कालापानीमा बादल फाट्दा मोटरपुल ध्वस्त

कालापानीमा बादल फाट्दा मोटरपुल ध्वस्त

भारतबाट अतिक्रमित नेपाली भूमिमा पटक–पटक प्राकृतिक प्रकोपका घटनाहरू भइरहेका छन् । उच्च हिमालय क्षेत्र रहेकोले प्रकोपका घटनाहरू बढिरहेका छन् । साउन ३ गते मात्रै कालापानीमा बादल फाट्दा एक सय फिट लामो मोटरपुल ध्वस्त भएको छ ।

कालापानी छेउको नचेती खोलामा बनाइएको बेलिब्रिज ध्वस्त भएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले लेखेको छ । मोटरपुलसंगै त्यसक्षेत्रमा सयौं मीटर सडक पनि भत्किएको छ । हिमालय क्षेत्रमा बादल फाटेर अत्यधिक वर्षा र हिमपहिरोले क्षति भइरहेको छ । कालापानी हुँदै लिपुलेकसम्म बनाइएको सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ । अहिले धारचुला बजारभन्दा माथिको सडक क्षेत्र दर्जनौ ठाउँमा भत्किएर क्षतिग्रस्त भएको छ ।

गुञ्जी र कालापानीको बीचमा पर्ने नचेती खोलामा पुल र सडक भत्किएको हो । प्राकृतिक प्रकोपले क्षतविक्षत भएको सडकलाई सुचारु गर्न हप्तौँ लाग्ने सडक निर्माणमा संलग्न सीमा सडक संगठन (बिआरओ)ले जनाएको छ ।

नचेती खोलामा पानीको मात्रा धेरै कम हुने गरेकोमा बादल फाट्दा अत्यधिक वर्षा भएको र माथिबाट बाढीपहिरोसमेत आएको छ । क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणको गृहकार्य भइरहेको सीमा सडक संगठन (बिआरओ)का कर्णेल हरिश कोटनालालाई उद्धृत गर्दै समाचार लेखिएको छ । लिपुलेकबाट कालापानी क्षेत्र हुँदै बग्ने लिपुखोला र कुटी, नाभी हुँदै गुञ्जी दोभानमा भेटिने महाकाली नदीको जलस्तर बढेको समाचारमा उल्लेख छ ।

धारचुलादेखि गुञ्जीसम्मको सडकअन्तर्गत गर्वाधार, मालपा, पेल्सितीलगायत दर्जनौं ठाउँमा सडक भत्किएको धारचुलाका एसडिएम दिवेश शासनीले बताएका छन् । सडक सुचारु गर्न प्रयास भइरहेको छ र धेरै क्षति भएकाले सडक सञ्चालनमा ल्याउन हप्तौं लाग्ने स्थानीयको भनाइ छ । दुई वर्षअघि पनि नाभी र कुटी गाउँको बीचमा पर्ने नाम्पाखोलामा बादल फाट्दा दुई किलोमिटर लामो सडक मार्ग ध्वस्त भएको थियो । सीमा सडक संगठनले महिनौं लगाएर उक्त क्षेत्रको सडक मर्मत गरेकोमा ठाउँठाउँमा फेरि सडक भत्किएका कारण अतिक्रमित नेपाली भूमिमा यातायात अवरुद्ध छ ।

नौ दिनअघि पनि कालापानीमा अत्यधिक वर्षा र बादल फाट्दा ५० वटा भेडाबाख्रा मरेका थिए । कालापानीमा सैनिक क्याम्प भए पनि गुञ्जी र नाभी गाउँका स्थानीयले भेडाबाख्रा चराउने गर्छन् ।

टिप्पणीहरू