प्रमुख प्रशासकीय अधिकृतहरु भटाभट भ्रष्टाचारमा तानिए

प्रमुख प्रशासकीय अधिकृतहरु भटाभट भ्रष्टाचारमा तानिए

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित उनका छोरा पवनकुमार अर्याल, पालिका सदस्य राजेश हरिजन, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादव, वडासचिव गुलाव यादव, सम्बृद्ध नेपाल ईनर्जीका प्रोपाइटर विनोदबाबु तिवारी र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरीश यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

गाउँपालिकाबाट आर्थिक वर्ष २०७७÷७८ मा वडानं. ३, ६ र ७ मा गरिएका विकास निर्माणका कार्य, पालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य र सामाजिक विकासतर्फको सीपमूलक तालिमहरु (सिलाई कटाई) सम्पन्न गरी अन्तिम भुक्तानी दिँदा १३ लाख ४५ हजार रुपैयाँ उनीहरुको मिलेमतोमा भ्रष्टाचार गरिएको पुष्टि भएको अख्तियारको दाबी छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम १३ लाख ४५ हजार बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

यसअघि पनि विभिन्न स्थानीय तहका प्रशासनिक अधिकृतहरुमाथि भ्रष्टाचारको मुद्दा लागेको छ ।

टिप्पणीहरू