माओ, दङ हुँदै सिसम्मको चीन

माओ, दङ हुँदै सिसम्मको चीन

जनताले इतिहास निर्माण गर्छन् । अहिले चीनमा देखिएको उन्नति र विकास, चलिरहेको ‘ल¨ मार्च’को नतिजा हो । प्राचीन कालमा चीनले कागज बनाउने प्रविधि, मादक पदार्थ, छापाखाना, मुद्रा, चङ्गा, बारुद, दाँत माझ्ने ब्रस, छाता, कम्पास, मेसिन गन, काँस धातु चियालगायत अनेकौं विषयको आविष्कार गरेको थियो । १६ औं शताब्दीसम्म संसारमा भएका महत्वपूर्ण ३०० नवप्रवर्तनहरुमध्ये १७३ आइटम चिनियाँले गरेको रेकर्ड छ ।

चिनियाँ नवप्रर्वतनबारे ब्रिटिश दार्शनिक फ्रान्सिस बेकोनले एकपटक भनेका थिए, ‘छापाखाना, बारुद र चुम्बकले संसारभरका सबै चिजहरुको स्वरुप र अवस्थामा परिवर्तन ल्यायो । र, कुनै पनि साम्राज्य र कुनै पनि पन्थले यी यान्त्रिक आविष्कारहरु भन्दा मानव मामिलामा ठूलो शक्ति र प्रभाव पारेको छैन । विश्वमा चीनलाई आर्थिक शक्तिको रुपमा उदय गराउने भूमिकामा ‘जादुई शहर’ सांघाईको योगदान छ । स्वच्छ, सफा, हराभरा र औद्योगिक शहरको चिनारी पाएको सांघाईमा २६ करोडको बसोबास छ । र, सांघाईमा बुर्जखलिफापछिको संसारकै अग्लो टावर छ, अनेकन औद्योगिक स्थलहरु छन् । संसारकै सुपर फास्ट चल्ने ट्रेन छ । त्यसो त याङ्त्से नदी किनारमा हुर्काइएको सांघाई कलात्मक गगनचुम्बी महलको शहर हो । बत्तीमा किरा झुम्मिएजस्तै सांघाईमा रात परेपछि पर्यटक झुम्मिन्छन । 

सन् १९२१ मा ५० जनाले शुरु गरेको चिनियाँ कम्युनिष्ट पार्टी अहिले संसारकै सबैभन्दा बढी समर्पित सदस्य भएको पार्टी मानिन्छ । माओ देजुङ विचाराधारा, दङ् सियाओ पेङको सिद्धान्त र सि जिनपिङको व्यावहारिक कार्यान्वयनले ‘गरीब चीन समृद्ध चीन’ बनेको छ । सन् १९४९ मा जव जनगणतान्त्रिक चीनको निर्माण भयो, त्यसबेला माओले पार्टी र नेतृत्वको कार्यशैलीबारे भनेका थिए, ‘जब पियानो बजाइन्छ, त्यसबखत दश औंलाहरु गतिमा हुन्छन् र तीमध्ये केही औंलामात्र चल्छन्, अरु थाती राखिन्छन् । तर यदि ती सबै दश औंला एकै पटक थिचियो भने कुनै लयवद्ध धुन निस्किँदैन । राम्रो संगीत उत्पादन गर्न, दस औंलाहरुलाई तालबद्ध र समन्वयात्मक तवरले चलाउनु पर्छ ।’ हो, चीनमा अहिले नेता माओको यो पियानो बजाउने कला प्रदर्शनी भइरहेको छ । त्यसैले त चीनको विकासलाई जादुई विकासको संज्ञा दिन थालिएको छ । संसारभर नाम चलेका ब्राण्डका कलकारखानाहरु यसैका प्रमाण हुन् । 

नागरिक केन्द्रित विकास, नागरिकको जीवनशैलीमा व्यापक सुधार अनि स्रोतहरुको अधिकतम परिचालन र राजनीतिक ढृढ इच्छा शक्ति चिनियाँ कम्युनिष्ट पार्टीको लोकप्रियताका मुख्य आधार हुन् । र, सिको नेतृत्वले सन् २०१३ मा थालेको बिआरआई, त्यसपछिका वर्षमा ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जिडिआई), ग्लोबल सेक्यूरिटी इनिसियटिभ (जिएसआई), ग्लोबल सिभिलाइजेशन इनिसियटिएभ (जिसिआई, २०२३) देखिन्छ । चिनियाँ राष्ट्रपति सिको ग्लोबल गभर्नान्सका कार्यक्रमको रुपमा पियानो बजाउन चालिएका औंलाहरु जस्तै अघि यी योजनाहरु सारिएका छन् । राष्ट्रपति सि भन्छन्, ‘चीन बहुपक्षीयताप्रतिको आफ्नो धारणामा अपरिवर्तित छ । बहुपक्षवाद शान्ति र विकासको प्रभावकारी माध्यम हो ।

आर्थिक शक्तिको रुपमा उदाएको चीनको यो नीति हेर्दा ‘महासागर विशाल छ किनभने यसले सबै नदीहरुलाई स्वीकार्दछ ।’ भन्ने चिनियाँ उखानलाई चरितार्थ गर्न लागेझैं लाग्छ ।
 

टिप्पणीहरू