माधव र बाबुरामलाई बयान होइन,कागजात गराइएको हो :सिआइबी

माधव र बाबुरामलाई बयान होइन,कागजात गराइएको हो :सिआइबी
सुन्नुहोस्

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको पछिल्लो अनुसन्धान लगभग पूरा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सम्पूर्ण प्रक्रिया पूरा गरेर आज अभियुक्त सबैविरुद्ध मुद्दा दायर गर्ने तयारी भैरहेको छ ।

अस्ति र हिजो बाँकी प्रक्रिया पूरा गरेर हिजै अपरान्हसम्ममा मुद्दा दायर गर्ने योजना केही बयान र कागजातका कारण आजसम्म धकेलिएको हो । पूर्वमन्त्री बयोवृद्ध चन्द्रदेव जोशीलाई हिजो बेलुकीपख सिआइबीमा ल्याएर बयान दिन लगाइयो भने हिजै काँग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिइएको छ ।

‘उहाँहरुलाई त्यस विषयमा केही नगर्ने आशयले कागजात गराइएको हो । त्यो भनेको सिआइबीले उहाँहरुसँग जानकारी मात्र लिएको हो ।किनभने एक त यसवारे पहिले नै अख्तियारले मुद्दा नचल्ने निर्णय गरिसकेको छ,दोश्रो उहाँहरुलाई समात्न अदालतले पुर्जी जारी गरेको अवस्था नै होइन ।’

आज सबै कागजात सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरिएको स्रोतको दाबी छ । ‘अनुसन्धान थालेको ५६ दिन भयो । अब धेरै समय नभएकाले आज दिउँसोसम्ममा सरकारी वकिलको कार्यालयलाई कागजात हस्तान्तरण गर्नैपर्छ । भ्याएसम्म मुद्दा पनि दायर गर्ने सोच छ ।’

तर,पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको हकमा भने सिआइबीले कुनै बयान नलिएको प्रष्ट पारेको छ । उहाँहरुको निवास र कार्यालयमा पुगेर कागजात गराइएको बताइन्छ । अभियुक्तसँग गरिने कुराकानीलाई बयान र साक्षीबाट कागजात बनाउने हकमा छुट्टाछुट्टै कानुनी भाषा रहेको स्रोतले बतायो ।

 

 

टिप्पणीहरू