डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान

डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान
सुन्नुहोस्

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालेको छ । उपमहानगरपालिकाले आजदेखि १९ वटै वडामा एकसाथ सो अभियान शुरु गरेको हो । 

हिजो बसेको बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले बताए । उनका अनुसार उपमहानगरपालिकाले नियमित रुपमा यो अभियान सञ्चालन गर्नेछ । ‘

डेंगुको संक्रमण फैलिन नदिनका लागि सबै वडामा एकसाथ यो अभियान सुचारु गरेका छौं । यसका लागि आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्रीहरु तयारी अवस्थामा राखिसकेका छौं । फिभर क्लिनिकसमेत सञ्चालन गर्ने तयारी गरिएको छ’, नगरप्रमुख पाण्डेले भने । 

डेंगु ‘एजिस एजिप्टाई’ नामक पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । 

यसका लागि पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, आम नागरिकलाई रोगको विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किनेलगायतका काम गर्नुपर्छ । रुपन्देहीमा हालसम्म ४० जना बढीमा डेंगु संक्रमण देखिएको छ ।

 डेंगुको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका छन् ।
 

टिप्पणीहरू