टोपबहादुर र बालकृष्णलाई तनाव

टोपबहादुर र बालकृष्णलाई तनाव

थुनिएकाहरु छुट्ने जुक्ति खोज्दैछन् । धरौटीमा छुटेकाहरुलाई फेरि भित्र हालियोस् भन्दै अर्को निवेदन पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा यस्तो भएको हो । 

उक्त प्रकरणमा पुर्पक्षका लागि असार १ गते जेल चलान भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहितका सम्पूर्ण प्रतिवादीले अदालती बन्दोबस्ती अन्तर्गत ७३ नम्बरको सुविधा माग गर्दै उच्च अदालत पाटनमा निवेदन पठाएका छन् । यस सुविधाअनुसार अदालतले मनासिव ठानेमा प्रतिवादीहरुलाई थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने अधिकार दिनसक्छ । केही दिनअघि मात्रै दर्ता भएका ती र त्यस्ता निवेदनहरुको सुनुवाई गर्ने पालोका रुपमा बिहीबारलाई तोक्ने गरिएको छ । यद्यपि, थुनुवाले माग गर्दैमा ७३ नम्बरको सुविधा दिन अदालत बाध्यकारी छैन ।

अर्कातिर, जिल्ला अदालतले धरौटीमा छाडेका टंक गुरुङ र लक्ष्मी महर्जन भागी जान सक्ने आशंका गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत गुहारेको छ । उक्त प्रकरणमा हालसम्म फरार हुनेमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा र बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज प्रतीक हुन् । उनीहरुको हकमा सरकारी वकिलको कार्यालयले ‘म्याद जारी गरिपाऊँ’ भनी जिल्ला अदालतमा प्रक्रिया अगाडि बढाएको छ ।

यसअनुसार, म्याद तामेलीको प्रक्रिया पूरा भएपछि त्यस अवधीमा हाजिर भए पर्खिने, नत्र पत्रिकामा सूचना छाप्नेदेखि अनेक प्रक्रियाबाट उनलाई कानुनी दायरामा ल्याउनुपर्ने हुन्छ । अर्कातिर, जिल्ला अदालतको आदेशबमोजिम उच्च अदालतले धरौटी तोक्न, पुर्पक्षमा राख्न, नराख्नजस्ता फैसला गर्नसक्ने व्यवस्था छ ? जिल्लाबाट भएको आदेश मिलेको छ कि छैन भन्नेमा बहस हुन्छ । तर, कसुरबाट तत्काल सफाई पाउने कुनै गुञ्जायस छैन । 

टिप्पणीहरू