परराष्ट्रमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच एमसीसीको चर्चा, ललितपुरमा एमाले अध्यक्षसँग वार्ता
अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् ।
नेपालको एकदिने भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका उनले अपरान्ह परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको भेटघाटका क्रममा एमसीसी कार्यान्वयनको अवस्थाबारे चासो राखेका हुन् । त्यसक्रममा सो सम्बन्धी परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्नेमा दुवै पक्ष सहमत भएको बताइन्छ ।
परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।

नेपालमा एमसीसी पास गराउन राजनीतिक दलका नेताहरुलाई प्रत्यक्ष दबाब दिएको आरोप लागेका सहायक मन्त्री लु आज बिहान पौने १२ बजे काठमाडौँ आइपुगेका थिए । विमान बङ्लादेशको बिजी ३७१ उडानबाट काठमाडौँ आएका उनलाई यहाँस्थित अमेरिकी राजदूत डिआर थम्पसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी मुख्यालय च्यालसमा भेटवार्ता गरेका छन् । च्यासलपछि उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने तालिका छ ।
बात्तिसपुतलीस्थित होटल द्वारिकाज बसेका उनी आजै राति सवा २ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै स्वदेश फर्कने कार्यक्रम छ । राति ८ बजेपछि उनको सम्मानमा सोही होटलमा रात्रिभोज हुँदैछ ।
टिप्पणीहरू