पानीमा डुबेर मर्नेको संख्या डरलाग्दो ढंगले बढ्दै

पानीमा डुबेर मर्नेको संख्या डरलाग्दो ढंगले बढ्दै

चितवनमा आफ्नै घर नजिकैको पोखरीमा डुबेर केही दिनअघि एक बालकको ज्यान गयो । भरतपुर महानगरपालिका वडा नम्बर–१७, लप्टनडाँडाका ६ वर्षीय प्रिन्स सुनारको पोखरीमा डुबेर निधन भएको हो । घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर पोखरीमा खसेका उनको अवस्था गम्भीर भयो । उपचारार्थ जिल्ला अस्पताल भरतपुर पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

उता पाँचथरमा पौडी खेल्न गएका एक किशोरको पनि पोखरीमा डुबेर मृत्यु भएको छ । याङवरक गाउँपालिका वडा नम्बर–५, कुवापानी निवासी १९ वर्षीय सुमन लिम्बूको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । 

त्यसैगरी कालीगण्डीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी किशोरीको गत असार ३ गते शव फेला पर्यो । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर–८, भुजातघाटबाट बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर मृत अवस्थामा भेटिएकी हुन् । 

यसले पानीमा डुबेर मृत्यु हुनेको संख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाउँछ । विभिन्न नदीनाला, खोला, तालतलैया, पोखरी र कुलोमा डुबेर ज्यान जानेको संख्या निरन्तर उकालो लागिरहेको छ । नेपालमा वर्षेनी औसत ३९६ जनाले डुबेर वा पानीजन्य विपद्बाट ज्यान गुमाउने गरेको नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ । त्यस्तै, ७३.७ प्रतिशतको डुबेर ज्यान जाने घटना २५ वर्षमूनिका समूहमा हुने गरेको पाइएको छ । तीनमा महिलाभन्दा तीन गुणा बढी पुरुष रहेको तथ्याङ्कमा उल्लेख छ । 

यता नेपाल प्रहरीले पछिल्लो तीन वर्षमा दुई हजार ३०६ जनाको डुबेर मृत्यु भएको जनाएको छ । तीमध्ये कोशी प्रदेशमा ४१३, मधेश प्रदेशमा ४१३, बागमती प्रदेशमा ३३५, गण्डकी प्रदेशमा ३४९, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ११९, सुदुरपश्चिम प्रदेशमा १७८ र उपत्यकामा ६२ जनाको ज्यान गएको हो ।

जनचेतनाको अभाव, अभिभावकको लापरबाही र बेवास्ता यसका प्रमुख कारण हुन् । घर वरपर खेल्ने बेलामा नहर र पोखरीमा खसेर बालबालिकाको ज्यान गइरहेको छ । बुबाआमाले ध्यान नपुर्याउँदा बालबालिकाहरुले अकालमै ज्यान गुमाउनुपरेको धेरै घटना भएका छन् । 

वर्षायाममा कुलो तथा खाडलमा पानी जम्मा हुने गर्छ । खेल्ने क्रममा बालबालिकाको त्यसमै डुबेर मृत्यु हुने क्रम जारी छ । यता, पौडी खेल्न जाँदा डुबेर किशोरकिशोरीहरुले मृत्युवरण गरिरहनुपरेको छ । 

कतिपय स्थानमा नहर तथा ढल खनेर त्यतिकै छाडिएको छ । विकासको नाममा भएका लापरबाहीले धेरैको ज्यान लिएको छ । सरोकारवाला निकायको हेलचेक्र्याईंले अप्रिय घटना दोहोरिँदै आएका छन् । बारम्बार एकै प्रकृतिको दुर्घटना भइरहँदासमेत सरोकारवाला निकाय जिम्मेवार बन्न सकेको देखिँदैन ।

लापरबाही नै प्रमुख कारण : नेपाल प्रहरी 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले डुबेर मृत्यु हुनुको प्रमुख कारण लापरवाही भएको बताए । मृत्यु हुनेमा अन्य उमेर समूहका भन्दापनि बालबालिकाहरुको संख्या धेरै रहेको उनले जानकारी दिए । अभिभावकले आफ्नो बालबच्चाको ध्यान नराख्दा उनीहरुले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै यस्ता घटना कम गर्न जनचेतनाको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । 

‘यस्ता अप्रिय घटना न्यूनीकरणका लागि जनचेतना अत्यन्तै आवश्यक छ । जबसम्म आम नागरिकमा चेतना आउँदैन, तबसम्म यस्ता घटना भइरहन्छ । कुनै पनि काम गर्नुअघि पहिले सेक्युरिटी हेर्नुपर्छ । इनारको छेउछाउ नुहाउने क्रममा चिप्लिएर डुबेका थुप्रै घटना हामीले देखेका छौं, तैपनि हामी सिक्दैनौं’, उनले भने, ‘इनार छेउछाउ कस्तो संरचना बनाउने, क्षति हुनबाट जोगिनका लागि के गर्न सकिन्छलगायत विषयमा हाम्रो ध्यान नै जाँदैन । पौडी खेल्ने क्रममा पनि मृत्युका घटना भइरहेका छन् । पानीको सतह धेरै भएको ठाउँमा किन पौडी खेल्न जाने ? त्यसैले यस्ता घटना कम गर्न पहिले आफैं सतर्क हुनुपर्छ ।’

उनले बर्खायाममा बाटोघाटो, ढल खनेर खुल्ला नछोडिदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् । सबै जना आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा मात्र यस्ता दुर्घटना कम गर्न सकिने प्रवक्ता कडायतको भनाई छ । 

‘सरकारले बर्खायामको समयमा सडक नखन्न निर्देशन दिइसकेको छ । प्रहरीले पनि दुर्घटना कम गर्न सक्दो प्रयास गरिरहेको छ । खाल्डाखुल्डी पुर्नेलगायत काम प्रहरीले गर्दै आएको छ । यता, सम्बन्धित निकायलाई झकझकाउने काम पनि भइरहेको छ । सबै जना जिम्मेवार भइदिए दुर्घटना हुनबाट जोगिन र जोगाउन सकिन्छ’, उनले भने ।

टिप्पणीहरू