एकदमै न्युन छ । उक्त प्रकरणमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल नियतबसभन्दा पनि लहलहैमा परेका हुन् । उनी अपराधिक नियत भएका व्यक्ति हैनन् । 

अर्कातिर, अनुसन्धान गरिनुपर्ने व्यक्ति र विषयमाथि अनुसन्धान नगरी विमानस्थल भन्सार छलेर ल्याइएको सुन प्रकरण टुंगोमा पुर्‍याइँदैछ । भनिन्छ, यस्ता घटनामा राज्य संयन्त्र नमिली संगठित अपराध हुँदैन । त्यसमा जोडिएका चिनियाँ नागरिक त पेटी ठेकेदारझैं हुन् । 

टिप्पणीहरू