प्रधानमन्त्री र गृहमन्त्रीको ‘मान्छे हुँ’ भन्दै आतंक

प्रधानमन्त्री र गृहमन्त्रीको ‘मान्छे हुँ’ भन्दै आतंक

साउन २ गते भोजपुरको सामुदायिक हलमा नागरिक समाजसहित अलग–अलग पीडित परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय भोजपुरका इञ्चार्ज शरदकुमार क्षेत्रीमाथि तीन हत्याका दोषीलाई संरक्षण गरेको आरोप लगाएका छन् । डिएसपी क्षेत्रीले जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब–इञ्जिनियर मन्दिप राईको हत्यारालाई संरक्षण गरेको भन्दै उनका बुवा डा.ईश्वरकुमार राईले आत्मदाहको चेतावनी दिए ।

उपप्राध्यापक डा. राईलाई बौद्धिक र भद्र व्यक्तित्वको रूपमा सबैले सम्मान गर्छन् । उनै डा. राईले आफ्नो छोराको हत्यारालाई डिएसपी क्षेत्रीले संरक्षण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयअगाडि आत्मदाह गर्ने चेतावनी दिँदा सबै स्तब्ध भएका थिए । त्यसको भोलिपल्ट साउन ३ गते भोजपुरका विद्यार्थीले जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरे । डिएसपी क्षेत्रीविरुद्ध भोजपुरमा श्रृंखलाबद्ध आन्दोलन भइरहेको छ ।

पीडितले प्रहरीको प्रदेश कार्यालय, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पनि उजुरी पठाएका छन् । तर, डिएसपी क्षेत्रीको रवाफ पनि उस्तै छ । कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ रहेका क्षेत्रीले आफू प्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठको मान्छे भएको भन्दै जिल्लाका अगुवाहरूलाई ‘आफूलाई नजिस्क्याउन’ चेतावनी दिने गरेको स्थानीय नेताहरूको गुनासो छ । पत्रकार सम्मेलनपछि नागरिक समाजका अगुवाहरूले डिएसपी क्षेत्रीबारे प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसम्म उजुरी पठाउने बताएका थिए ।

टेम्केमैयुङ गाउँपालिकाको राउते खोलामा शव भेटिएका सब इञ्जिनियर मन्दिप राई, आम्चोक गाउँपालिका थिदिङ्गामा गोविन्द कुँवरको आत्महत्या र भोजपुर नगरपालिकाका दीप्सन प्रधानको हत्यासम्बन्धी घटनामा डिएसपी क्षेत्रीको भूमिकाप्रति नागरिक समाजका अगुवा र पीडितहरूले प्रश्न उठाएका हुन् । उनीहरूले गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, प्रहरी मुख्यालय, नागरिक समाज र पत्रकारसमक्ष यी घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

घटना नम्बर १

जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब–इञ्जिनियर मन्दिप राईको हत्या भएको भन्दै उनका बुवा डा. राईले दिएको किटानी जाहेरी पनि क्षत्रीले लिन बेवास्ता गरेको आरोप छ । डिएसपीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलमार्फत जाँदा पनि बेवास्ता गरेको राईले बताए ।
पीडकहरू सबैले सल्लाह गरेर एउटै बोली बोलेको भन्दै उनले घटनापछि अपरेटर लेखर्कस्थित पदम सेञ्चुरीको घरमा सकुशल पुगेको र पेटी ठेकेदार बालम राईसँगको फोन कुराकानीपछि भागेको देखिएको भन्दै छोराको मृत्यु रहस्यमय भएको उनले बताए । उनका अनुसार छोराको हत्यामा संलग्नहरूलाई कारबाही र सम्बन्धित व्यक्तिहरूको कल डिटेल झिकाई अनुसन्धान गर्न असार १३ मा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन ।

प्रहरीले अनुसन्धान अगाडि नबढाएर उल्टै कसुरदारको मनोबल उकास्ने काम भइरहेको उनले बताए । किटानीमा उल्लिखित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्न पनि माग गरे ।

घटना नम्बर २

यही असार २४ गते भोजपुर नगरपालिका–१२ पैयाँपानी टक्सार निवासी १८ वर्षीय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको पीडित पक्षको आरोप छ ।
गाउँबाट सिकार खेल्न जाऊँ भनेर ६ जनाले हत्या गरेको दाबी परिवारको छ । तर आरोपितमध्ये सुमन श्रेष्ठका भाइ डिएसपी क्षेत्रीका भान्से भएकाले प्रहरी पनि उक्त घटनालाई ढाकछोपमा लागेको पीडितले बताएका छन् ।

