गृहसचिवका भाइलाई जोगाउन युवतीसँग फोनमै गलफत्ती, ‘बलात्कार’ काण्डमा वकिल नै बिचौलिया

गृहसचिवका भाइलाई जोगाउन युवतीसँग फोनमै गलफत्ती, ‘बलात्कार’ काण्डमा वकिल नै बिचौलिया

घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको उजुरीअन्तर्गत काठमाडौं जिल्ला अदालतले अस्ति एकजना सरकारी इञ्जिनियरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने युवतीलाई होस्टाइल गराउन एक जना वकिलले मोलमोलाइ गरेको अडियो फेला परेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि कामका लागि काठमाडौं छिरेकी रामेछापकी आस्था बस्नेतले पूर्व गृहसचिव पदमप्रसाद पोखरेलका भाइ हरिमाथि बलात्कार प्रयासको आरोपसहित गतहप्ता किटानी जाहेरी दर्ता गराएकी थिइन् । 

सिनामंगलस्थित पोखरेलको घरमा डिभोर्सी ती युवतीले काम गर्न थालेको डेढ वर्ष भइसकेको छ । उनले भान्सादेखि लिएर सरसफाइलगायत सबै काम गर्थिन् । ‘एकपटक चुम्बन गर्न देऊ’ भन्दै उनी अगाडि सरेको बस्नेतले सार्वजनिक गरेको भिडियोमा देखिन्छ । त्यसपछि आफू काममै जान छोडेको उनी बताउँछिन् । पोखरेलकी श्रीमती अनुपमालाई घटनाबारे जानकारी गराउँदा उल्टै थर्काएको उनको आरोप छ । 

उनी असार १८ गते जाहेरी लिएर महानगरीय प्रहरी वृत्त, गौशाला पुगेकी थिइन् । तर, प्रहरीले निवेदन दर्ता गर्न आलटाल ग¥यो । दिनभर झुलाएर माइती नेपाल पठाएको बताउँदै न्याय माग्न गृह मन्त्रालयसमेत पुगेकी उनले मुद्दा फिर्ता लिन आफूलाई चौतर्फी दबाब आइरहेको बताइन् । 

प्रहरीले भने बलात्कारको आरोपमाथि नै शंका व्यक्त गरेको छ । एक जना अधिकृतले भने, ‘जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको छ । यो घटना हेर्दा प्रि–प्लानजस्तो देखिन्छ । कतैकतै ‘हनी ट्रयाप’ हो कि जस्तो पनि लाग्छ । अहिलेसम्मको इतिहासमा पीडित महिला यसरी दर्जन बढी युट्युबर, वकिल लिएर आएको थाहा छैन । यता, भिडियो पनि बनाएकी रहिछन् । अहिले अनुसन्धानकै क्रममा छ । ’ 

जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी अनिल अधिकारीले उक्त विषयमा छानबिन भइरहेको र पोखरेलले पहिले नै जिल्ला अदालतबाट ‘स्टे अर्डर’ ल्याएकाले तत्काल पक्राउ गर्न नमिलेको बताए । 

यता, बस्नेतले सम्पूर्ण कुरा नखोलेको र उनले उक्त भिडियोसमेत आफूहरूलाई नदेखाएको माइती नेपालको ठोकुवा छ । ‘उहाँले त्यतिबेला त्यो भिडियो देखाएको भए, रेप केशमा मुद्दा चलाइसकेका हुन्थ्यौं । उहाँलाई श्रीमानको नामसमेत थाहा थिएन । श्रीमतीको नाम भन्नुभयो, हामीले नै श्रीमानको नाम पत्ता लगाइदिएका हौं’, त्यहाँका एक अधिकारीले भने । 

पोखरेल सडकका इञ्जिनियर हुन् । त्योभन्दा पनि ठूलो उनलाई आफ्ना दुई जना शक्तिशाली दाइको आड छ । पूर्व गृहसचिव पदम पोखरेल उनका दाजु हुन् भने गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका फणिन्द्रमणि पोखरेलको समेत भाइ नाता पर्छन् । भ्रष्टाचार मुद्दामा मुछिइसकेका उनलाई यसअघि आफ्नै दाइहरूले बचाएका थिए । कास्कीको एसपी हुँदा अहिले काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले ९ लाख घुस काण्डमा उनलाई समातेर अख्तियारलाई बुझाइदिएका थिए ।

वकिल नै बिचौलिया

यो प्रकरणमा अधिवक्ताहरू बिचौलियाको रूपमा सल्बलाएको प्रमाण भेटिएको छ । अनामनगरमा ‘ईम्पेरियल लिगल सोलुशन सेन्टर’ सञ्चालन गरेर बसेका अधिवक्ता भोजराज रेग्मीले ती युवतीलाई फोन गरी मिलापत्र गर्न दबाब दिएको अडियो जनआस्थाले फेला पारेको छ । १८ मीनेट लामो अडियोमा रेग्मीले बस्नेतलाई उक्त भिडियोले रेप पुष्टि नगर्नेसमेत उल्लेख गरेका छन् । रेग्मीले पोखरेल निकै शक्तिशाली रहेको त्रास देखाउँदै कानुनी लडाइँ लड्नुको कुनै औचित्य नभएको बताएका छन् । ‘यिनीहरूसँग कुरा गरेर, पैसा लिई सेटलमेन्ट गराइदिन्छु, तिम्रो पनि सेटलमेन्ट हुनुपर्‍यो नि, परेन ? त्यसकारण यो अनावश्यक मान्छेसँग तिमी भिड्न छोड । तिमीलाई रेप गरेको होलाजस्तो मलाई लाग्दैन’, उनले भनेका छन्, ‘तिमी पनि बलियी छौ नि । तिमीलाई च्याप्प समाती लडाएर गरिहाल्नचाँहि गाह्रै हुन्छ नि । म पनि उमेरमा त उद्दण्डै थिएँ हेर । गरिहाले पनि छोड अब । आफ्नो वास्तविकता हेर । अवसरहरू आउँछन्, त्यसलाई क्याच गर्न सक्नुपर्छ । ’

साथै, उनले ती युवतीको रूपरङ्ग देखेर आफैं फिदा भएकोसमेत बताएका छन् । उनलाई पहिलोपटक देख्दा छक्क परेको र राम्री हुनु आफैंमा अभिषाप भएकोसम्म उनी बताउँछन् । २०५५ सालदेखि सिनामंगलमा बसेको सुनाउँदै रेग्मीले भनेका छन्, ‘म तिनीहरू जत्तिकै पावरफुल मान्छे हुँ । तिनीहरू जत्तिकै धनी मान्छे हुँ । ’ रेग्मीले उनलाई कुनै पनि हालतमा पोखरेलसँग लड्न नसक्ने भनी ब्याक हट्न दबाब दिइरहेको सुनिन्छ । काठमाडौं शहरले मान्छेलाई कि एक नम्बर, कि पंगु बनाउँछ भन्दै उनले जुनसुकै हालतमा पनि मिलापत्र गर्नुपर्ने जनाएका छन् । ती युवतीको तपाईंहरूलाई मिल्दे हुन्थ्योजस्तो लाग्छ भन्ने प्रश्नमा आक्रोशित हुँदै उनी भन्छन्, ‘मिल्दे हुन्थ्यो होइन कि मिल्नुपर्छ तिमीले । मैले तिमीलाई फोनमा सबै कुरा भन्न सक्दिँन । भेट्न आऊ ।’

टिप्पणीहरू