तीजमा खर्चिला कार्यक्रम नगर्न सिडियो कार्यालयको आग्रह

तीजमा खर्चिला कार्यक्रम नगर्न सिडियो कार्यालयको  आग्रह

जिल्ला प्रशासन कार्यालय, धादिङले तीजमा तडकभडकका कार्यक्रम नगर्न सतर्क गराएको छ । 

विगत केही समयदेखि चाडबाड मनाउने नाममा सामाजिक विकृति बढ्दै गएको उल्लेख गर्दै प्रशासनले खर्चिला कार्यक्रम र उच्छृङ्खल क्रियाकलाप नगर्न भनेको हो । आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्बर्द्धन गर्न मितव्यायी तरिकाले चाडपर्व मनाउन समेत सुझाएको छ ।

आज सूचना प्रकाशित गर्दै सिडियो कार्यालयले सार्वजनिक स्थलमा मेला, महोत्सवलगायतका कार्यक्रम गर्न पूर्वस्वीकृति लिनुपर्ने समेत जनाएको छ ।

‘आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्बर्द्धन गर्न, मितव्यायी एवं सभ्य तरिकाले चाडपर्व मनाउन र खर्चिला, भड्किला र उच्छृङ्खल किसिमका कार्यक्रमहरु नगर्न–नगराउन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध छ’, सूचना उल्लेख छ । 

त्यस्तै, चाडपर्वको मौका छोपेर कृत्रिम अभाव, कालोबजारी नगर्न भनिएको छ । चाडपर्वलाई सभ्य, मर्यादित बनाउन तथा सामाजिक विकृति र अपराध नियन्त्रणका लागि प्रशासनले जिल्लाका राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, महिला सञ्जालसँग सहयोगको अपिल गरेको छ ।

कसैले सूचनाको बर्खिलाप हुने गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू