राजधानीमा कुकुरको बिगबिगी, असफल साबित बन्ध्याकरण

राजधानीमा कुकुरको बिगबिगी, असफल साबित बन्ध्याकरण

काभ्रेपलाञ्चोक घर भएकी अर्चना ढुङ्गेल भक्तपुरको सिर्जनानगर बस्छिन् । बेलुकी कामबाट फर्किंदा केही ढिलो हुने गरेको छ । गत असार १० गते कामबाट फर्किंदै गर्दा उनलाई सडकमा कुकुरले लखेट्यो । बल्लतल्ल जोगिएकी उनलाई भोलिपल्टदेखि काममा जानसमेत डर लाग्न थाल्यो । उनी अहिलेपनि अँध्यारोमा बाहिर निस्किन डराउँछिन् । 

काठमाडौंको शान्तिनगर बस्ने शान्ता थापालाई केही समयअगाडि कुकुरले टोक्यो । काम परेर बाहिर निस्किएकी उनलाई कुकुरले गोडाको पछाडि भागमा टोकेको हो । त्यसपछि उनी खोप लगाउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । पछिल्लो समय काठमाडौं उपत्यकामा सामुदायिक कुकुरको आतंक मच्चिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा कुकुरको बिगबिगी देखिएको छ । 

बिहान कलेज जाने विद्यार्थीहरुलाई र मर्निङ वाकमा निस्किनेलाई कुकुरले हैरान पार्ने गरेको छ । कुकुरले लखेट्ने, झम्टिने र कतिपयलाई टोक्नेसमेत गरेको छ । काठमाडौंका चोक र गल्लीमा असंख्य सामुदायिक कुकुर छन् । भक्तपुर र ललितपुरमा पनि त्यस्तै छ । रातको समयमा हिँड्न धेरैलाई महाभारत हुने गरेको छ । 

कुकुरको हैरानीबारे बारम्बार जानकारी गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको सर्वसाधारणको गुनासो छ । सामुदायिक कुकुर व्यवस्थापनमा सरकारको भूमिका शून्य देखिएको उनीहरुको आरोप छ । एकै ठाउँमा एक दर्जनबढी कुकुरको झुण्ड पाइन थालेको छ । 

कुकुरको भुकाइका कारण उपत्यकाबासीहरु रातको समयमा राम्रोसँग निदाउन पाउँदैनन् । यता, सडकमा फोहोर उठाउन हिँडेका सरसफाइकर्मी, पुराना सामान संकलन गर्नेहरुमाथि कुकुरले धेरै आक्रमण गरेको पाइन्छ । कुकुरका कारण सवारी दुर्घटनासमेत भइरहेको छ । कुकुर सडकमा जथाभावी दौडिने भएकाले सवारी दुर्घटनामा पर्ने जोखिम धेरै हुन्छ । अझ छाडा कुकुर रिसाहा प्रवृत्तिका हुन्छन् । उनीहरुले टोक्दा जंगली जनावरले झैँ शरीरको विभिन्न भागको मासु नै लुछ्छन् । 

किन बढ्दैछ सामुदायिक कुकुरको संख्या ? 

उपत्यकामा सामुदायिक कुकुरको संख्या ह्वात्तै बढेको छ । जताततै सामुदायिक कुकुरको बिगबिगी देखिन्छ । राजधानीबासीले घरमा पालेको कुकुरसमेत सडकमा ल्याएर छाड्ने क्रम बढेपछि सर्वत्र सामुदायिक कुकुर देखिन थालेको हो । बल हुञ्जेल पाल्ने, बुढो भएपछि सडकमा ल्याएर छाड्ने क्रम केही समययता बढेको छ ।  

सडकमा छाडा छोडिएका अधिकांश कुकुर घरपालुवा हुन् । कुकुर व्यवस्थापनका लागि प्रभावकारी कानुन नहुँदा सामुदायिक कुकुरको संख्यामा वृद्धि भएको सो क्षेत्रका जानकारहरु बताउँछन् । कुकुरधनीले आफ्ना कुकुर बिहान–बेलुका घर बाहिर छोडिदिने गरेका छन् । यसरी छाडिएको कुकुरले पैदलयात्रीलाई निकै सास्ती दिने गर्छन् ।

सडकमा छोडिएकाले मात्र होइन्, घरमा पालिएका भनिएका कुकुरले समेत सडक दुर्गन्धित बनाउँदै आएको छ । कुकुरधनीले आफ्नो कुकुरलाई सडकमा ल्याएर फोहोर गराउँछन् । आफ्नो रहरका लागि पालिएको कुकुरले अन्यलाई समस्यामा पार्ने र पारेको बारे कसैले पनि ध्यान दिएको पाईंदैन । कुकुरको फोहोरका कारण सर्वसाधारणलाई सडकमा हिँड्नसमेत सकस हुन थालेको छ । 

स्थानीय तहले सामुदायिक कुकुरको संख्या न्यूनीकरणका लागि ठूलो रकम छुट्याउने गरेको छ । सामुदायिक कुकुर नियन्त्रण र व्यवस्थापनका लागि सयौं संस्था दर्ता भएका छन् । तर, कुकुर व्यवस्थापनतर्फको सट्टा बजेटको खर्च मिलाउनेतिर लागिपर्दा यो समस्याले झन् ठूलो रुपमा लिँदै छ । 

