सुन प्रकरणमा माओवादी नेतामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री

सुन प्रकरणमा माओवादी नेतामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायत प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याउनु भएको छ । 

नेपाली काँग्रेसको रुपान्तरण अभियानका अगुवासँग आज बिहान कुराकानी गर्दै उहाँले कुनैपनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने विश्वास दिलाउनुभएको हो । सुुन तस्करी प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला प्रधानमन्त्री प्रचण्डले उनीहरुमाथि पनि अनुसन्धान हुने प्रष्ट पार्नुभएको बताइएको छ ।

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)लाई निर्देशन दिएको जानकारी दिनुभएका प्रधानमन्त्रीले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताउनुभयो । 

चिनियाँ तस्करले इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ल्याएको नौ किलो सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा संलग्न रहेको आशंका गरिएको छ । तस्करसँग पटक–पटक फोन सम्पर्क भएको तथ्य खुलेपनि सत्तारुढ दलको नेता भएकै कारण अनुसन्धान नगरिएको आरोप सरकारमाथि लागिरहेको छ ।

टिप्पणीहरू