गुणस्तरीय सामान पाउँदा सुरक्षाकर्मी दङ्ग

गुणस्तरीय सामान पाउँदा सुरक्षाकर्मी दङ्ग

सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत एक सिपाहीले गुणस्तरीय सामान पाउँदाको आफ्नो अनुभव सुनाएका छन् । दुई दशकदेखि सशस्त्र प्रहरीमा जागिरे उनले वार्षिक रुपमा प्राप्त हुने ‘फ्रि स्केल’ का सामानहरु बुझेपछि खुशी व्यक्त गरेका हुन् । 

विगतमा पनि आवश्यकीय सामानहरु प्राप्त गर्दै आएका उनले यसपटकको सामानले भिन्न अनुभूति गराएको बताएका छन् । सँधै घोच्ने मण्डी पाउने सिपाही भुवादार कोरियन ब्ल्याङ्केट पाउँदा हर्षित भएका छन् । त्यस्तै, राम्रो र बलियो देखिने कमाण्डो बुट पनि पाएको उनको भनाइ छ । 

उनका अनुसार यसपटक दुई तहको जिब्री र माथिल्लो भागको दुलोमा मुन्द्री नराखी अंकुशे भएको बलियो कमाण्डो बुट दिइएको छ । त्यस्तै, पहिलोपटक केन्द्रीयस्तरमा फ्रि स्केलको रुपमा ट्रयाकसुट पनि पाएको उनी बताउँछन् । चुस्ता र ब्यारेट क्यापसमेत पहिलेभन्दा गुणस्तरीय भएको उनको जिकिर छ । 

सामान लिएर ब्यारेक पुगेका उनले आफ्नो मनमा उब्जिएका प्रश्नहरु सामाजिक सञ्जालमार्फत पोखेका छन् । उक्त सामान हेरेर आफू धेरै बेर सोचमग्न भएको बताउँदै उनले संगठनलाई प्राप्त हुने बजेटको सिलिङ्गमा थप नभए पनि सशस्त्र प्रहरीहरुले पाउने सामान गुणस्तरीय भएकोमा प्रश्न गरेका छन् । 

हालको सामान र विगतका सामानलाई दाँज्दा आईजीलगायतका पुराना व्यवस्थापकहरु भ्रष्ट देखिएको उनको तर्क छ । ‘संगठनलाई प्राप्त हुने बजेटको सिलिङ्ग थप भएको छैन् । तर, पाउने सामानहरुको किसिमको गुणस्तरमा बढोत्तरी कसरी सम्भव भयो ? अथवा विगतका आइजीलगायत व्यवस्थापकहरु कि त भ्रष्ट हुनुहुन्थ्यो ?’, उनको सोधनी छ । 

साथै, उनले पुराना आइजीहरुले सन्ततिसरहका कर्मचारीमाथि शोषण गरेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘उहाँहरुले आफ्ना मातहतका सन्ततिसरहका कर्मचारीहरुलाई शोषण गरेर पाप गर्नुभयो । कि त उहाँहरुमा विशिष्ठता वा उत्कृष्ठता भन्ने ज्ञानै थिएन । मतलब उहाँहरु पौराणिकता र नियमितताको ढर्रामै रुमल्लिनुभयो ।’

प्राप्त सामान निर्जीव भएपनि त्यसले साबिती बयान दिइरहेको उनको भनाइ छ । उक्त सामानले भ्रष्टाचारको प्रमाण दिएको ती सिपाही बताउँछन् । ‘मैले बुझेका यी सबै सामानहरु निर्जीव हुन् । तर पनि साबिती बयान दिइरहेका छन् । अब पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रमाण दिनुपर्छ र भ्रष्टाचारको ?’, उनले प्रश्न उठाएका छन् ।

यसतर्फ अन्य सुरक्षा निकायले पनि बेलैमा ध्यान दिए जनताका छोराछोरीलाई राम्रै हुने उनको सुझाव छ । उनै सिपाहीले सुझाएका छन्, ‘घोच्ने मण्डीको ठाउँमा भुवादार ब्लाङ्केट पाउँदा को खुशी नहोला र !’

टिप्पणीहरू