छाडा कुकुर रोकथाममा विभिन्न कार्यक्रम ल्याउँदै स्थानीय तह 

विभिन्न स्थानीय तहले सामुदायिक कुकुर व्यवस्थापनका लागि विभिन्न कार्यक्रम ल्याएका छन् । पोथी कुकुरको बन्ध्याकरण सम्बन्धी कार्य समयदेखि हुँदै आइरहेको छ । तरपनि, यो प्रभावकारी देखिएको छैन । बन्ध्याकरण कार्यमा आलटाल हुँदा सामुदायिक कुकुरको संख्या थप बढ्दै गएको छ । 

पोथी कुकुरले एक पटकमा १२ वटासम्म छाउराछाउरी जन्माउने गर्छ । यसकारण कुकुरको संख्या वर्षेनी ठूलो मात्रामा बढेको हो । यता, मन लागुञ्जेल पाल्ने अनि मन लाग्न छाडेपछि सडकमा घरपालुवा कुकुर छोड्ने क्रम बढेपछि विभिन्न स्थानीय तहले कुकुर अनिवार्य दर्ता गर्नुपर्ने नियम ल्याएको छ । पोखरा महानगरपालिकाले प्रति कुकुर एक सय रुपैयाँ तिरेर दर्ता गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

आ–आफ्नो घरमा भएका कुकुर वडा कार्यालयमा गएर दर्ता गर्नुपर्ने भनिएको छ । वडा कार्यालयले कुकुर दर्ता गर्दा रेबिजविरुद्धको खोप र कुकुरको घाँटीमा लगाइने पेटी निःशुल्क वितरण गर्दै आएको छ । त्यसैगरी, बागलुङ नगरपालिकाले पनि कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने नियम लागु गरेको छ । छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले उक्त निर्णय लागु गरेको हो । 

उपप्रमुख राजु खड्काले दर्ताको काम अघि बढिसकेको जानकारी दिए । त्यस्तै, छाडा कुकुरका निम्ति होस्टल पनि बनाइने उनले जानकारी दिए । अर्को महिनादेखि होस्टल निर्माणको काम अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, अन्य थुप्रै नगरपालिकाले पनि धमाधम यस्ता निर्णय गरिरहेका छन् ।  

दर्ताले केही हुँदैन, चिप्स जडान गर्नुपर्छ : काठमाडौं महानगरपालिका 

काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई दर्ता गरेर मात्रै समस्याको समाधान नहुने जनाएको छ । महानगरको पशु शाखा प्रमुख अवदेश झाले घरपालुवा कुकुर व्यवस्थापनका लागि ‘माइक्रोचिप्स’ लगाउने तयारी भइरहेको जानकारी दिए । सबै सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने ठाउँको अभाव भएकाले पनि निकै समस्या भइरहेको उनको गुनासो छ । जसअनुसार काठमाडौंका सडकमा २० हजारको हाराहारीमा सामुदायिक कुकुर छन् । महानगरपालिकाले भदौदेखि कुकुर बन्ध्याकरण अभियान नै चलाउने प्रमुख झाले बताए । 

एउटा मात्र संस्थालाई नभई विभिन्नलाई यस कार्यमा आबद्ध गराउने उनको भनाइ छ । ‘सामुदायिक कुकुरको समस्या जटिल छ । कुकुर व्यवस्थापन कार्य निकै गाह्रो बनेको छ । हामीले बन्ध्याकरणलगायत काम गर्दै आएका छौं । तर, त्यति प्रभावकारी देखिएको छैन । टेकूमा सामुदायिक कुकुर राख्ने सेन्टर पनि छ । अब दैनिक एक सय वटा कुकुर बन्ध्याकरणको तयारी गरेका छौं । कार्यविधि बनिसकेको छ, पास हुनेबित्तिकै कार्यान्वयनमा आउँछ’, उनले भने । 

सामुदायिक कुकुर व्यवस्थापनमा धेरै काम भएको छ : सूर्यविनायक नगरपालिका

भक्तपुरको सूर्यविनायक नगरपालिकामा जताततै कुकुरको झुण्ड देखिन्छ । कुकुरले मानिसलाई लखेटेर हैरान पार्ने गरेको छ । कुकुर व्यवस्थापन नगरिएपछि त्यहाँका स्थानीय सँधै गुनासो गरिरहेका छन् । यद्यपि, नगरपालिकाले भने सामुदायिक कुकुर व्यवस्थापनका लागि धेरै काम भएको दाबी गरेको छ । 

नगरपालिकाका सूचना अधिकारी रविन्द्र सापकोटाले आर्थिक वर्ष २०७९–८० मा ८८६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको बताए । त्यस्तै, रेबिज खोप लगाउने कार्यले पनि निरन्तरता पाइरहेको उनको जिकिर छ । कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

कुकुरले टोकेको बिरामीको संख्या बढ्दो छ : डा. पुन 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले ओपिडी समयमा मात्रै तीन सय बढी कुकुरले टोकेका बिरामी आउने गरेको जानकारी उनले दिए । इमर्जेन्सीमा पनि त्यसको उपचार हुने भएकाले २४ घण्टामा सात सयबढी बिरामी आउने गरेको उनी बताउँछन् । कुकुरले टोकेपछि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन उनले आग्रह गरेका छन् । उनका अनुसार छालामुनि लगाउने खोप तीन पटक र मासुमुनि लगाउने खोप चार पटक लगाउनुपर्दछ ।

टिप्पणीहरू