विश्व शक्तिको बदलिँदो सन्तुलन र चीनको भूमिका

विश्व शक्तिको बदलिँदो सन्तुलन र चीनको भूमिका

विश्व आर्थिक शक्तिको रुपमा उदाएको चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) क्षेत्रीय विकासको समष्टिगत अवधारणामा आधारित देखिन्छ । यसले सबै राष्ट्रको सम्मान र समान आर्थिक विकासको एजेन्डा बोकेको देखिन थालेको छ । आर्थिक रुपमा कमजोर विकासोन्मुख राष्ट्रहरुको समृद्धिको एजेन्डालाई अघि बढाउने कार्य योजना यसमार्फत् अघि सारिएको छ ।

विकास र समृद्धिका आधारमा धेरै पछाडि परेकाहरु जसको ‘ताते हिँडाइ’ मा छन् तिनमा गति प्रदान गर्न सहायक देखिन्छ । किनभने जहाँ ‘रोड’ हुन्छ, त्यहाँ विकासका सम्भावनाहरु नयाँ नयाँ शिराबाट देखा पर्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ स्पष्ट रुपमा भन्नुहुन्छ,‘ चीन सबै देशलाई समान ठान्दछ । सबैको अधिकारलाई सम्मान गर्छ । प्रत्येक राष्ट्रको विकास मार्ग छनौट गर्ने अधिकारको सम्मान गर्दछ र अन्तर्राष्ट्रिय न्यायलाई समर्थन गर्दछ । चीन कुनै पनि देशले अन्य देशमा आफ्नो इच्छा थोपर्ने वा अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा कमजोरहरुलाई धम्की दिने कार्यको विरोध गर्दछ । अरु देशको अधिकार र हितको लालच गर्दैन वा तिनीहरुको उपलब्धिको इष्र्या गर्दैन् । न त हामी हाम्रो वैध अधिकार र हित त्याग्छौ ।’ (सि जिनपिङ, द गभनान्र्स अफ चाइना दोस्रो भाग ः४३)

हो, हामी सांघाई कस्टम कलेजमा सेमिनारमा भेला भएका तीन वटा महादेश, १५ देशका ४२ जना प्रतिनिधिहरुले यस्तै अनुभूति गर्यौं । कलेजका डाइरेक्टर हे पिन, कार्यक्रम प्रबन्धक वाङ सुई, सेमिनार व्यवस्थापकद्वय लि नान र प्रोफेसर वान सुचुनको चुस्तदुरुस्त व्यवस्थापन र रेखदेखमा २१ दिनसम्म चीनको आर्थिक राजधानी, चीनका १० प्रसिद्ध सहरको पहिलो नम्बरको सहर सांघाईमा बस्यौं ।

सबै भूगोलका, सबै नस्लका, सबै विचार, फरक धरातलका मानिसहरुबीचको सामाजिक एवम् साँस्कृतिक अन्तरघुलनको अवसर उक्त सेमिनारले जुराएको थियो । सबैका लागि एक अर्कालाई बुझ्ने मौका र दुर्लभ क्षण प्राप्त भयो भन्दा अतिशयोक्ति हुँदैन । यो सेमिनार भ्रमणको एउटा महत्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्छ ।

मानव प्रजातिको जन्म अफ्रिकामा भएको र त्यहाँबाट चारैतिर फैलिए भन्ने कुरा हालै चीनमा भेटिएको ड्रयागन म्यानको जीवाशेष (फोसिल) ले फरक प्रमाणित नगरेसम्म हामी एउटै देखियौं । पृथ्वी सबैको साझा र एउटै घर हो । यसलाई सबैले माया गर्नुपर्छ भन्ने पाठ साटासाट गरियो, जसका लागि आर्थिक समृद्धि चाहिन्छ र त्यसका लागि ‘वीन वीन’ सहकार्य अपरिहार्य भएको अनुभव गर्यौं ।

‘चिनियाँ व्यापार अपार’ कसरी हुँदै गइरहेको छ भन्ने कुरा बुझ्ने अवसर प्राप्त भयो । सानातिना व्यवस्थापकीय त्रुटीका बाबजुद् सबै सहभागी प्रफुल्लित बन्यौं । लाग्थ्यो, चिनियाँहरु उखानको अभ्यास यो सेमिनारमार्फत् गर्दैछन् । उखान रहेछ, ‘सबै व्यापारीहरु बादल जस्तै तानिन्छन् ।’ हो, सेमिनारका विषय र भ्रमणस्थलहरु विश्व व्यापारमा चीनलाई एक नम्बर बनाउने अभ्यास र व्यवहारिक कार्यान्वयनका विभिन्न आयामहरुबारे जानकारी पायौं । सहभागी सबैले आआफ्नो देशले चीनसँग कसरी, कुन कुन क्षेत्रमा व्यापारिक साझेदारी कायम गर्न सक्छ ? विशेषगरी ऊर्जा र कृषि क्षेत्रमा चीनसँग सबैजसो मुलुकले व्यापार गर्नसक्ने र व्यापार घाटालाई कम गर्न सक्न आकलन निकाल्यौं । यो अर्को उपलब्धि रह्यो ।

