डेंगु संक्रमण रोक्न चित्रकला प्रतियोगिता, परामर्शका लागि हटलाइन नम्बर

डेंगु संक्रमण रोक्न चित्रकला प्रतियोगिता, परामर्शका लागि हटलाइन नम्बर

काठमाडौं महानगरपालिकाले डेंगु संक्रमणको सम्भावित महामारी रोकथाम तथा नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान थालेको छ । महानगरपालिकाले सबै वडामा यो अभियान शुरु गरेको हो । 

सो क्रममा आज महानगरपालिकाले पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किनेलगायतका काम गरेको छ । त्यस्तै, माइकिङ गरेर रोग नियन्त्रणका लागि सहभागिता जनाउन सम्पूर्ण महानगरबासीमा आह्वानसमेत गरेको छ ।

वर्खायाममा लामखुट्टेको टोकाइबाट बच्न अत्यन्तै आवश्यक रहेको महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । 

‘वर्खायाममा संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय एडिस जातका लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्ता लामखुट्टेलाई फैलिन दिनुहुँदैन् । कुनै पनि ठाउँमा पानी जम्न दिनुहुँदैन् । सफा पानीमा बस्ने यो जातको लामखुट्टेको बासस्थान नै नाश गरिदिनुपर्छ’, उनले भने । 

महानगरपालिकाले डेंगुसम्बन्धी सचेतना जगाउनका लागि सरकारी तथा संस्थागत विद्यालयमा चित्रकला प्रतियोगिता गर्ने निर्णय गरेको छ । विद्यार्थीमार्फत अभिभावकसम्म संक्रमणका बारेमा चेतना फैलाउन विद्यालयस्तरीय कार्यक्रम गर्न लागिएको हो । 

प्रतियोगिताका लागि विद्यालयहरुले आन्तरिक प्रतिस्पर्धा गराएर एकजना विद्यार्थी स्रोत केन्द्रमा पठाउनुपर्छ । स्रोत केन्द्रमार्फत छनोट भएका विद्यार्थीका लागि भदौ १ गते महानगरस्तरीय प्रतियोगिताको आयोजना गरिएको छ । 

त्यस्तै, महानगरपालिकाले टेलिफोनमार्फत डेंगु रोगको परामर्श लिने व्यवस्थासमेत मिलाएको छ । हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर परामर्श लिन सकिनेछ । साथै, १०२ मा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू