मोबाइलको अधिक प्रयोग बालस्वास्थ्यको दृष्टिकोणमा ‘कुलत’

मोबाइलको अधिक प्रयोग बालस्वास्थ्यको दृष्टिकोणमा ‘कुलत’

-होमनारायण चौधरी

पछिल्लो समय बालबालिकालाई नशाझैं मोबाइलको लत लाग्न थालेको छ । पढ्ने, खेल्ने उमेरका बालबालिकाहरु प्रायः मोबाइलमै झुलिरहेका देखिन्छन् । मोबाइल अभावमा उनीहरु केही पनि गर्न नमान्ने अवस्था बन्दै गएको छ । खाना खुवाउनसमेत अभिभावकहरुले मोबाइलकै सहारा लिने गरेका छन् । 

अर्कोतर्फ आधुनिक समयका अभिभावकहरु आफू पनि मोबाइलमै व्यस्त हुन्छन् र छोराछोरीलाई भुलाउन पनि मोबाइलकै प्रयोग गर्छन् । मोबाइल फोन, आईप्याड, ट्याब्लेटलगायत उपकरणले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा असर पारिरहेको वैज्ञानिक तथ्य छ । नयाँ युगका बालबालिकाहरु सानै उमेरमा प्रविधिसँग परिचित हुन थालेका छन् । 

मोबाइल फोन, वायरलेस उपकरणहरुले विभिन्न किसिमको विकिरण उत्पादन गर्ने निश्चित छ । एक्स–रे, रेडन, पराबैजनी किरणजस्ता आयोनाइजिङ विकिरणहरू सबै उच्च आवृत्ति र उच्च ऊर्जाका हुन् । सेल फोनहरूमा गैर–आयनाइजिंग विकिरण हुन्छ । फोनले यसको प्रसारण इकाई वा एन्टेनाबाट नजिकैको सेल टावरहरूमा रेडियो–फ्रिक्वेन्सी तरंग पठाउँछ । जब हामी कल गर्छौं वा उठाउँछौं, डेटा प्रयोग गर्छौं तब हाम्रो फोनले सेल टावरहरूबाट यसको एन्टेनामा रेडियो–फ्रिक्वेन्सी तरंग प्राप्त गर्दछ । 

सेल फोन र अन्य ताररहित उपकरणबाट निस्किने माइक्रोवेभ विकिरण धेरै हानिकारक हुने प्रमाणित भइसकेको छ । यसले गर्भमा रहेको शिशुलाई समेत हानि पुर्याउँछ ।  अनुसन्धानले प्रमाणित गरिसकेको छ कि यस्ता विकिरणले बालबालिका र गर्भमा रहेका भ्रुणमा समेत शारीरिक जोखिम पुर्याउँछ । माइक्रोवेभ विकिरणले वयस्कको तुलनामा बच्चालाई बढी क्षति गर्छ किनभने तिनीहरूको मस्तिष्कको तन्तुहरु बढी अवशोषक हुन्छन् । उनीहरुको खोपडी पातलो हुन्छ भने सापेक्षिक आकार सानो हुन्छ । 

माइक्रोवेभ विकिरणले मस्तिष्कको न्यूरोन्सलाई घेर्ने सुरक्षात्मक आवरणको पतन गरिदिन सक्छ । पछिल्लो अनुसन्धानले भनेको छ, ‘बच्चाहरूको मस्तिष्कको तन्तुहरूले वयस्कहरूको तुलनामा लगभग दुई गुणा बढी माइक्रोवेभ विकिरणहरू अवशोषित गर्दछ ।’ अन्य अध्ययन अनुसार बच्चाको हड्डीले मज्जाले वयस्कको तुलनामा १० गुणा बढी माइक्रोवेभ विकिरण अवशोषित गर्दछ । बेल्जियम, फ्रान्स, जर्मनी र अन्य प्राविधिक रूपमा परिष्कृत सरकारले बच्चालाई लक्षित गरी ताररहित उपकरणको प्रयोगमा कानुन वा चेतावनी जारी गर्ने तयारी गरिरहेको छ । 

आईप्याड, ल्यापटप, कम्प्यूटर र ट्याब्लेटलगायत उपकरणबाट शरीरको न्यूनतम दूरी २० सेन्टिमिटर (लगभग आठ इन्च) हुनुपर्छ । यसका लागि पनि कानुन बनाउने तयारी गरिएको छ । फोनको अत्यधिक प्रयोगले मानसिक र शारीरिक स्वास्थ्यसम्बन्धी रोग निम्त्याउँछ । विशेषगरी कम ‘आईक्यु’ भएका र बच्चाहरुलाई यसले निद्राको कमी, ब्रेन ट्युमर र हट–बटनको समस्याले च्याप्ने बताइन्छ । मोबाइल फोनबाट उत्पन्न विकिरणसँग सम्बन्धित अध्ययनहरू आजसम्म असंगत छन् र परिणामहरू विरोधाभासी पाइएको छ । यी ताररहित उपकरण हाम्रो दैनिक जीवनको हिस्सा बनेको छ तर, यसलाई सुरक्षित रुपमा प्रयोग गर्नुपर्ने देखिएको छ । 

यी उपकरण नजिकै बसेर हेर्नुहुँदैन । त्यस्तै, कुरा गर्दा पनि कानसँगै जोड्नुहुँदैन ।  प्रयोग नभएको बेला पनि फोनलाई शरीरसँग जोडेर राख्नुहुँदैन । थैली, पर्स, ब्यागलगायतमा राख्नुपर्छ । गर्भवती महिलाले मोबाइलजस्ता उपकरणलाई टाढा राख्नुपर्छ भने आमाले स्तनपान गराउँदा यसको प्रयोग गर्नुहुँदैन । किशोर किशोरीलाई पनि फोन प्रयोग गर्ने सही तरिका सिकाउन जरुरी भइसकेको छ । 

के मोबाइल फोनले क्यान्सर हुन्छ ? 

मोबाइल फोनको ज्यादा प्रयोगले क्यान्सर लाग्ने वैज्ञानिकहरुको भनाई छ ।  वायरलेस र मोबाइल उपकरणद्वारा दिइने विद्युत चुम्बकीय क्षेत्रहरूको रेडियो–फ्रिक्वेन्सी हो । तिनीहरूले हाम्रो शरीरमा प्रतिकूल प्रभाव पार्छ । विशेषगरी बच्चा र किशोर किशोरीको बढ्दो मस्तिष्कमा यसले मस्तिष्कको क्यान्सरलाई ट्रिगर पार्न सक्छ । ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ ले हालै गरेको एक अनुसन्धानका अनुसार मोबाइल फोनको अत्यधिक प्रयोगले ब्रेन ट्युमरलाई ग्लोमा र एकोस्टिक न्युरोमाको रूपमा पनि निम्त्याउन सक्छ । 

यो ती वयस्क र बच्चाहरुको लागि एउटा केस बनेको छ, जो मोबाइलसँग टाँसिरहेका हुन्छन् । प्यू रिसर्च सेन्टरको सर्वेक्षणमा भनिएको छ, ‘७५ प्रतिशत प्रिटेन र प्रारम्भिक किशोरकिशोरीले दिनभर आफ्नो मोबाइल फोन आफ्नो अगाडिको प्यान्टको खल्तीमा राख्छन्, जुन उनीहरूको प्रजनन स्वास्थ्यको लागि हानिकारक छ ।’ पुरुषले फोन आफ्नो अगाडिको प्यान्टको खल्तीमा राख्नुहुँदैन किन कि यसले शुक्राणु उत्पादनमा गम्भीर हानी गर्छ । महिलाहरूले भित्री लुगामा फोन राख्न नहुने रिपोर्टमा उल्लेख छ । चार जनामा गरिएको एक अध्यनले स्तन क्यान्सर देखाएको छ । यसबाट स्पष्ट छ कि धेरै घण्टा मोबाइल प्रयोग गर्दा अधिक विकिरणहरू अवशोषित हुन्छन्, त्यसैले बालबालिकालाई सकेसम्म कम मोबाइल प्रयोग गर्न सिकाउनुपर्छ । 

ल्याण्डलाइन, स्काइप र कम्प्युटर फोन केबलको साथ इन्टरनेटमा जडान हुँदा विकिरणहरू छोड्दैन । त्यसैले अभिभावकहरूले आफ्ना बच्चालाई ती उपकरण प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ । हामी आफैंले आफ्नो स्वास्थ्य बिगारिरहेका छौं । फोनको अत्यधिक प्रयोगले हाम्रा बालबालिकाहरु फुक्काफाल बन्दै गएका छन् । आज विश्वको ९२ प्रतिशत जनसंख्यासँग मोबाइल फोन छ । तीमध्ये ३१ प्रतिशतले आफ्नो फोन कहिल्यै बन्द नगर्ने हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । ९० प्रतिशतभन्दा बढी अभिभावकले आफ्ना बालबालिकालाई फोन उपलब्ध गराएका छन् तर, उनीहरुले त्यसबाट हुने खतरालाई ध्यानमा राखेको देखिँदैन ।

यसकारण मोबाइल बालबालिकाका लागि पूर्ण ‘नो’ हुनुपर्छ ?

मोबाइलको अत्यधिक प्रयोगले सबैलाई थकित र दिमागलाई निस्क्रिय बनाउँछ । थकान र थकानको कारण हाम्रो खल्तीमा लुकेको छ भन्ने कुरा हामीले अझैपनि बुझ्न सकेका छैनौं । समय–समयमा, हामीलाई खल्तीमा मोबाइल ‘भाइब्रेट’ भएको महशुस हुन्छ । तर, वास्तवमा त्यस्तो भएको हुँदैन । यो अवस्थालाई फ्यान्टम पकेट भाइब्रेसन सिन्ड्रोम भनिन्छ । डा. मिशेल ड्रोइनद्वारा गरिएको एक अध्ययनका अनुसार ८९ प्रतिशत किशोरकिशोरी यस प्रकारको अनुभूति गर्छन् । यो विशेषगरी किशोरकिशोरी र सामाजिक मिडिया लत भएकाहरुसँग सम्बन्धित छ । 

उनीहरु बढी चिन्तित हुन्छन् । त्यसैले मोबाइल फोनको समग्र प्रयोग घटाउनु र फोनको कम्पन बन्द गर्नु यो सिन्ड्रोमसँग लड्ने राम्रो तरिका हो । कसैलाई टेक्स्ट म्यासेज गर्दा वा इन्टरनेटमा लेख पढ्दा हामीले ठूलो स्क्रिनमा हेर्नुपर्छ । अन्यथा आँखामा समस्या पार्न सक्छ । त्यस्तै, आँखाको दृष्टि कमजोर पार्ने डर पनि उत्तिकै हुन्छ । मोबाइललाई अनुहारबाट कम्तीमा १२ देखि १६ इञ्च पर राख्नुपर्छ । 

हामी अधिकांशको बानी छ, सुत्ने बेलामा फोन सिरानीको छेउमा राख्छौं । तर, यो स्वास्थ्यको दृष्टिकोणले निकै हानिकारक छ । फोनको विकिरणले मस्तिष्कलाई असर पुर्याउँछ । मोबाइलको कम्पनले बालबालिकाहरु राम्ररी निदाउन सक्दैनन् । मोबाइल हेर्दा बालबालिकाहरु घोप्टो परेर हेर्छन् । घण्टौं उनीहरु घोप्टिरहेकै हुन्छन् । यसले घाँटी र ढाडको मांसपेशीहरु बिगार्छ । जसका कारण घाँटी दुख्ने, टाउको दुख्नेजस्तो समस्या देखिन्छ ।

(प्रशिक्षार्थी)

टिप्पणीहरू