अर्कोतर्फ हामीलाई लाग्यो, चिनियाँहरु उखानको बखानमात्र गर्दैनन्, उनीहरु उखानबाटै मुलुक बनाउने तरखरमा छन् । जस्तै अर्को चिनियाँ उखान रहेछ, ‘नजिकको छिमेकी खुशी हुँदा टाढाको अर्को पनि आउँछ ।’ हो, नजिकैको नेपाल थियो, टाढाका पेरु, पनामा, गायना, कोस्टारिका, घाना, सियरालियोन, इथोपिया, कोमोरिन, इजिप्ट, जोर्डन, अजरबैजान, बंगलादेश, उब्जेकिस्तान र श्रीलंकाका नागरिक पनि सरिक थिए । अर्कोतर्फ बिआरआईको दीर्घकालीन रणनीतिक सोच अन्तर्गत ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक एपेक र जी २० लगायत संरचना र संयन्त्रहरु क्रियाशील हुन पुगेका छन् । समृद्धिका लागि हातेमालो गर्न उत्साहित बन्दैछन् ।

अहिले विश्वमा ब्रिक्सलाई नाटो (उत्तर एटलान्टिक सन्धि संगठन) को प्रतिस्पर्धीको रुपमा पनि विश्लेषण गर्न थालिएको छ । नाटोमा जर्मन, ब्रिटेन, फ्रान्सलगायत ३० देश सम्मिलित छन । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरेर पाँच देश सम्मिलित छन् । ब्रिक्स वैकल्पिक शक्तिका रुपमा उदाउने उद्देश्यले संगठित नभए पनि विकास साझेदारी र साझा भविष्यको निर्माण र वितरणमा अघि बढेको बताइन्छ ।

यसप्रतिको आकर्षण देख्दा यो वैकल्पिक शक्ति वा संगठन बन्नसक्ने सम्भावना रहेको अध्येताहरुको दाबी छ । किनभने यो वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १५औं ब्रिक्स शिखर सम्मेलनमा ७० भन्दा बढी देश आमन्त्रित छन् भने तीमध्ये सबैजसोले ब्रिक्समा सामेल हुने इच्छा जाहेर गरेका छन् । रुस र युक्रेनबीचको युद्धका वावजुद अहिले पनि ३० देश शिखर सम्मेलनमा भाग लिन उत्साहित देखिन्छन् ।

यतिखेर अमेरिका र युरोपियन युनियन र नाटोले अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी) मार्फत् युद्ध अपराधीको रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चित्रित गरेका छन् । दक्षिण अफ्रिका आईसीसीमा हस्ताक्षर गर्ने राष्ट्र भए पनि राजनीतिक प्रेरित सो निर्णय लत्याउँदै ब्रिक्सको शिखर सम्मेलनमा राष्ट्रपति पुटिन र रुसको भव्य तयारीमा जुटेको छ । यसले नाटोको दादागिरीको विकल्पमा, अमेरिकी स्वार्थको विपक्षमा ब्रिक्स दह्रो देखिन थालेको छ । त्यसैले शान्ति र विकासका पक्षधर राष्ट्रहरु ब्रिक्समा आफ्नो भविष्य खोज्न थालेका छन् भन्ने देखिन्छ । यस्तै कारणले ब्रिक्स वैकल्पिक शक्ति हुन सक्ने सम्भावना बढेको हो ।

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको विकासवादी नीति भने चिनियाँ नीतिभन्दा नितान्त फरक देखिन्छ । अमेरिकाको विकास नीति क्षेत्रीय शान्ति र सुरक्षाअन्तर्गत ‘सैनिक क्याम्प’ खडा गरेर टुङ्गिन्छ । र, अमेरिकाप्रति अपेक्षा गर्ने धेरै विकासोन्मुख मुलुक जस्तै पनामा, पेरु इजिप्ट, अजरबैजान र उब्जेकिस्तानलगायत विकासोन्मुख र जापान जस्तो विकसित मुलुकले भोगेका छन् ।

विश्वका ८० देशमा ७५० अमेरिकी सैनिक अखाडा स्थापित छन् । अमेरिकी सैन्य अखडा भएको देश र तिनका छिमेकी मुलुकलाई विकास बजेटमा भन्दा सुरक्षा बजेट निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दबाब सिर्जना गर्दै आएका छन् । ती देशको छिमेकी मुलुकसँगको सम्बन्धमा चिसोपना ल्याइदिएका छन । अमेरिकाले चालु वर्षमा मात्रै ५३१ बिलियन डलरको हतियार बेचेको देखिन्छ । त्यसैले अमेरिकाको विकास नीतिसँग साम्राज्यवादी तथा औपनिवेशिक सुरक्षा नीति जहिले पनि एकीकृत रुपमै जोडिएको पाइन्छ ।