एकै जनालाई सबैको अपराध थोपरेर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानले गरेका छन् । उनले ज्यानसम्बन्धी कसुर, हातहतियार खरखजानासम्बन्धी र वन्यजन्तुको चोरी शिकार गरेको अभियोग लागेकाहरूलाई डिएसपी थापाले उन्मुक्ति दिन खोजेको बताए ।

उता जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका–३ थिदिंखा निवासी गोविन्द कमरले छिमेकीको कुटपिटका कारण आत्महत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा डिएसपी क्षेत्रीले नमानेको परिवारले जनाएको छ । छिमेकी पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कमरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ ।

घटनाबारे उजुरी दर्ता गर्न जाँदा प्रहरी निरीक्षकले हप्कीदप्की गरेको परिवारजनले जनाएका छन् । उक्त घटनामा अहिलेसम्म जाहेरी दर्ता नभएकाले प्रहरी पनि अपराधी जोगाउन लागेको उनीहरूको भनाइ छ । यस प्रकरणमा तत्काल आत्महत्या दुरूत्साहनको जाहेरी दर्ता गरिदिन परिवारजनको माग छ ।

‘घटनापछि पटक–पटक जिल्ला प्रहरी कार्यालय भोजपुर गएर किटानी जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार क्षेत्रीले बेवास्ता गर्दै छलफलसमेत गर्न नमानेको र जाहेरी दर्तासमेत नगरेकाले हामी पीडित पक्षले न्याय पाउन सकेका छैनौँ । प्रष्टसँग आत्महत्या दुरुत्साहन भएको देखिए पनि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्दा दर्ता गर्न नमिल्ने भनी आलटाल गरेकाले कानुनी प्रक्रियाका लागि अनुरोध गर्दछु’, रिताले विज्ञप्तिमा लेखेकी छन् ।

घटना नम्बर ३

त्यस्तै, टक्सारका दिप्सन प्रधानको असार २२ गते अखुवा खोलामा भएको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै परिवारले ध्यानाकर्षण गराएको छ । ‘पैयाँपानीका सुमन श्रेष्ठले सामान पु¥याउन जाऊँ भनी लिएर गएको र खोलामा पुगेपछि मणिकुमार प्रधान, उमेश कार्की, निरज कार्की, रोजिश कार्की र आम्तेकका सुमन श्रेष्ठसमेतले भरूवा बन्दुकले हानी बर्बरतापूर्क हत्या गरिएको हो । वास्तविक सबै दोषीलाई कारबाही नगरी एक जनालाई मात्र मुख्य दोषी बनाई उन्मुक्ति दिन खोजेर घटना तोडमोड गर्न खोजिएको छ’, बुबा देवीप्रसादले विज्ञप्तिमा लेखेका छन् ।

घटनामा संलग्न सुमनको भाइ विनम डिएसपीकै भान्से भएकाले सो घटनाको किटानी जाहेरी दिँदासम्म अनुसन्धानमा जिम्मेवार नदेखिएको उनको दाबी छ । नागरिक समाज भोजपुरका संयोजक परशुराम तिवारीले अहिलेसम्म जिल्लामा आएका डिएसपीमध्ये क्षेत्रीबाट नागरिकले उल्टै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।‘अहिलेसम्म यस्ता घटनामा कोही प्रहरी प्रमुखले यस्तो गैरजिम्मेवारपूर्ण काम गरेको थिएन । यी घटनाको बेवास्ता उनको सरासर ज्यादती हो’, तिवारीले भने ।

पीडितसँग पटकपटक नागरिक समाज, पत्रकार र सरोकारवालाहरू डेलिगेसन जाँदा क्षेत्रीले केही सुन्न नचाहेको पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले बताए ।उनले भने, ‘घटनाको यथार्थ विवरण जानकारी गराउँदा उहाँ सुन्नै चाहनुहुन्न । प्रमाण छैन भनेर मात्र पन्छिनुहुन्छ । अनुसन्धान नै गर्न नखोजेपछि कहाँबाट भेटिन्छ प्रमाण ?’ राई प्रश्न गर्छन् ।

११ महिनाअघि रसुवाबाट सरुवा भएर आएका डिएसपी क्षेत्री प्रधानमन्त्रीको पिएसओसमेत थिए । प्रचण्ड यसअघि प्रधानमन्त्री हुँदा र नहुँदा दुवैबेला उनी पिएसओ छँदा मालदार कार्यालयमा सरुवा जाने र सेटिङ मिलाउने गरेको भन्दै विवादित बनेका थिए ।


 

टिप्पणीहरू