बैंक र विद्यालयका कर्मचारीको सिंहदरबारमा बथान

बैंक र विद्यालयका कर्मचारीको सिंहदरबारमा बथान

बैंकका कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डका मन्त्रीहरूले सल्लाहकारदेखि स्वकीयसम्म बनाएर भित्र्याउन थालेपछि आतंक मच्चिएको छ, सिंहदरबारमा । सुशासन ऐन र नियमअनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री र सञ्चारमन्त्रीबाहेकले प्रेस सल्लाहकार राख्न नपाइने भनिए पनि अधिकांशले अधिकृत तहको तलब–सुविधा खाने गरी सल्लाहकार नियुक्त गर्दै आएका छन् । 

विभिन्न आयोजना तथा परियोजनाबाट तलब दिने गरी मन्त्रीको प्रेस सल्लाहकार राख्ने फेसन चलेको छ । नियमसंगत ढंगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तलब बुझ्ने गरी राख्न पाइने उपसचिव एक जना, शाखा अधिकृत, कम्प्युटर अधिकृत, कार्यालय सहयोगी, ड्राइभर मात्र हो । यसमा प्रेस सल्लाहकारको पद छैन । तर, प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठकोमा कमल गिरी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकोमा डिपी उपाध्यायलाई खटाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतकोमा प्रकाश थापा, शहरी विकासमन्त्री सीता गुरुङकोमा कान्तिपुरका प्रकाश धौलाकोटीले काम गरिरहेका छन् । तर, नियुक्तिपत्र लिएका छैनन् । परराष्ट्रमन्त्री एनपी साउदको काम केशव साउदले हेर्दै छन् ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतसँग रामचन्द्र दुलाल छन् भने निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुद्ध योञ्जन, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भाञ्जा जीवन बिसी, कृषिमन्त्री बेदुराम भुसालले दीपक अनुरागीलाई सघाइरहेका छन् । शिक्षामन्त्री अशोक राईका प्रेस सल्लाहकार विजय चाम्लिङ छन् । साल्पा अनलाइन चलाउँदै आएका उनले मन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै कर्मचारीलाई यो गरिदे वा त्यो गरिदेको नाममा थर्कमान पार्न थालेको कर्मचारीको गुनासो छ । दरबन्दीबिनाका प्रेस सल्लाहकारले बढीमा शाखा अधिकृतसम्मको तलब खाँदै आएका छन् ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले नबिल बैंकको ब्राञ्च म्यानेजरलाई ल्याएर आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । रामेश्वर आचार्य स्वकीय सचिव, प्रेस हेर्ने गरी रामचन्द्र दुलाल, प्रशासन सहायक दिपक दुलाल र कर्मचारीतर्फ निजी सचिवको जिम्मेवारीमा उपसचिव मोहन निरौला छन् । त्यहाँँ उपस्वकीय सचिवको रुपमा विक्रम श्रेष्ठलाई सिन्धुपाल्चोकको स्कुलबाट तानिएको छ । 

उता, उनै बस्नेतको सिको गर्दै ऊर्जामन्त्री शक्ति बस्नेतले बैंकका कर्मचारीलाई आफ्नो सचिवालयमा भिœयाएका छन् । ११ साउनदेखि कर्मचारी संकेत नम्बर १३०९५ भएका गगन लोहारलाई राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय कर्णालीबाट मन्त्रीको सचिवालयमा तानिएको हो । अख्तियारले भने यसलाई अनैतिक काम भन्ने प्रतिक्रिया दिएको छ । 

– उत्तमकुमार विश्वकर्मा, काभ्रे
 

टिप्पणीहरू