चीनले सैन्य अखाडासँगै ग्लोबल सेक्यूरिटी इनिसियटिभ अर्थात् जीएसआई २०२१ को नाममा साझा सुरक्षा नीति अघि सारेको पाइन्छ । हो, चिनियाँ योद्धा सुन त्सुले भने जस्तै ‘बुद्धिमान लडाकु योद्धाले युद्धलाई टार्छ ।’ अहिले चीन कैयौं मोर्चामा अब्बल देखिएपनि युद्ध टार्दै आईरहेको देखिन्छ । वैश्विक सभ्यताको पहल अर्थात जीसीआइ २०२३ अहिले चीनले ‘विश्व शान्ति, सुरक्षा र स्थिरता प्रबद्र्धन गर्नुपर्छ जसले सबैको सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित हुन्छ’ भन्ने मान्यतालाई अघि सारेको छ ।

‘अन्तर्राष्ट्रिय विवाद र द्वन्द्व समाधान गर्न संवाद र परामर्श गर्नुपर्ने’ प्रस्तावको समर्थनमा उभिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पारस्परिक सम्मान, समानता र पारस्परिक लाभको सिद्धान्त अवलम्बन गर्नुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धमा बहुपक्षीयवाद र संयुक्त राष्ट्र संघको बडापत्रहरुमा स्थापित विधिको शासन सबैले मान्नुपर्ने, नीतिलाई अघि सारेको छ ।

नेपाली अध्येता विक्रम सुब्बा लेख्छन्, ‘अमेरिका जहाँ पुगेपनि युद्धको कुरा मात्र गर्छ भने चीन सबै सभ्यताको जित–जितको अवस्था सृजना गर्ने कुरा गर्छ ।’ यी दुवै शक्तिशाली देशको तुलना गर्दै निष्कर्षमा लेख्छन्, ‘युरोप र अमेरिकी सभ्यतालाई एक सभ्यता, एक धर्म, एक संसारको अवधारणाले शासित गर्न इन्डक्ट्रिनेट गरेको छ । जसले आफूबाहेक अरुलाई ध्वस्त गर्न सिकाउँछ । तर प्राच्य सभ्यताहरुलाई बौद्ध, जैन, हिन्दू। चार्वाक, शीख, ताओवाद, कन्फ्युशियसवाद, इस्लाम आदिले अनेकौं अवधारणा इन्डक्ट्रिनेट गरेको छ । जसले बहुपक्षीयवाद जस्तो सबैको अस्तित्वलाई स्वीकार गर्ने संरचना दिएका छन् । यसले संसारभरिका फरक फरक सभ्यताहरु जोडेर वैश्विक सभ्यता बनेको कुरालाई स्वीकार्दछ ।’

हो चिनियाँ प्रोफेसरहरुका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभको मुख्य कार्यक्षेत्रभित्र नीति, पूर्वाधार, व्यापार, वित्त र जनताबीचको आपसी सम्वन्धलाई सुढृढ बनाउने योजना देखिन्छ । यसका निम्ति राष्ट्रपति सीले व्यापार सुरक्षाका लागि ‘तीन एस’ अर्थात् स्मार्ट भन्सार, स्मार्ट सीमा र स्मार्ट कनेक्टिभिटीलाई सुढृढ बनाउने कार्यक्रम अघि सारेका छन् । यो अवधारणालाई डब्लुसीओको नयाँ रणनीतिक योजना, एपेकको भन्सार रणनीतिक फ्रेमवर्क र कनेक्टिभिटीको खाका, एसेमका भन्सार प्रमुखहरुको घोषणा र चीन इयू भन्सार सहयोग (२०२१–२०२४) को लागि रणनीति रुपरेखामा समावेश गरिएको छ ।

सांघाई कस्टम कलेजकी प्रोफेसर वाङ फेई भन्छिन्, ‘बिआरआईअन्तर्गत बनेको तीन एस रणनीतिमा २२ मुलुकसँग १४० पाइलट परियोजनाहरु सञ्चालनमा ल्याइएको छ ।’ हो, युद्धबाट होइन बहुपक्षीयवादबाट चीन अग्रता हासिल गर्ने पक्षमा देखिएको छ । सेमिनारमा चिनियाँ प्रोफेसरहरुबाट अभिव्यक्ति धारणामा  यसको झलक पाइयो । त्यसका निम्ति सांघाई कस्टम कलेजलाई सन् २०१५ मा अनुशिक्षण गराउने र भन्सार क्षमता निर्माण गर्ने कलेजको रुपमा प्रतिष्ठित गरिएको रहेछ ।

हो, चिनियाँहरु साँच्चै उखानका धनी रहेछन्, उनीहरु भन्छन्, ‘यदी तपाइ छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । यदी तपाईं अगाडि बढ्न चाहनुहुन्छ भने सँगै जानुहोस् ।’ चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा विकासोन्मुख राष्ट्रहरुसँग अगाडी बढ्ने चाहानाको अनुभूति गरियो । र, तिनै राष्ट्रपति सीको भनाइ सापटी लिएर यो लेखलाई बिट मारियो, ‘ग्लोबल सिभिलाइजेशन इनिसियटिभले पुराना भत्काएर नयाँ स्थापित गर्ने लक्ष्य राख्छ । अनि नयाँ युग सबैको हो । सबै नयाँ युगको साक्षी, अग्रदूत र निर्माता हुन् ।’
 

टिप्पणीहरू