आँखा पाक्ने रोगको प्रकोप बढ्दै, लमजुङ्गमा दुई हजार बढी संक्रमित

आँखा पाक्ने रोगको प्रकोप बढ्दै, लमजुङ्गमा दुई हजार बढी संक्रमित

आँखा पाक्ने रोग मुलुकको विभिन्न जिल्लामा फैलिएको छ । लमजुङ्गमा पनि आँखा पाक्ने रोगका संक्रमित ह्वात्तै बढेका छन् । 

जिल्लाका आठ वटै पालिकामा यो रोग फैलिएको छ । हालसम्म दुई हजार ७३३ जनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङ्गले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै संक्रमण सुन्दरबजार नगरपालिकामा फैलिएको छ । त्यहाँका ९१२ स्थानीयमा आँखा पाक्ने रोगको संक्रमण देखिएको छ । 

त्यस्तै, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८, बेंसीशहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउँपालिकामा ९३, क्होलासाथोर गाउँपालिकामा ५३ र दूधपोखरी गाउँपालिकामा २५ जना संक्रमित भेटिएका छन् । 

रोगले बुढाबुढीदेखि लिएर बालबालिकासम्मलाई प्रभावित बनाएको जनस्वास्थ्य निरीक्षक दीपक बम्जनले बताए । विद्यालय बालबालिकामा धेरै संक्रमण देखिएपछि स्थानीय तहहरुले धमाधम पठन–पाठन बन्द गर्न थालेका छन् । 

कसरी सर्छ कन्जन्टिभाइरिस ? 

‘एडियो भाइरस कन्जन्टिभाइरिस’ पनि भनिने यो रोग आँशुको माध्यमबाट सर्छ । संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन्छ । यो रोगको लक्षण देखिन चार दिनदेखि १२ दिन लाग्छ । 

आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराएर मात्र औषधीको प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ । त्यस्तै, रातो भएको आँखालाई बरफले सेकाउन पनि सकिन्छ । 

एउटा आँखामा प्रयोग गरेको बरफ अर्को आँखामा प्रयोग गर्नुहुँदैन् । त्यस्तै, संक्रमण देखिएकाले आँखा माड्ने, पानी छ्याप्ने, जथाभावी औषधीको प्रयोग गर्नेलगायतका कार्य गर्नुहुँदैन ।

 

टिप्पणीहरू